• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • इन्टरनेटमा अश्लील भिडियो हेर्ने लत कसरी छुटाउने ? यस्तो छ, करुणा कुँवरको सल्लाह

इन्टरनेटमा अश्लील भिडियो हेर्ने लत कसरी छुटाउने ? यस्तो छ, करुणा कुँवरको सल्लाह

  • बुधबार, असार ४, २०७६
इन्टरनेटमा अश्लील भिडियो हेर्ने लत कसरी छुटाउने ? यस्तो छ, करुणा कुँवरको सल्लाह

करुणा मेम नमस्कार,
म २५ वर्षीय अविवाहित युवक हुँ । गलत संगतले म सानैदेखि अश्लील चलचित्र हेर्ने कूलतमा फसेको छु । मेरो साथीको घरमा हामी तीन जना दिनमा दुई वटा अश्लील चलचित्र हेथ्यौं ।

पहिले यो रमाइलोका लागि थियो, अहिले यो लत बनेको छ । त्यस्तो चलचित्र हेर्नु र त्यही बेला पटक-पटक हस्तमैथुन गर्नु लत नै बनिसक्यो । इन्टरनेटको सहायताले पैसा तिरेर भए पनि म दिनमा २/३ वटा अश्लील चलचित्र डाउनलोड गरेर हेर्न बाध्य हुन्छु । यसबाट मेरो शरीरमा गम्भीर परिणाम पनि देखिन थालेको छ । यसबाट आजित भएर एकपटक यौन विशेषज्ञलाई भेट्न पनि गएँ । उहाँले अश्लील चलचित्र हेर्न छाड्ने सल्लाह र केही औषधि दिनुभयो । औषधि खाए पनि त्यस्ता चलचित्र हेर्ने बानी छुटेन । उहाँले मेरो यो समस्यालाई असाध्यै सामान्य मानिदिनुभयो ।

तपाईंका बारेमा सुनेपछि म ठूलो हौसलाका साथ यो पत्र लेख्दैछु । कृपया मेरो समस्यालाई गम्भीरतापूर्वक लिएर यो दुश्चक्रबाट बच्ने उपाय बताइदिनु हुनेछ भन्ने आशा राखेको छु । –सुमन, जोरपाटी

जब इन्टरनेटको विकास भयो, त्यसपछि तत्काल चल्ने र चर्चित हुने भएकाले यस्ता यौन दृश्य एवं चलचित्र साइटहरुको विस्तार तीव्र गतिमा भएको देखिन्छ । यसको अर्थ त्यस्ता साइट नहुँदा यसबारेमा चासो थिएन भन्ने होइन । इन्टरनेटको विकासले एउटा समाजमा हुने यौन क्रियाकलापका तरिकाहरु अर्को समाजमा छिटो विस्तार भएका छन् ।

संसारको एउटा कुनामा भएका यौनजन्य क्रियाकलाप अर्को कुनामा द्रुत गतिमा विस्तार भइरहेको छ । यसप्रति चासो राख्नेलाई ज्ञान लिन सजिलो भएको छ, यसलाई स्वाभाविक मान्न सकिन्छ । सेक्स साइटमा जाने र आफूलाई मन पर्ने दृश्यहरु डाउनलोड गरेर हेर्नेमा तपाईं एक्लो हुनुहुन्न ।

संसारका वेबसाइटहरुमा सेक्स साइट बारम्बार सफिर्ङ गरिनेमा पर्छन् । अध्ययनहरुले देखाएअनुसार प्रत्येक दिन वेबसाइट सर्च गर्ने पाँच करोड ७० लाख अमेरिकीमध्ये १५ प्रतिशतले यस्ता साइटहरु सर्च गर्ने गरेका छन् ।

साथै धेरैजसोमा यस्ता साइटहरुको खोजी र हेर्ने प्रवृतिले खास असर गरेको देखिएको छैन । यस्ता साइटले मानिसलाई उत्तेजित गराउँछन् । सामान्य अवस्थामा यो ठूलो कुरा होइन । तपाईंले यसअघि भेट्नु भएका विशेषज्ञहरुले तपाईंलाई सामान्य अवस्था भएकैले यो सामान्य भन्नु भएको हो ।

तपाईंको कुरा भने केही गम्भीर छ । तपाईंले यसलाई लत -एडिक्सन) कै रुपमा प्रयोग गरिरहेको बताउनुभएको छ । लत नै पछि कुलतमा परिणत हुन्छ । यद्यपि, लत कूलत हो कि होइन भन्ने कुरा जाँच्ने केही सूत्र छन् ।

जस्तै, यस्ता क्रियाकलापले तपाईंको दैनिक जीवनमा हानी नोक्सानी पुर्‍याएका छन् कि छैनन् भन्नेमा ध्यान दिनुपर्छ । यदि पुर्‍याएको छैन भने यसले त्यति नराम्रो गर्दैन । यसले दैनिक कामकाज वा सिर्जनशीलतामा हानी नोक्सानी पुर्‍याउन थाल्यो भने यसलाई नराम्रो मान्नुपर्ने हुन्छ ।

केही मान्छे दिनहुँ लामो समयसम्म यस्ता साइटहरुमा जान्छन् र सफिर्ङ गरिरहन्छन् । र, त्यसपछि हस्तमैथुन गर्छन् वा वरिपरि जे पाइन्छ, त्यसमाथि जाइलाग्ने गर्छन् । यसबाट समाजमा विकृति फैलिनथाल्छ ।

यस्ता साइटहरु हेरेर आक्रामक भएका कतिपयले बलात्कारजस्तो जघन्य अपराधसमेत गर्ने गरेका छन् । पछिल्लो समयका अध्ययन तथा अनुसन्धानहरुले देखाएअनुसार एक सातामा कसैले ११ घण्टा वा त्यसभन्दा बढी समयसम्म इन्टरनेटका सेक्स साइटहरुमा बिताउने गरेका छन् भने तिनलाई मनोवैज्ञानिक समस्या भएको मान्न सकिन्छ ।

उसको मनोभावनामा असर पर्न थालेको छ । किनकि, लामो समयसम्म सेक्स साइटहरुमा बसिरहँदा यसको सीधा असर उसका अन्य गतिविधिमा पर्न थालिसकेको हुन्छ । समाजसँगको सम्बन्ध टुट्न थालिसकेको हुन्छ । कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या पैदा भइसकेको हुन्छ ।

कामको दबाब महशूस हुन थालिसकेको हुन्छ । त्यसबाट उसले गाली खान वा आलोचना खेप्न थालिसकेको हुन्छ । दैनिक उठबस, हिँडडूल, शारीरिक अभ्यास आदि गतिविधिमा असन्तुलन उत्पन्न भइसकेको हुन्छ ।

मान्छेले थाहा नपाई त्यो कुलत बनिसकेको हुन्छ । यसका धेरै मनोवैज्ञानिक असर भइसकेका हुन्छन् । बढी मात्रामा इन्टरनेटका सेक्स साइटहरुमा निर्भर हुँदै जाँदा मानिस ‘साइबर सेक्स’को जोखिमतर्फ मोडिन थाल्छ ।

केही विज्ञहरुले त अझ आफ्नो सम्बन्धभन्दा बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिहरुलाई गलत नै भन्ने गरेका छन् । घरमा आफ्नो सेक्स साथी छँदाछदै इन्टरनेट सेक्स साइटमा निर्भर हुन थालेमा यसले सम्बन्धमा समस्या पैदा गर्ने उनीहरुले बताएका छन् ।

यदि तपाईं दैनिक एक घण्टाभन्दा बढी वा सातामा ११ घण्टाभन्दा बढी यस्ता साइटमा जाने गर्नु भएको छ भने त्योचाहिँ तपाईंको समस्या नै हो । यसका लागि तपाईंले मनोविज्ञसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ ।

यद्यपि, मनोविज्ञसँग भेट गर्नुअघि तपाईंले आफ्नो बानी परिवर्तन गर्न सकिन्छ कि भनेर केही प्रयास गर्नु उपयुक्त हुन्छ । यसका लागि सेक्सबाहेकका मनोरञ्जनका माध्यममा समय बिताउने वा अन्य मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने बानी बसाल्नु उपयुक्त हुन्छ ।

युट्युब वा गुगलमा आफूलाई मनपर्ने सामग्री हेर्ने वा घरबाहिर साथीहरुसँग निस्किने बानीको विकास गर्नुपर्छ । लामो समय बिहे नगरी बस्नुभन्दा बिहे गरी स्थायी रुपमा यौनसाथीको संगतमा पुग्नुभयो भने यस्तो बानीमा कटौती हुनेछ । यति हुँदा हुँदै पनि तपाईं त्यो लतबाट छुट्न सक्नु भएन भने एक पटक मनोविज्ञसँग अवश्य सम्पर्क गर्नुहोला ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई [email protected] मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)

चर्चामा

सम्बन्धित समाचार