नेपालबाट दुई सय वर्षदेखि बेलायत तथा ६७ वर्षदेखि भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती भइरहेका छन् । विदेशी सेनामा करिब ४४ हजार नेपाली कार्यरत छन् । हाल बेलायती सेनाको ब्रिगेड अफ गोरखाजअन्तर्गत तीन हजार ६ सय र सिंगापुर पुलिसमा करिब चार सय नेपाली छन् । भारतीय सेनाका ६ रेजिमेन्ट र अर्धसैनिक बल आसाम राइफल्समा करिब ४० हजार नेपाली कार्यरत छन् । बेलायत र भारतको सेनामा रहेका नेपालीले दुई दर्जनभन्दा बढी युद्ध लडेका छन् ।
सन् २०२० सम्म ब्रिटिस सेनाको कुल संख्या ८५ हजार पुर्याउने सरकारी योजनाअनुसार गोरखाहरूको पनि संख्या थप कटौती हुने सम्भावना छ । बेलायतले वार्षिक ६० जना नेपालीलाई आफै छनोट गरेर गोरखा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा पठाइरहेको छ ।
नेपालको सर्वोच्च अदालतले भने ३० असार ०६६ मा नेपाली युवाको सिंगापुर पुलिसमा भर्ती अवैधानिक रहेको फैसला गरेको छ । तर, सर्वोच्चको फैसला कार्यान्वयन भएको छैन ।
भारतीय सुरक्षाविद्हरूले एक वर्षअघि गरेको अध्ययनअनुसार भारतीय गोरखा रेजिमेन्ट तथा आसाम राइफलमा रहेकामध्ये ७० प्रतिशत नेपाली नागरिक छन् । भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती हुने गरेका छन् ।
भारतीय सेनाको गोरखा पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं, नवौं र ११औं राइफल्समा नेपाली कार्यरत छन् । यसबाहेक आसाम राइफल्सलगायतका अर्धसैनिक बलमा पनि करिब २० हजार गोरखा सैनिक कार्यरत छन् । यी सबैमा पाँचदेखि ६ वटा बटालियन छन् । भारतले नेपालीलाई भारतीय सेनासरह सबै सेवा–सुविधा दिएको छ ।
भारतीय तथ्यांकअनुसार ८० हजार पूर्वसैनिक, १७ हजार अवकाशप्राप्त आसाम राइफल्सका सैनिक र ११ हजार सैनिकका विधवाले नेपालमा पेन्सन बुझिरहेका छन् । उनीहरू सबैका लागि १२ सय करोड भारतीय रुपैया“ वार्षिक खर्च गरिरहेको भारतको तथ्यांक छ । हाल बेलायती सेनामा ब्रिगेड अफ गोरखाजअन्तर्गत रोयल गोरखा राइफल्स, क्विन्स गोरखा सिग्नल्स, क्विन्स ओन गोरखा लजिस्टक रेजिमेन्ट छन् । पछिल्लोपटक बेलायतका तर्फबाट अमेरिकी नेतृत्वको नेटो सैनिकस“गको समन्वयमा गोरखालाई अफगानिस्तानमा खटाइएको थियो ।
सन् १९४९ देखि सिंगापुर पुलिस फोर्समा गोरखा कन्टिन्जेन्ट खडा गरिएको छ । सिख युनिटलाई विस्थापन गरी गोरखा राखिएको यो फोर्स सिंगापुर पुलिसको महत्वपूर्ण अंग हो । अहिले गोरखालाई सडक पेट्रोलियम, सिंगापुर एयरसोका अतिरिक्त सुरक्षाका लागि पनि खटाइएको छ ।
हाल पोखरास्थित भर्ती केन्द्रमा गोरखा सैनिकको अन्तिम छनोट हुने गरेको छ । त्यसपछि ब्रिगेड अफ गोरखाजको ललितपुर मानभवनस्थित कार्यालयले उनीहरूलाई बेलायत जाने व्यवस्था मिलाउने गरेको छ । ब्रुनाई गोरखा रिजर्भ युनिट, बु्रनाईका सुल्तानको स्पेसल गार्ड फोर्सका रूपमा गोरखा कार्यरत छन् । हाल सिंगापुर र ब्रिटिस सेनाबाट अवकाश पाएका करिब चार सयको हाराहारीमा गोरखा कार्यरत छन् ।
यसरी सुरु भयो गोरखा भर्ती
सन् १८१४–१६ मा ब्रिटिससँग भएको युद्धका क्रममा बन्दी बनाइएका तीन हजार नेपाली सैनिकलाई समेटेर सुरुमा सिरमुर बटालियन खडा गरियो । त्यसपछि नासिर बटालियन र मलाउँ रेजिमेन्ट खडा गरिएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र हुँदा ब्रिटिस गोरखा सैनिकका दशवटा रेजिमेन्ट थिए । तीमध्ये बेलायतले भारत छाड्दा चारवटा लिएर गएको थियो भने बाँकी भारतलाई नै जिम्मा लगाएको थियो । सन् १९४७ नोभेम्बर ७ मा भारत र ब्रिटिसबीच भएको सम्झौताअनुसार १० रेजिमेन्टमध्ये दोस्रो, छैटौं, सातौं र दशौं रेजिमेन्ट बेलायत लगिएको थियो ।
गोरखा भर्तीबारे नेपाल, भारत र बेलायतबीच सन् १९४७ नोभेम्बर ९ मा सम्झौता भएको थियो । सम्झौतामा बेलायतका तर्फबाट एसिबी साइमन, भारतका तर्फबाट लेफ्टिनेन्ट कर्णेल कनवार दयासिंह बेदी र नेपालका तर्फबाट प्रधानमन्त्री पद्मशमशेर राणाले हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्ता बेलायतीको हैसियत त्यतिबेला खुलाइएको थिएन । उनी साधारण अधिकृत मात्रै थिए । हस्ताक्षरकर्ताको प्रोटोकल मिलेको छैन भने सम्झौतालाई तीनै मुलुकको संसद्ले अहिलेसम्म अनुमोदन गरेका छैनन् ।
कहाँ–कहाँ युद्ध लडे नेपालीले ?
बेलायत र भारतीय सेनामा भर्ती भएका नेपाली दुई दर्जनभन्दा बढी लडाइ“मा सहभागी भएका छन् । भारतीय गोरखाका तर्फबाट नेपालीले सन् १९६२ मा चीनसँग लडेका थिए । पाकिस्तानसँग १९६५ मा र बंगलादेश स्वतन्त्रताका वेला सन् १९७१ मा र १९९९ मा कार्गिलमा युद्ध लडेका छन् ।
श्रीलंकाको लिट्टे अपरेसनमा सन् १९८७ मा पनि नेपालीले युद्ध लडेका थिए । गोरखा सैनिक १९४८ मा हैदरावाद प्रहरी कारबाही, १९९९ मा कार्गिल लडाइ“मा योगदान पुर्याएको भन्दै भारतको प्रसिद्ध परम वीर चक्र, अशोक चक्र, महावीर चक्रजस्ता सम्मानबाट पनि विभूषित छन् ।
बेलायतका तर्फबाट नेपाली युवाले एक दर्जनभन्दा बढी युद्धमा सहभागिता जनाएका छन् । सन् १८८९ मा इजिप्ट, सन् १८९० मा रसिया र मध्य एसियामा नेपालीले लडेका थिए । दुईवटा विश्वयुद्धमा सहभागिता जनाएका गोरखालीले इरान, इराक, कोसोभो, सियरालियोन, ग्रिस, इटली, जापान, जर्मनी, ककेससमा बेलायतका पक्षमा लडेका थिए ।
मलेसियाको गुरिल्ला वार, सिंगापुर, इन्डोनेसिया र मलेसियाको सीमा विवाद, ब्रुनाई विद्रोह र अर्जेन्टिनाको फकल्यान्डमा पनि गोरखालीले बेलायतका तर्फबाट युद्ध लडेका थिए । बेलायतले १२ जना गोरखालाई भिक्टोरिया क्रसको सम्मान दिए पनि पेन्सन र अन्य सुविधा नपाएरै उनीहरूमध्ये धेरैको मृत्यु भइसकेको छ ।
-गोरखा सैनिक आवाजबाट