दोलखा : दोलखाका स्थानीय तहले आर्थिक वर्ष २०७५/०७६ को खर्च विवरण अझै बुझाएका छैनन्।
आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ८५ बमोजिम सरकारी कार्यालयले हरेक महिनाको ७ गतेभित्र कोष तथा लेखा नियन्त्रण कार्यालयमा खर्चको विवरण बुझाउनुपर्ने हुन्छ।
यहाँका ९ वटै स्थानीय तहले आर्थिक वर्ष सकिएको दुई हप्ता बितिसक्दा पनि खर्चको विवरण बुझाएका छैनन्। समयमै खर्च विवरण बुझाउन नसक्नुले असारे विकास प्रवृत्ति स्थानीयतहमा अझै पनि कायम रहेको नागरिक अगुवाहरुको भनाइ रहेको छ।
असार ७ गतेभित्र खर्चको विवरण बुझाउन आग्रह गरे पनि दोलखाका कुनै पनि स्थानीय तहले खर्च विवरण कार्यालयमा नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख कोष नियन्त्रक भीष्मप्रसाद न्यौपानेले बताए।
सबै स्थानीय तहको खर्च विवरण नआएकै कारण दोलखा जिल्लाको गत आर्थिक वर्षको समग्र खर्चको अवस्था सार्वजनिक गर्न नसकिएको प्रमुख कोष नियन्त्रक न्यौपानेको भनाइ छ।
दोलखाका स्थानीय तहले भने असार महिनामा ठूलो रकम भुक्तानी गर्नुपर्ने भएकोले तोकिएको समयमा खर्च विवरण बुझाउन नसकेको बहाना बनाउँदै आएका छन्।
दोलखाका स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिकाले भने एक दिन ढिलो गरी साउन ८ गते खर्च विवरण बुझाएको छ। विगु गाउँपालिकाका मुख्य प्रशासकीय अधिकृत नवराज ओलीले खर्च विवरणको तयारी अन्तिम चरणमा पुगेकाले आइतबारसम्ममा बुझाउने बताए।
भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले पनि खर्च विवरण तयार गर्ने काम चलिरहेको बताए। अरू महिनाभन्दा बढी भुक्तानी हुने भएकोले खर्च विवरण तयार गर्न केही बढी समय लागेको अर्यालको तर्क छ।
अन्य स्थानीय तहले भने शुक्रबारसम्म पनि खर्च विवरण पेश गर्न सकेका छैनन्। आर्थिक वर्ष २०७४/०७५ मा करिब पनि लामो समयसम्म खर्चको विवरण नबुझाएका कारण करिब एक महिनासम्म ६ ओटा स्थानीय तहको निकासा रोक्का भएको थियो।