सरकारी सबै अस्तव्यस्त

  • मङ्लबार, साउन १४, २०७६
सरकारी सबै अस्तव्यस्त

धनगढी : प्रदेशभरका ठूला सरकारी अस्पतालको अवस्था दयनीय छ। विशेषज्ञ चिकित्सक र शड्ढया अभाव हुँदा बिरामी उपचरका लागि भारत जान बाध्य छन्।

सेती अञ्चल अस्पताल २०४० सालको दरबन्दीमा चलिरहेको छ। सरकारी स्वीकृत ५० शड्ढयाको अस्पतालमा व्यवस्थापन समितिले २५० शड्ढयासम्म चलाएको छ। २३ जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा १४ जनाको दरबन्दी रिक्त छ। तीन वर्षअघि थपिएको कार्डियोलोजी (मुटुरोग विशेषज्ञ) को दरबन्दीमा अहिलेसम्म डाक्टर नै आएका छैनन्।

‘दरबन्दी छ, डाक्टर आउँदैनन्। ५० शड्ढयाको स्वीकृतिमा पाँच गुना बढी शड्ढया चलाउनुपरेको छ। अनि गुणस्तरीय सेवा कसरी हुन्छ ? ’ सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘प्रदेश मातहत आएपछि अझ समस्या भएको छ।’

विशेषज्ञमध्ये डा. पाण्डे र वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. खगेन्द्र भट्टबाहेक सबै चिकित्सकले संघ रोजेका छन्। ‘समायोजन भयो भने हामी दुई जनाबाहेक सबै चिकित्सक संघमा जान्छन्। अनि पो समस्या देखिन्छ’, पाण्डेले भने।

प्रदेश राजधानी रहेको धनगढीमा निजी क्षेत्रको लगानीमा दुई ठूला अस्पताल खुलिसकेका छन्। धनगढीको हसनपुरमा तीन शड्ढयाको भेन्टिलेटरसहित १० शड्ढयाको आईसीयू भएको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर खुलेको छ भने धनगढीकै चटकपुरमा त्यत्तिकै क्षमताको माया मेट्रो अस्पताल सञ्चालित छ। नवजीवन अस्पतालले ६ शड्ढयाको आईसीयू सञ्चालनमा ल्याएको छ। यी सबै निजी अस्पतालको उपचार सेवा महँगो छ।

सस्तोमा उपचार पाइने सरकारी अस्पतालको अवस्था भने दयनीय छ।

बेलायती मिसनले २०२२ सालमा डडेल्धुरामा खोलेको टिम अस्पताललाई अहिले डडेल्धुरा अस्पताल नाम दिइएको छ। अस्पतालका लागि सरकारले तीन सय शड्ढया स्वीकृत गरेको छ भने त्यसमा १९ जना विशेषज्ञसहित १०९ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। ‘तर अहिले मेडिकल अफिसरसहित १० जना मात्रै चिकित्सक छन्। दरबन्दीअनुसारको जनशक्ति नभएकाले उपचारमा समस्या छ’, डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र कँडेलले भने।

बेलायती मिसनले हात झिकेपछि टिम अस्पताललाई २०७० सालमा डडेल्धुरा उपक्षेत्रीय अस्पताल घोषणा गरियो। अञ्चल अस्पताललाई झैं एकपटक प्रदेश सरकार मातहत राखिएको डडेल्धुरा अस्पताललाई अहिले संघ सरकार मातहत राखिएको छ। तर संघीय सरकारले दरबन्दीअनुसार चिकित्सक नपठाएको र अस्पतालको स्तरोन्नतिका लागि बजेट पनि नदिएपछि त्यसको अवस्था दयनीय छ।

‘डडेल्धुरा अस्पताललाई संघीय सरकारले कुनै सहयोग गरेको छैन। अहिलेसम्म प्रदेश सरकारले दिएको रकमले चलिरहेको छ’, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र कँडेलले भने, ‘फागुनयता केन्द्र सरकारले सेवा विस्तार र मेसिन औजार खरिदका लागि बजेट पठाएको छैन।’

डडेल्धुरा अस्पतालको स्वीकृत दरबन्दी १९ जना विशेषज्ञ चिकित्सक हो। तर यहाँ अहिले विशेषज्ञ चिकित्सक र मेडिकल अफिसर गरी १० जना चिकित्सक रहेको डा. कँडेलले बताए। उनले स्वास्थ्यकर्मी सरुवा भएर गएको ६ महिनाभन्दा बढी भइसकेको तर नयाँ स्वास्थ्यकर्मी नआएको बताए।

टिम अस्पताल कुनै समय उत्कृष्ट उपचार सेवाका लागि प्रख्यात थियो। अहिले भने डडेल्धुरा अस्पतालको अवस्था दयनीय छ। तीन सय शड्ढया र १९ जना विशेषज्ञ दरबन्दी स्वीकृत भएको डडेल्धुरा अस्पताल अहिले पनि टिनको छाप्रोमा सञ्चालित छ। डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका बिरामीलाई लक्षित गरिएको अस्पतालको अवस्था दयनीय भएपछि बिरामीहरू भारततिर जान बाध्य छन्।

महाकालीको अवस्था झन् दयनीय

महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालको अवस्था झन् समयदेखि दयनीय छ। जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नति भएको ३३ वर्ष बितिसक्दा पनि दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक आएनन्।

दुई करोडभन्दा बढी लगानीमा स्थापित आईसीयू सेवा सञ्चालन हुन नसकेको सूचना अधिकृत केशवदत्त अवस्थीले बताए। आईसीयू जनशक्ति अभावकै कारण सञ्चालन हुन नसकेको हो।

२८ जना चिकित्सक दरबन्दी रहेको अस्पतालमा विशेषज्ञ र जनरल फिजिसियन गरी १२ जना चिकित्सक मात्रै कार्यरत छन्। बेलाबखत चिकित्सकमाथि हुने आक्रमणका कारण महाकाली अञ्चल अस्पतालमा पनि चिकित्सक आउन नमान्ने अस्पताल प्रशासनले जनाएको छ।

‘उसै त चिकित्सकको आधा दरबन्दी पनि छैन। झन् कर्मचारी समायोजनका कारण भएका चिकित्सक पनि यहाँबाट जाने तरखरमा छन्’, सूचना अधिकृत अवस्थीले भने।

अस्पतालमा अत्यावश्यक सेवा उपलब्ध नहुँदा बिरामी धनगढी, कोहलपुर र सीमापारि भारतको खटिमा, बरेली, भोजिपुरा, हल्द्वानी सहरहरुमा जाने गरेका छन्।

अन्नपूर्ण पाेष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार