पीडित नम्बर १ : लखोदेवी चौधरी
सर्लाहीकी ६७ वर्षकी वृद्धा लखोदेवी चौधरी अहिले न्यायको खोजीमा काठमाडौँ आइपुगेकी थिइन् । उनले स्थानीय साहुमहाजन श्यामकृष्ण परदेशी भनिने श्यामकृष्ण साह कलवारसँग छोरालाई विदेश पठाउनका लागि १ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋण १ लाख भने पनि श्यामकृष्णले सेवा शुल्क भनेर २१ हजार कटौती गरेर ७९ हजार रुपैयाँ मात्र दिएका थिए । उसले त्यो पैसा रक्सी र मासुका लागि भनेर लिएको उनले बताइन् ।
श्यामकृष्णलाई हरेक महिनाको १ गते ब्याज बुझाउनु पथ्र्यो । ब्याज बुझाएन भने उसले अर्को जरिवाना लगाएर ब्याज बढाउँथ्यो । ब्याज सस्तो थिएन, सयकडा ५ रुपैयाँ ब्याज थियो । ब्याज तिर्न ढिला भए ब्याजको पनि स्याज लिने उनको नियम थियो ।
उनले ५ महिनाभित्रमा १ लाख ६५ हजार रुपैयाँ दिएर साउँ ब्याज चुक्ता गरिन् । तर उसले पैसा तिरेको कागज दिएन । पछि फेरि उनले ३ लाख रुपैयाँको ऋण मागिन्, उसले कागज गरायो तर पैसा दिएन । तर अहिले उसले पैसा नदिई कागज गराएर त्यसको सावाँ र ब्याजसहित साढे ४ लाख रुपैयाँ मागिरहेको छ ।
पैसा नदिएको भन्दै लेनदेन मुद्दा हालेको छ । अदालतले पठाएको पुर्जी बोकेर न्याएका लागि अहिले उनी काठमाडौँ आएकी छिन् ।
पीडित नम्बर २ : बिना चौधरी
लालबन्दी–५ सर्लाहीकी बिना चौधरीले भारतले गरेको नाकाबन्दीको समयमा श्यामकृष्ण साहसँग ५ लाख ऋण लिएकी थिइन् ।
बैङ्कबाट पैसा निकाल्न सजिलो थिएन । कतै ऋण पनि नपाइने, अरूसँग बुझ्दा श्याम परदेशीले ऋण दिन्छ भन्ने सुनेपछि छोरालाई पढाउन र उखु खेतीका लागि ऋण लिइन् । ऋण लिँदा श्यामकृष्णले १० प्रतिशत रकम अगाडि नै सेवा शुल्क भनेर काटेका थिए ।
उनले भनिन्– ‘मैले ५ लाख रुपैयाँ ऋण लिएर उसको साउँ व्याज गरेर १३ लाख तिरिसकेँ । तर अहिले श्यामकृष्णले मसँग ३० लाख रुपैयाँ मागिरहेको छ ।’
एकजनाको घर परिवारबाट १० जनासम्मलाई ऋण लिएको कागज बनाउने गरेको उनले बताइन् । व्याज बुझाउन छोरालाई पठाउँदा तिम्रो ममीले ऋण लिएको छ । यसमा सही गरिदेऊ न भनेर उल्टो २० लाख रुपैयाँ ऋण लिएको कागजमा सही गर्न लागाए ।
चौधरीले श्यामकृष्णलाई सोधिन्, ब्याज बुझाउन पठाएको छोरालाई किन सही गर्न लगाएको भन्दा तिमीले ऋण लिएकोमा सही गराउनु परेन भने । तर अहिले उनीसहित उनको छोरा–छोरीलाई लेनदेनको मुद्दा दायर गरेका छन् ।
उनले भनिन्– ‘छोरी अहिले १८ वर्षको भई । छोरीसँग २० लाखको कागज बनायो । छोरा १४ वर्षको भयो उसँग पनि २० लाखको कागज बनाएको छ । उसलाई पनि अहिले पक्राउ पुर्जी जारी गरेको छ । छोरीको जेठाजुले के गरेको रहेछ भनेर बुझ्न जानुभयो तर तिम्रो भाइले सासूले ऋण लिएको छ भनेर उसलाई पनि कागज गराएछ ।’
बिनाले अहिले आफ्नो घरखेत नै लिलाम हुने अवस्थामा पुगेको बताइन् ।
बुढाबुढी नपेढकालाई कति रुपैयाँको कागज गर्यो भन्ने थाहा नहुने हुँदा ठगिनेहरु धेरै रहेको उनको भनाइ छ ।
उनले भनिन्– ‘एउटै घरका एकजनालाई ऋण दिने र १० जनालाई कागज गराउने गरेका छन् । मैले आफूले लिएको पैसा र ब्याज तिरिरहेँ तर फेरि श्यामले तिम्रो छोराले लिएको पैसा तिर्नुपर्दैन ? भने । उसले कानुन पु¥याएर कागज बनाएको छ । हामी कसरी मुक्त हुने त्यो उपाय खोजिरहेका छौँ ।’
पीडित नम्बर ३ : शारदादेवी चौधरी
हरिपुर नगरपालिका वडा नं. ७ सर्लाहीकी शारदादेवी चौधरी अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेकी छिन् । नाकाबन्दीको समयमा कुनै बैङ्कले पनि पत्याउँदैनथ्यो । २१ वर्षकी उनकी छोरी असाध्यै बिरामी थिइन् । साहुमहाजनले पैसा दिइरहेको छ भन्ने सुनेपछि उनले पनि श्यामकृष्णसँग ४ लाख रुपैयाँ ऋण लिइन् । छोरीको उपचार सफल भएन, छोरी पनि बितिन् ।
उनले श्यामकृष्णलाई ऋणको साउँब्याज गरेर ८ लाख रुपैयाँ बुझाइन् । अहिले उनीसँग थप १८ लाख रुपैयाँ मागिएको छ ।
उनले भनिन्– ‘सयकडा ५ रुपैयाँको दरले ऋण लिएकी थिइन् । १ लाख ऋण लिँदा उनले सुरुमै १० हजार रुपैयाँ काटेर मात्र दिने गरेका थिए । मैले उसलाई सँगै बसेर सबै हिसाब गरेर पैसा पनि बुझाएको छु ।
४ लाख रुपैयाँ ऋणको ८ लाख बुझाउँदा पनि उसले अझै थप १८ लाख रुपैयाँ मागेको छ ।’ रुँदै रुँदै शारदाले भनिन्– ‘उसले ७ पटक कागज गराउँदै १ करोडको ऋण लिएको कागज बनाएको छ रे । मैले १५ वर्षको छोरालाई व्याज बुझाउन पठाएको थिएँ, उसलाई पनि कागज गराएछ । मैले भएको सबै ८ कट्ठा जग्गा पनि बेचेर उसलाई दिइसकेँ । पैसा तिरेको कागज पनि दिएको छैन । एक दिन पैसा तिरेको कागज दिन्छु भनेर बोलायो तर एक करोड ऋण लिएको कागजमा सही गराएछ । मैले कहाँबाट पैसा दिने । खेत बेचेर पनि त्यसैलाई दिएँ, अब त घरबार पनि छैन, छोरी पनि छैन ।’
पीडित नम्बर ४ : लालवती चौधरी
सर्लाहीकी लालवती चौधरीले एक पटक २ लाख रुपैयाँ ऋण लिएर छोरालाई विदेश पठाइन् । अर्को पटक भाइलाई विदेश पठाउन २ लाख ऋण लिइन् । छोरा र भाइले विदेशबाट पैसा पठाइरहे उनले साउँव्याज तिरिरहिन् तर श्यामकृष्णले पैसा चुक्ता हुँदा पनि अझै पैसा माग्न छोडेको छैनन् । उनले हरेक महिना २२ हजारका दरले पैसा दिँदै ४ लाख ऋणको ८ लाख उनले ऋण तिरिसकेको बताइन् ।
उनले भनिन्– ‘एक पटक छोरालाई २० हजार रुपैयाँ ब्याज तिर्न पठाएँ, तर उसले पैसा बुझेर पनि तिम्रो छोराले पैसा दिएन भन्यो । मेरो छोराले त्यस्तो गर्नै सक्दैन । अहिले त्यो २० हजारको ५५ हजार रुपैयाँ पुग्यो भनेर पैसा मागिरहेको छ । पैसा तिरेको कागज माग्दा अरू गाउँलेहरुले पैसा नतिरेसम्म कागज नदिने भनिरहेको छ । उसको यस्तो अन्यायबाट हामीलाई मुक्ति चाहिएको छ ।
पीडित नम्बर ५ : सुमित्रा चौधरी– जेलको पुर्जी आइसक्यो
लालबन्दी, रञ्जिततपुर, सर्लाहीकी सुमित्रा चौधरीले श्रीमानलाई विदेश पठाउन श्यामकृष्णसँग ३ लाख ३० हजार पैसा लिएकी थिइन् । साँढे ४ वर्षदेखि उनका श्रीमान कतारमा हड्डी घोटिरहेका छन् ।
श्रीमानले कमाएर पठाएको पैसाले ३ लाखको सावाँ ब्याज गरेर ६ लाख ६५ हजार बुझाइसकिन् । तर उसले अझै २५ लाख रुपैयाँ मागिरहेका छन् ।
उनले भनिन्– ‘मेरो जग्गा जमिन पनि सकियो । मैले सबै पैसा बुझाइसकेँ । मलाई अब पैसा बुझाएको कागज दिनुस्भन्दा उसले उल्टै तेरो रगत बेचेर हुन्छ, मिर्गौला बेचेर हुन्छ, म पैसा लिएरै छाड्छु भन्छ । उसले अहिले २५ लाख रुपैयाँ मागेको छ ।’
उसले पैसा माग्दै अहिले झुम्का जेलमा हाल्छु भन्दै धम्की दिने गरेका छन् ।
उनले भनिन्– ‘अब त मसँग केही पनि छैन । मैले के दिने ? श्रीमानले विदेशबाट पठाएको पैसा पनि उसले लिइसक्यो । अहिले घरजग्गा पनि केही छैन । श्रीमान कतारमा छन्, विदेशबाट अहिलेसम्म घर आएका छैनन् ।’
श्रीमानले अहिले पैसा पठाउन छोडेका छन् । उनी फोनमा भन्छन्– ‘कस्तो महाजनसँग ऋण लिएको ? म अब पैसा पठाउन सक्दिनँ, तँ मर वा जेसुकै गर भन्छन् । ६ महिनादेखि उनले पैसा पठाउन छाडेका छन् ।’
यी पीडित प्रतिनिधि पात्र हुन् । उनीहरुजस्तै १ सय ५० भन्दा बढी ठगिएपछि उनीहरू अहिले काठमाडौँमा न्यायको खोजी गर्दै आइपुगेका छन् ।
१ सय ५० भन्दा बढीलाई १ करोड ऋण : ७ करोड दाबी
सर्लाहीका श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौँमा धर्ना दिएका छन् भने विभिन्न राजनीतिक दलका नेतादेखि गृहमन्त्रीलाई न्यायको अपिल गरेका छन् । बुधबार सर्लाहीबाट काठमाडौँ आएका पीडितहरुले बिहीबार माईतीघर मण्डलामा धर्ना बस्दै जालझेल, ललाई फकाई, डरत्रास र करकापमा पारी श्यामकृष्ण साहले कीर्ते जालसाजी गरी ठगी गरेकाले ठगी लगायतका मुद्दा चलाउन माग गरे ।
साथै सरकारले छानविन आयोग बनाई उनले ठगेको विषयमा सत्यतथ्य छानविन गर्न माग समेत गरे ।
श्यामकृष्ण साहले गाउँमा सोझासिधा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्दा चलाएर दुःख दिने गरेको पीडितहरुले बताएका छन् ।
सर्लाहीको साविक पिपरीया गाविस स्थायी घर भई हाल मलङ्गवा नगरपालिका वडा नं. ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साहले सर्लाही लगायतका विभिन्न ठाउँका विपन्न सोझा साझा, अशिक्षित, गरिब निमुखा व्यक्तिलाई ऋण लगानी गर्ने क्रममा एकै परिवारका फरक फरक व्यक्तिलाई फरक फरक कागजात बनाएर ऋण लिएको भन्दा दशौँ गुणा बढी रकमको कागज बनाउने गरेको उनीहरुले बताएका छन् ।
उनले बेलाबेला तिरेको ऋणको निस्सा नदिने, चुक्ता गरेको ऋणको समेत कागज नच्यात्ने, ऋण दिने बेलामा सेवा शुल्क रक्सी, मासु खर्च भनेर १० हजारभन्दा बढी रकम कटौती गरेर दिने गरेका छन् ।
एकमुष्ट ऋण र व्याज माग गरेपछि आपतमा परेकाहरुका जवान महिलालाई साँझ पठाइदिए मिनाह गर्ने प्रस्ताव राख्ने, कतिपयलाई हातपातको प्रयाससमेत गरेको र कतिपयलाई उसले भनेको नमान्दा लेनदेनको केशमा अदालतमा मुद्धा हालेर थुनामा रहेका श्याम परदेशी पीडित सङ्घर्ष समितिले जनाएको छ ।
पीडक श्याम परदेशीले हालसम्म १ सय ५० जना व्यक्तिलाई १ करोड ९ लाख ५१ हजार साँवा दिएकोमा उनले हालसम्म १ करोड ४७ लाख ४ हजार रकम लिइसकेका छन् भने अझै ७ करोड रकम तिर्नुपर्ने दाबी गरेका छन् । पीडितहरुले श्याम परदेशी पीडित सङ्घर्ष समिति बनाएर आन्दोलन थालेका छन् । उनीहरुको आन्दोलनमा विभिन्न दलका सांसद तथा पूर्वमन्त्रीहरुले समेत साथ दिएका छन् ।
नेकपा अध्यक्ष प्रचण्ड, गृहमन्त्री, नेकपा महासचिवलाई ज्ञापनपत्र
श्यामकृष्ण शाहको शोषणबाट मुक्तिका लागि काठमाडौैँ आएका उनीहरुले बिहीबार दिउँसो नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । दुई नेताहरुले न्यायका लागि पहल गर्ने बताएका छन् ।
यस्तै बिहीबार बिहान उनीहरुले मन्त्री क्वाटर पुल्चोक पुगेर गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । गृहमन्त्री थापाले यसबारेमा अनुसन्धान गरेर अन्यायीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने बताएको समिर बुढाथोकीले जानकारी दिए ।
यस्तै अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरुले ज्ञापनपत्र बुझाँउदैछन् ।
पूर्वमन्त्री र सांसदको ऐक्यबद्धता
एकै व्यक्तिबाट १ सय ५० जनाभन्दा बढी पीडित भएपछि उनीहरुको आन्दोलनमा पूर्वमन्त्री तथा सांसदहरुले पनि ऐक्यबद्धता जनाएका छन् । बिहीबार भएको धर्ना कार्यक्रममा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने, संविधानसभा सदस्य हरि उप्रेति, सांसद नवीना लामालगायत उपस्थित थिए । उनीहरुले पीडितहरुलाई न्याय दिनका लागि सरकारले छानविन समिति बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
हरि उप्रेति, सर्लाहीबाट निर्वाचित संविधानसभा सदस्य
त्यो मान्छे थोरै समयमै अर्बपति भएको मान्छे हो । उसले महिला जनजाति, गरिब जनतालाई उठिबास लगाएपछि यिनीहरु अहिले न्यायको लागि राजधानी आएका हुन् । कानूनी रुपमा बाठो रहेको श्यामकृष्णले सबैलाई कागज गराएर पैसा असुल्ने गरेको छ ।
विशेष खालको परिस्थिति बनाएर उसलाई कीर्ते मुद्दामा फसाएर हुन्छ कि के गरेर हुन्छ गरिब जनतालाई जोगाउनुप¥यो ।
पहिलादेखि नै यसरी नै ऋण प्रवाह गरेर घरजग्गा कब्जामा लिई उठिबास लगाउँदै आएका थिए । अहिले साह्रै ज्यादती गरेका कारण बाध्य भएर काठमाडौँ आउनुपरेको हो । केही समय त्यो मान्छे थुनामा पनि परेको हो । के के कारणबस ऊ बाहिर निस्केको छ, पीडितहरुलाई हेरेर उसलाई विशेष खालको कारबाही गर्नुपर्ने अवस्था रहेको छ ।
उसलाई अर्को कारबाही गर्ने आधार सम्पत्ति शुद्धीकरण मुद्दा पनि हो । कुनै पनि कारणबाट उसलाई कारबाही हुनुपर्छ र यी जनतालाई मुक्ति दिनुपर्छ ।
बद्रीप्रसाद न्यौपाने, पूर्वमन्त्री
गृहमन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, सरकारले एउटा आयोग गठन गरेर हुन्छ कि यो समस्या समाधान गर्नुपर्छ । पीडितहरुमा सबैभन्दा सोझा थारु जाति रहेका छन् । पैसा तिरेकालाई नि पैसा तिरेको छैन भन्ने, कागज नच्यात्ने गरेर अन्यायमा पारेको, मुद्धा हालेर थुनाउने काम पनि गरेको, धेरै पटक सीडीओ कार्यालयमा बसेर वार्ता गर्दा नि हुन्छ भन्ने तर नमान्ने अवस्था आएकाले सरकारले न्याय दिनुपर्छ भनेर धर्नामा बसेका हौँ ।
सरकारले चाँहदा यो समस्या समाधान हुन्छ, यहाँ काठमाडौँमा आएका यी सोझासिदा महिलाहरुलाई पनि वारेन्ट जारी गरेको छ । उनीहरु अब कहाँ जाउन । सरकारले न्याय देओस् भनेर उनीहरु आएका छन् । गृहप्रशासनले उसलाई समाएर अनुसन्धान गरेर उसले अन्याय गरेको छ भने त कारबाही गर्नुपर्यो नि । राताेपाटी डट कमबाट शाभार