• होमपेज
  • समाज
  • पोखरामा ७ सय ९१ मा डेंगु संक्रमण

पोखरामा ७ सय ९१ मा डेंगु संक्रमण

  • शनिबार, भदौ २१, २०७६
पोखरामा ७ सय ९१ मा डेंगु संक्रमण

पोखरा : पोखरामा डेंगुको संक्रमण बढ्दै गएको छ। पोखरा महानगरपालका सहित कास्की जिल्लाका चार गाउँपालिका अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकाबाट समेत लामखुट्टे जन्य भाइरल संक्रमण डेंगु देखिएको जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए।

पोखराका विभिन्न अस्पतालमा शुक्रबारसम्म ७ सय ९१ जना डेंगु संक्रमण भएका बिरामीको उपचार गराइरहेको बरालले बताए।

पोखरा महानगरपालिकाको ३३ वडा मध्ये ३२ वडामा यो संक्रमण देखिएको उनले जानकारी दिए।  संक्रमितमध्ये करिब ५० जना छिमेकी जिल्लाबाट पोखराका अस्पतालमा उपचार गराउन आएको उनले जानकारी दिए। यो संक्रमण उपचार गर्न खटिएका अस्पतालका डाक्टर र नर्सलाई समेत देखिएको छ। वडा नम्बर ८ र ९ मा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीमा लामखुट्टे जन्य भाइरल संक्रमण डेंगु देखिए छ।

एडिस एजेप्टाई नाउ गरेको पोथी लामखुट्टेले टोकेको तीनदेखि १४ दिन सम्ममा डेंगुको लक्षण देखिन्छ। डेंगू नियन्त्रण गर्न जनस्वास्थ्य कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिक र स्वंसेवीको सहयोगमा सचेतना कार्यक्रम गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

नागरिकहरु सचेत भएर बेलैमा अस्पतालमा उपचारमा गइरहेकोले अहिलेसम्म डेंगुका कारण अप्रिय घटना भएको छैन । वर्षा याममा पानी जम्ने थोत्रा टायर, टिनका बट्टहरु, खाली ड्रम, गमला, फुलदानी, आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने र यसको संक्रमण झन बढ्ने खतरा हुने भएकोले घर वरपर सरसफाईमा ध्यान दिनु पर्ने बरालले बताए।

दिउँसो टोक्ने कालो रंगको डेंगु फैलाउने लामखुट्टेको जिउँमा सेतो पट्टी हुन्छ। डेंगूको संक्रमण भएमा चिसो लाग्नुको साथै टाउको दुख्ने, ज्वरो आउने, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी लाग्नु वान्ता हुनु रगत बग्नु वा रगतको रैश देखिनु लगायतका लक्षण देखिने गर्दछ।

अन्नपूर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार