सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाज
  • सडकको दुर्गतीसँग जोडिएको बाजुराको समृद्धि

सडकको दुर्गतीसँग जोडिएको बाजुराको समृद्धि

३ अर्व वरावरको विकास वजेट स्थानिय तहमा मात्रै

  • शुक्रबार, अशोज १७, २०७६
सडकको दुर्गतीसँग जोडिएको बाजुराको समृद्धि

मीनप्रसाद जैशी

मानव विकास सुचाङ्कमा पुछारमा रहको बाजुरा जिल्ला सवैले गरिवि अभाव र भोकमरीको जिल्ला भनेर चिन्ने गरेका छन् र यो नै हाम्रो जिल्लाको आज सम्मको पहिचान भएको छ । विकास भन्ने कुरा एकै पटक र एक जनाले मात्रै गरेर चुट्कीको भरमा सम्भव हुने कुरा हैन तर बाजुराको विकासको गति देख्दा लाग्छ चिफ्ले किराको गतिमा हिडेर सगरमाथाको चुचुरो छुने कोसिसमा छ र हामी बाजुरावासी छिट्टै समृद्ध बाजुराका सुखी बाजुरावासी हुने सपना देखिरहेका छौं । सवैलाई जगजाहेर नै छ २०५२ सालमा सिलन्यास भएको साँफेवगर मार्तडी सडक खण्डको ५६ किलोमिटर वाटो वन्न करिव २० वर्ष लाग्यो र त्यसमा पनि वनिसक्ने वित्तिकै आएको वर्षा र पहिरोका कारण अहिले पनि वेला वेलामा अवरुद्ध भईरहने राजमार्गको दिर्घकालिन समाधानका लागि वाटोको रुट नै वदल्नु पर्ने स्थिति आईरहेको स्थितिमा हामी भने त्यसको कुनै ठोस योजनामा नलागी सडक भासिदै छ हामी भने जव पर्यो राती अनि वुढी ताती भनेझै अलिकति माथिवाट डोजर चलाएर तत्कालका लागि निकास खोजिरहेका छै ।

सडकले मार्तडीलाई नजोड्दै हामी सानो छँदा बा ले सुनाउनुहुन्थ्यो कोल्टी कुन्नाका लागि मोटरवाटो काट्दैछन् भनेर सुन्दा अचम्म लाग्थ्यो मार्तडीमा सडक पुगेको छैन पहिले कोल्टी कुन्नाको वाटो काटेर के गर्ने होलान भनेर । मलाई ठ्याक्कै सम्झना नभए पनि यो २०५५ साल तिरको कुरा होला । आज करिव २० पछि पनि उक्त ४० किलोमिटर वाटोको अवस्था उस्तै छ यसो हिसाव गर्दा एक वर्षमा २ किलोमिटर वाटो वनाउन सकेको भए मात्रै पनि आज न त वाजुराले गरिविको दलदलमा फस्नु पर्थ्यो न त भोकमरीको पिडामा वस्नु पर्थ्यो न त सुत्केरीले अकालमा ज्यान नै गुमाउनु पर्थ्यो ।

वर्षेनी दुई देखि तिन जना विरामीले वाटोकै कारण ज्यान गुमाईरहेका छन्, प्रति किलो ५० रुपैयामा मात्रै वेच्न सकियो भने ५० करोड वरावरको अर्गानिक स्याउ गाईभैसीको आहार भैरहेको छ, करिव १० करोड बरावरको चिनो कोदो जौ फापर लगायतका रैथाने वालीहरु वजारमा विक्रिका लागि ल्याउन सकिएको छैन, जिल्लाको आधा जनसंख्याले सडक नभएकै कारण सास्ती भोग्नु परिरहेको छ, अनि बर्षका केही महिना ज्यानकै वाजि थापेर भएपनि गाडीको यात्रा गरौ भन्दा आफ्नो मुटु, कलेजो र दिमागलाई लाई केही समयका लागि स्वीचअफ गरेर प्रति किलोमिटर ३० रुपैया भाडा तिर्नुपर्ने वाध्यात्मक अवस्था छ जुन भाडादर सम्भवतः नेपालको सवै भन्दा उच्च नै होला जुन कुरा बाजुरा वासी नेता कार्यकर्ता प्रशासक कर्मचारी जनता र अन्य आगन्तुक पाहुनाहरु सवैले देखेका भोगेका र महशुस गरेका छन् । यहि सडककै कारण बाजुरा जिल्लाले तमाम सम्भावना हुँदाहुँदै पनी भोकमरी गरिवि र अभावको ट्यागलाई शिरोपर गरेर एउटा पुछारको स्थानको जिल्ला भनेर चित्त वुझाउनु वाहेक अर्के कुनै विकल्प छैन । जिल्लामा ३ अर्व वरावरको विकास वजेट स्थानिय तहमा मात्रै आईरहँदा लगभग ५ लाख खर्च गरे तत्काल सजिलै संचालन हुने र आधा बाजुराले राहत महशुस गर्ने र कृषि उपज वेचेर करोडौंको आम्दानी गर्न सकिने सडक यो वा त्यो कारणले सुचारु हुन नसक्नु भनेको हाम्रा जनप्रतिनिधिको नामर्दपन वाहेक अरु केहि पनि हैन ।

बाजुराको विकास र पछौटेपनको विषयमा सवैका आ आफ्नै तर्क र प्रमाण हुन सक्लान अनि यो एउटा छुट्टै वहस र शोधको विषय पनि हुन सक्ला । तर ज जसले जसलाई जे कारणले दोष दिए पनि अन्तिम दोषि त राजनितीक नेत्तृत्व नै हो भन्ने लाग्छ किनकि हाम्रो जस्तो एउटा संस्थागत पद्धति नभएको देशमा राजनीति र राजनितक नेत्तृत्व देशका सवै क्षेत्रमा हावी हुन्छ र सक्नेले स्रोतमाथि रजाँई गर्छ भने नसक्नेले आकाशको फल आँखा तरी मर भन्ने उखान सम्झिदै आफ्ना दिनहरु विताउँछ ।यसो भन्दै गर्दा अन्य जिल्ला र स्थानिय तहको जस्तै गाउँ गाउँमा सरकार हाम्रो पनि छ जनप्रतिनिधि हाम्रा पनि छन्, प्रदेश देखि केन्द्र सम्मको मन्त्रीको जिम्मेवारी सम्हाल्ने राजनीतिक नेत्तृत्व पनि छ अनि अरुका जस्तै माननिय साँसद ज्यु हाम्रा पनि छन् अनि लगाताररुपमा २०४६ साल देखि हाल सम्म हरेक चुनावमा बाजुराको कायापलटनै गर्ने दावी सहित हामी जनताको घरदैलोमा आएका उम्मेदवारलाई मतदान गरी जिताउदै काठमाण्डु सम्म पठाएकै छौं भने के तपाँईहरु सवै जनप्रतिनिधि र राजनीति कर्मिहरु बाजुरामा एउटा अर्को मानव निर्मित सगरमाथा वनाएर किर्तिमान कायम गर्न लाग्नु भएको भएर हाम्रा यी गाँस वास र कपाससँग जोडिएका स-साना खुसीहरुलाई पनि वर्षौ देखि फक्रिन वाट वञ्चित गर्दै हुनुहुन्छ ?

यसो भन्दै गर्दा हामीले एउटा अर्को सगरमाथा चाहियो बनाईदिनुहोस भनेर तपाँईरुलाई असम्भव लाग्ने काम गर्नुपर्यो भनेर भनेका पनि छैनौं र बजुरेली जनताको धेरै ठुलो आशा र अपेक्षा पनि छैन जस्तो लाग्छ । अहिले पनि बाजुरावासीले केवल चाडवाड आउँदा भात खाने चामल पैसा तिरेर सजिलै किन्न पाईयोस, त्यही चामललाई निल्न सजिलो होस भन्नका लागि १ चम्चा नुन किन्न पाईयोस, पसिनासँग साँटेको वारीको अर्गानिक स्याउ र खुर्सानी वेचेर दशै आँउदा एकजोर लुगाफाटो फेर्न पाईयोस, रोपेको धान खेत माथि लात वजारेर आखाँ अगाडी गएको रित्तो सडकमा वाह्रै महिना वालिनालि उव्जाउन नपाए पनि नियमअनुसारको भाडा तिरेर गाडी चढ्न पाईयोस, पैसा तिरेर एक चक्कि सिटामोल किन्न पाईयोस र जिल्ला भित्रै घरवाट पकाएर ल्याएको कोदोको सुकेको रोटी थुकसँग घुटुक्क निल्दै भएपनि उपचार गर्न पाईयोस अनि वाटो र स्वास्थ्य संस्थाको अभावको नाममा एक थान वच्चालाई यो धर्तिमा जन्म दिदै गर्दा एक जना सुत्केरी अमाले यो धर्तिवाट विदा हुन नपरोस । वस यत्ति भए एउटा बाजुरावासीले आफुलाई स्वर्गवासी भएको महशुस गर्नेछन् र जनप्रतिनिधिलाई भगवान सम्झिदै पुजा गर्नेछन् ।

हो हेर्दा सामान्य झै लाग्छन् कतिपय कुरा अनि हामी आशावादी पनि त्यत्तिकै छैं कि जे काम पनि विस्तारै होला भनेर कतिपय कुराहरुमा चुप लागेरै वसिएको छ । एउटा उदाहरण दिन चाहान्छु मार्तडी कोल्टी सडक खण्ड सुचारु गर्नुपर्यो र स्याउलाई वजारीकरण गर्नुपर्यो भनेर भदौ १५ गते तिर सवैलाई एक चरणको कुरा राखियो सवैले यो त आवश्यक हो गर्नुपर्छ नगरी हुँदैन १ हप्तामा सडक सुचारु हुन्छ भन्नु भयो म पनि औधि खुसी भए वाटो वन्ने भयो स्याउ वजारमा आउने भयो र जनताले पनि अवतजावत गर्न पाउने भए भनेर । समय वित्दै गयो वाटो कसले मर्मत गर्ने भन्दा पल्लो ले वल्लो देखाउने , वल्लो ले पल्लो देखाउने, प्रदेश ले संघ, संघले प्रदेस देखाउदैमा आज महिना दिन वित्यो तर कहि वाट केही प्रगति भएन र दशै मान्न आएको एक प्रदेसी दाजुभाई निधारको पसिना पुछ्दै आफुलाई बाजुरावासी भएकोमा धिक्कारीरहेको छ भने स्याउ प्याकिङ्गका लागि नेपालगंजमा छापिएको कार्टुन सम्वन्धित स्थानमा पुर्याउन मात्रै एक महिना भन्दा वढी लाग्यो हामीलाई । पहिलोपटक काठमाण्डौं र धनगढी पुर्याईएको बाजुराको २०० कुईन्टल स्याउमा १०० कुईन्टल वाटो तथा ढुवानीका कारण सकुशल पुग्न सकेन अनि जे जस्तो अवस्थामा पुग्यो त्यो पनि अति महङ्गोमा मिच्चिएर थिच्चिएर कुहिएर पुग्यो भने अधिकतम किलोको २५ रुपैयामा किनेको स्याउ वेच्दा पनि घाटा व्यहोर्नुपर्ने स्थिति आयो । मार्तडीमा प्रति केजी ५० मा वेच्न सकिने स्याउ ८० मा वेच्नुपर्यो जसले गर्दा न त किसानले राम्रो मुल्य पाए न त उपभोक्ताले सस्तो पाए अनि वजारमा ल्याउन पिलुचौरमा संकलन गरि राखेको स्याउ कुहिदै गईरहेको छ । अव भन्नुहोस यसको दोषि को हुने अनि जिम्मा कसले लिने र कसको हो यो काम । रमाईलो कुरा त के छ भने वाटो किन खुलेन भन्दा धेरै जिम्मेवार व्यक्तिहरुको जवाफ थियो वर्षा लाग्यो पानी पर्यो कसरी खोल्ने वाटो ?  वहाँहरुलाई मेरो एउटा प्रश्न छ हिउँद पछि वर्षा लाग्छ भन्ने पनि हेक्का नहुनु भनेको हाम्रो कत्तिको दुरदर्शिता हो अनि के नेपाल भरी बर्षा बाजुरामा मात्रै आँउछ वा देशै भरीको पहाडी जिल्ला बाजुरा मात्रै हो वा खोला बाजुरामा मात्रै छन् त । यो बर्षा अनि खोलाको समाधान के हुन्छ भनेर यत्तिका २० वर्ष सम्म पनि सोच्न नसकिएको हो वा कि यसको कुनै समाधान नै छैन ? यस्ता कुरा भनेका फगत वहाना मात्रै हुन् जुन कुरा सामान्य अवस्थामा हो जस्तो लागे पनि हाम्रो जनता प्रतिको उत्तरदायीत्व र ईच्छाशक्तिको कमी वाहेक वर्षा लाग्नु भनेको कुनै ठुलो समस्या हो जस्तो लाग्दैन ।

संविधानमा भनेको समाजवाद ल्याउदै गरौला, माथि भनिए जस्तै अर्को एउटा नयाँ सगरमाथा निर्माण गर्न लाग्नु भएको भए पनि अहिलेलाई वन्द गरौ त्यो पनि पछि गर्दै गरौला अहिले सकिन्छ भने स्थानिय सरकारले जनताको मन जित्ने गरी स साना काम गरौं र सिंहदरवार गाउँमा आएको महसुस गराऔंगाउँ नै पीछे बडिमालीका सडकका नाममा कार्यकर्ता पोस्ने निहुँमा डोजर कुदाउन वन्द गरौं र बडिकालिका विकास गुरु योजना वनाई उक्त स्थान सम्म पुग्ने एउटा गतिलो सडक निर्माण गरी नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य वनाऔं त्यसै गरी छेडेदह, वुढीनन्दा, गौमुल, कालाजाग्रा, नाटेश्वरी लगायतका क्षेत्रहरुको विकास गरौं, कवाडि, मालागाड दानसाँगु र वुढीगंगा नदीमा मेघा हाईड्रो प्रोजेक्टको निर्माणका लागि पहल गरौं । अनि अव कार्यकर्ताहरुलाई जिन्दावाद् र मुर्दावादमा नलगाई कृषि व्यवसाय तथा उत्पादनशिल क्षेत्रमा संलग्न गराऔं । हाम्रा हैन राम्रालाई जिल्लाका हरेक क्षेत्रमा क्षमता र निश्पक्षताका आधारमा रोजगारीमा प्रवेस गर्ने वातावरणको सृजना गरौं अनि राष्ट्रसेवक कर्मचारीलाई कुनै अमुक दलको कित्तामा उभ्याएर मुल्याङ्कन गर्नु भन्दा उसले गरेको कामको आधारमा निश्पक्ष ढङ्गले मुल्याङ्कन गर्ने परिपाटिको विकास गर्दै राम्रालाई पुरस्कार र खरावलाई दण्ड दिने किसिमको व्यवस्था स्थापित गरौं । अङग्रेजीमा एउटा भनाई छ Small doable things” त्यसैलाई आत्मसाथ गर्दै जनताका स साना अपेक्षाहरुलाई पहिले पुरा गर्दै बाजुराको आर्थिक विकास र समृद्धिका लागि सवै एकजुट भएर लागौं पक्कै पनि सम्भावनाले भरिएको बाजुरा जिल्लाले केही वर्षमा नै विकासको फड्को मार्नेछ र आफुलाई पुछारको जिल्ला भनेर लाग्ने गरेको ट्याग ईतिहाँसका पानामा मात्रै सुरक्षित हुनेछ । हामी एक सुखी र सम्पन्न बाजुरावासी भएर चौडा छातिका साथ आफ्नो पहिचान स्थापित गरी अगाडी वढ्न सकौं, सवैको सदवुद्धि पलाओस काम गर्ने ईच्छा शक्ति पैदा होस भन्दै विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा सम्पुर्णलाई हार्दिक मंगलमय शुभकामना ।

चर्चामा

सम्बन्धित समाचार