संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्यमा मन्त्रालय र यस अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गरेका हुन् ।
उनले पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना पनि सुनाएका छन् ।
मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग हुने गरी केही कार्यक्रम घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा टुरिस्ट हेल्प डेस्क संचालन गर्ने लगायतका पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन गर्न नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैर आवासीय नेपाली संघबीच समझदारी नै गर्ने घोषणा गरेका छन् ।
मन्त्री भट्टराईले नेपालमा तथा विभिन्न देशहरुमा हिमाल आरोहीहरुको भेला, गोष्ठी सेमिनार गर्ने, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हिमालको नामाकरण तथा केही हिमाललाई प्रबर्द्धन गर्न रोयल्टी छुटको व्यवस्था मिलाउने घोषणा पनि गरेका छन् ।