शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बैंकबाट ३१ लाख निकालेर डेरा हिँडेका लवाङलाई प्रहरीले पछ्याएपछि…

बैंकबाट ३१ लाख निकालेर डेरा हिँडेका लवाङलाई प्रहरीले पछ्याएपछि…

  • सोमवार, अशोज १३, २०७६
बैंकबाट ३१ लाख निकालेर डेरा हिँडेका लवाङलाई प्रहरीले पछ्याएपछि…

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार, सोमबार र मंगलबार गरेर कृषि विकास बैंक लहान शाखाको रकम लुटपाटमा संलग्न १२ जनालाई पक्राउ गर्‍यो।

अफ्रिकन मूलका नागरिक पिटरले बैंकको सिस्टम ह्याक गरी रकम लुटपाटमा संलग्न गराएकामध्ये एक नेपाली नुवाकोट मेघाङ गाउँपालिका-४ का ४३ वर्षीय लवाङ तामाङ थिए।

आइतबार लहान शाखाबाट ह्याक भएर पचास लाख रुपैयाँ उनको खातामा पुगेको थियो। त्यो पचास लाख रुपैयाँमध्ये उनले गोंगबु शाखाबाट ३१ लाख रुपैयाँ आइतबार झिकेर तारकेश्वर नगरपालिकास्थित आफ्नो डेरामा पुर्‍याएका थिए।

पक्राउ परेकामध्ये उनी एक एजेन्ट थिए, पिटरका। आइतबार राति ११ बजे उनलाई प्रहरीले डेराबाट रकमसहित पक्राउ गरेपछि बैंकको सिस्टम ह्याक गरेको पोल खुलेको थियो।

खातामा ५० लाख रुपैयाँ पैसा आएको भनी पिटरले उनलाई ह्वाट्स एपमा भिडिओ कल गरेर जानकारी दिएका थिए। सँगसँगै पानस रेमिटबाट पनि पैसा हालिदिएको पिटरले भनेपछि उनी रकम झिक्न बानेश्वर पुगेका थिए।

पहिला उनी नयाँ बानेश्वरको पानस रेमिट कम्पनी पुगेका थिए। उनको नाममा देशका विभिन्न स्थानबाट २० पटक रकम पठाइएको थियो। तर, पठाउने व्यक्तिको नाम एउटै थियो। २० वटै आइएमई नम्बरमा ६०-६० हजार रुपैयाँका दरले पैसा आएको थियो।

छ पटक पैसा निकालेर दिइसकेपछि पानसका कर्मचारीले उनलाई बाँकी भुक्तानी दिन मानेनन्। उनी बैंक चेक लिएर त्यसपछि कृषि विकास बैंकको गोंगबु शाखामा पुगे।

३१ लाख रकम तुरुन्तै निकाले। बाँकी रकम कमिसनस्वरुप राख्ने उनको योजना थियो।

‘मलाई ऋण लागेको थियो, पैसा आएको जानकारी पिटरबाट पाएपछि म निकाल्न गएँ,’ तामाङले बुधबार सेतोपाटीसँग भने, ‘बैंकले केही सोधखोज नगरी पैसा दियो।’

त्यो पैसा पिटरलाई पठाउने चाँजो मिलाउँदै गर्दा पक्राउ परेको उनले बताए। ‘हुण्डीमा रकम पठाउनु भनेका थिए, म कहाँबाट कसरी पठाउँ भनी मेलोमेसो बुझ्दैथिएँ, प्रहरीले समात्यो, रकम बरामद गर्‍यो,’ उनले भने।

सामान्य परिवारका तामाङ नुवाकोट-काठमाडौं आउजाउ गरिरहन्थे। उनी जडिबुटी व्यापारी हुन्। स्वयम्भूमा उनको किम्ताङ इम्पेक्स प्रा.लि. नामक कम्पनी छ।

‘हिमाली तथा पहाडी जिल्लाबाट ‘र’ मेटरियल ल्याएर व्यापारीलाई बेच्थेँ,’ उनले भने।

यो व्यापार गर्न थालेको तीन-चार वर्ष भएको थियो। व्यापार चलिरहेको थियो। खान-लाउन-बस्न पुगिरहेकै थियो।

एक महिनाअघिबाट उनलाई ह्वाट्स एपमा कल आउन थाल्यो। एक जना विदेशीले हिन्दी भाषामा उनलाई फोन गर्ने गर्थे।

फोन गर्ने पिटर थिए। उनी भन्थे- म पैसा पठाउँछु, १५ देखि ३५ प्रतिसत कमिसन दिन्छु, मैले जसो भन्छु त्यसै गर्नू।

घरायसी प्रयोजन सिलसिलामा उनलाई ८-१० लाख ऋण लागेको थियो। छिट्टै लाखौं पैसा पाइने पिटरले भनेपछि उनी लोभिएछन्।

खाता खोल्ने क्रममा उनलाई पिटरले सुरूमा एडिबी (एग्रिकल्चर डेभलपमेन्ट बैंक) भनेका थिए। उनी झुक्किए। एडिबी भन्ने बैंकको नाम सुनेका थिएनन्। ‘साथीभाइसँग बुझ्दा एडिबी बैंक भनेको कृषि विकास बैंक हो भन्ने थाहा पाएपछि खाता खोलेँ,’ उनले भने।

भिडिओ कलका क्रममा पिटरले उनलाई कृषि विकास बैंकमा खाता खोल्न भनेकोसम्म पत्ता लगाउन उनलाई केही समय नै लागेको थियो।

त्यो खाता नम्बर आफूलाई पठाउनु भनेका थिए, पिटरले।

नभन्दै तामाङले खाता खोले गोंगबु शाखामा र खाता नम्बर पिटरलाई टिपाइदिए।

खाता खोलेको दुई साता नबित्दै उनलाई पिटरले आइतबार बिहान ह्वाट्स एपमा कल गरे र पचास लाख रुपैयाँ खातामा जम्मा भइसकेको जानकारी दिए।

‘यतिका धेरै पैसा आएपछि म त तुरुन्तै निकाल्न लागिहालेँ, ऋण तिर्न पैसा आउने भयो भनेर मख्ख परेँ,’ तामाङले भने, ‘मलाई यस्तो हुन्छ भन्ने के थाहा?’

पिटर आफूलाई अफ्रिकन भन्ने गर्थे। ‘हप्सी हो, मलाई हिन्दीमा कुरा गर्थ्यो,’ उनले भने, ‘चाँडै पैसा कमाउने लोभ देखाएपछि म उनले अह्राएको काम गर्न थालेँ।’

पानस रेमिटबाट तीन लाख ६० हजार रुपैयाँ झिकेपछि कर्मचारीले पैसा छैन भोलि आउनू भनेका थिए। उनी फर्केर कृषि विकास बैंकको गोंगबु शाखा गए, ३१ लाख रकम झिके र डेरा गए।

पानसले उनको हुलिया प्रहरीलाई टिपाएको थियो। अपराध महाशाखाका डिएसपी दुर्गा दाहाल बानेश्वरस्थित पानस रेमिटमा पुगे।

केही रकम निकालेको भन्दै पानसका कर्मचारीले तामाङको फोन नम्बर दिए। दाहालले बाँकी पैसा झिक्न आए नदिनू भनी कर्मचारीलाई अनुरोध गरे।

‘पानसको सिस्टम पनि ह्याक भएको आशंका छ, किनकि विभिन्न ठाउँबाट एकै व्यक्तिको नाममा रेमिटमा २० पटक रकम आएको छ,’ दाहालले भने, ‘एकै व्यक्ति सेन्डर, ठाउँ एउटै तर विभिन्न जिल्लाबाट रकम रेमिट हुन सम्भव छैन, यसबारे हामी अनुसन्धान गरिरहेका छौं।’

तामाङको डेराबाट ३१ लाख रुपैयाँ बराबद भएपछि प्रहरीले उनलाई रकमको स्रोतबारे सोधीखोजी गर्‍यो। सोधपुछका क्रममा तामाङले गोंगबु शाखाबाट रकम निकालेको र पिटरले सो रकम खातामा हालेको बताए।

तामाङलाई हिरासत लिएर प्रहरी सोमबार बिहान कृषि विकास बैंकको केन्द्रीय कार्यालय पुग्यो। प्रहरीले ठूलो रकम व्यक्तिको खातामा पुगेको जानकारी दिएपछि बैंकले सो रकम कहाँबाट ट्रान्सर्फर भएकोबारे खोजी थाल्दा लहान शाखाबाट तामाङको खातामा पैसा पुगेको मात्र पत्ता लागेन, चार करोड ७३ लाख रुपैयाँ चोरी भएको पत्ता लाग्यो।

त्यसपछि प्रहरी र बैंक कर्मचारीले लहान शाखाबाट चोरी भएको रकम र बैंकको सिस्टम ह्याक भएको पत्ता लगाए।

कृषि विकास बैंक सिरहा शाखाबाट आइतबार चार करोड ७३ लाख रकम लुटिएको थियो। सो रकम विभिन्न एजेन्टहरूको खातामा पुगेको थियो।

पिटरले तामाङलाई जसरी नै अरू एजेन्ट तयार पारेर खाता खोल्न लगाई रकम ह्याक गरेको अनुसन्धानबाट खुलेको दाहालले बताए।

प्रहरीले एजेन्टहरू नुवाकोट मेघाङ गाउँपालिका-४ का तामाङसहित रसुवा नौकुण्ड गाउँपालिका-५ की लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-२ का सञ्जय घले, सर्लाही हरिवन नगरपालिका-२ का पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिका-३ का विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका-९ का श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका-४ की सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं बस्दै आएका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका-३ का विजय साह र भजनी नगरपालिका-१ कै चन्द्रबहादुर बुढालाई पक्रेको छ। अन्य ८ जना एजेन्टहरू फरार रहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार