भारतले नेपाली सीमा अतिक्रमण गरेको कुरा निस्कने वितिक्कै कालापानीको नाम आउछ । सबैको ओठमा कालापानी झुण्डिन्छ । वर्षौंदेखि भारतीय अतिक्रमणको चपेटामा परेको कालापानी जति चर्चित छ, त्यक्तिकै वेवास्ता पनि गरिएकोे छ । तर हिमाली जिल्ला दार्चुलाबासीलाई भने कालापानीको घाउले सधै दुखाइ राख्छ ।
उत्तरतिर चीन र दक्षिणमा भारतसंग जोडिएको दार्चुलामा सीमा सम्बन्धी अन्य स्थानमा विवाद छैन । ‘कालापानीमा मात्रै हो, दार्चुलाको अन्य क्षेत्रमा विवाद छैन’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बुराज थानीले भने । नेपाल, चिन र भारतको सीमानामा कालापानी त्रिकोणाकारमा रहेको छ । कुटी याङ्दी (काली) र लिपु खोलाले यसलाई त्रिकोणाकारमा ढालेको छ । सामरिक महत्वको यो क्षेत्र करिब १९ हजार ६ सय हेक्टर -१९५ वर्गकिलोमिटर) छ । नेपालले काली अर्थात कुटी याङ्दीको मुहानलाई महाकाली नदीको मुहान भन्दै आएको छ भने भारतले लिपु खोलाको मुहानलाई महाकाली नदीको मुहान भन्दै कालापानीमा अतिक्रमण गरेर कब्जा जमाएको छ । कालीको मुहानलाई महाकाली नदीको मुहान मान्दा कालापानी नेपालमा पर्छ भने लिपु खोलको मुहानलाई महाकालीको उद्गम स्थल मान्दा कालापानी भारतमा पर्छ । यहि विवादका कारण कालापानीको एक सय ९५ वर्ग किलोमिटर नेपाली भूमि भारतले कब्जा गरिरहेको छ ।
कालापानीको पश्चिमतिरबाट बग्ने काली अर्थात कुटी याङ्दीको मुहान नै महाकालीको उद्गम स्थल भएको नेपाली पक्षको दावी छ । ऐतिहासिक तथ्यहरुले पनि कुटी याङ्दीको मुहानलाई नै महाकाली नदिको उद्गम स्थल देखाएको सीमाविद ऋषीराज लुम्सालीको दावी छ । सन् १८१६ को सुगौली सन्धीको दफा ५ ले काली अर्थात कुटी याङ्दीलाई नै महाकालीको उदगम स्थल र महाकाली नदी साझा नभएर नेपालको भएको स्पष्ट पारेको उनको जिकिर छ ।
३७ वर्ष अघि पाल टागेर बसेको भारतीय सेनाले अहिले भने क्याम्प नै खडा गरेको छ । जमिन मूनी ठूल-ठूला घरहरु बनाएकेा छ । बाह्रै महिना हिउ परिरहने यस क्षेत्रमा भारतीय सेनाले अतिसंवेदनशिल क्षेत्र घोषणा गरेर सुरक्षा स्थिती मजबुत पारेको छ । अन्य क्षेत्रमा प्रान्तिय सरकारको मातहतमा सुरक्षा फौज राखेको भएपनि कालापानीमा केन्द्रीय सरकारको मातहतमा भारतीय सेना राखिएकेा छ । ठूलो संख्यामा भारतीय सेना राखिएकेा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बुराज थानीले बताए ।
कालापानी क्षेत्रमा नेपाल प्रहरी पनि छैन, नेपाली बस्ती पनि छैन । कालापानीबाट दुई घण्टाको पैदल दूरीमा नेपाल प्रहरीका सीमा सुरक्षा चौकी रहेका छन् । सीमासंग जोडिएका सबै गाविसमा प्रहरी चौकी छन् । भारतीय सुरक्षा फौज बाह्रै महिना कालापानीमा बस्छ भने नेपाल प्रहरी कालापानी भन्दा दुई घण्टा टाढाको व्यास, तिङ्कर र सीतापाईलामा पनि ६ महिना मात्रै बस्छ । भारतीय सुरक्षा फौजले नेपाली नागरिकलाई विनाअनुमति कालापानी जान दिँदैन । नेपाली बाटो भएर जान मुस्किल छ भने भारतीय बाटो भएर नेपालीले जान अनुमति लिनु पर्छ । भारतीय सुरक्षा फौजको अवरोधका कारण नै कालापानी नजिक नेपाली बस्ती छैन ।
स्थानीय बासिन्दा काठमाडौंले कालापानीको वेवास्ता गरेको आरोप लगाउछन् । ‘कसले सुन्छ, यहाँको कुरा ?’ दार्चुलाको व्यास गाविस तिङ्करका जेठारा तिङकरीले भने ‘सीमा अतिक्रमणको पीडा कस्तो हुन्छ, काठमाडौंलाई के थाहा ?’ दार्चुलाबासी कालापानी अतिक्रमणले सधै पीडा थपिरहेको दुखेसो गर्छन् ।
३१ सीमास्तम्भ हराए
भारतले कैलालीको सिमानामा पर्ने मोहना नदीको पानी रोक्न तीन मिटर उचाइ र तीन मिटर चौडाइ भएको बाँध निर्माण गरेपछि यहाँका आठ गाविस डुबानको खतरामा परेका छन् । कैलालीका भजनीवासी आकाशमा बादलदेख्नेबित्तिकै आतंकित हुन थालेका छन् । गत वर्ष यस क्षेत्रमा विनाशकारी बाढी आएको थियो । बर्सेनि साउन, भदौ र असोज महिनामा कैलालीको मोहना, कन्दरालगायतका नदीमा बाढी आएर डुबानमा पर्ने समस्या यहाँका बासिन्दाले भोग्दै आएका छन् । माटो र बालुवाले बनाएको उक्त बाँध नेपाली सिमानाबाट जम्मा १० देखि २० मिटरको दूरीमा मात्र छ । नदीको छेउ-छेउ बनाएको यो बाँध करिब दुई किलोमिटर लामो छ ।
सीमाबाट १०-२० मिटरकै दूरीमा भारतीयले माटो र बालुवा राखेर एक महिनादेखि यो बाँध बनाएका छन् । छिमेकी देशको सिमानाबाट आठ किलोमिटर दूरीसम्म आफ्नो भूमिमा बाँध बनाउने वा निर्माणको कुनै पनि काम त्यो देशको अनुमतिविना गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनी मापदण्ड छ । पिलर संख्या ११८ देखि सुरु गरिएको सो बाँध दसगजा क्षेत्र नै मिचेर बनाइएको स्थानीय बासिन्दाको आरोप छ । लालबोझी गाविसको- ४ को पारिदेखि बनाउन सुरु गरिएको उक्त बाँध वडा नं ५, ६, ७, ८ र ९ को पारिसम्म गरी करिब दुई किलोमिटरसम्म बाँध बनाएको भजनीका सीमा सुरक्षा सरोकार समितिका जिल्ला संयोजक रतन रेग्मीले बताए । ‘हाम्रा आठ गाविस पूरै डुबानमा पार्ने गरी भारतीयले दसगजा क्षेत्रभित्रै यो बाँध बनाएका छन्,’ संयोजक रेग्मीले भने, ‘उनीहरूले यो बाँध बनाउने काम अहिले पनि रोकेका छैनन् ।’ यस बाँधका कारण कैलालीका दक्षिणी क्षेत्रका लालबोझी, रतनपुर, नारायणपुर, धनसिंहपुर, पवेरा, खैलाड, थापापुर र भजनी गाविस पूरै डुबानमा पर्नेछन् ।
‘कूटनीतिक पहल गरेर यो बाँध हटाउनुपर्छ । यो स्थानीयस्तरबाट समाधान गर्न सकिने कुरो होइन,’ प्रशासकीय अधिकृत भरत लुइँटेल भन्छन् । सीमास्तम्भ भत्किएका कारण पनि सीमा यति नै अतिक्रमित भएको भन्न नसकिने अवस्था रहेको बताउँछन् लुइँटेल । उनले सीमास्तम्भ पुनर्निर्माण गर्न गृह, नापी, परराष्ट्रलगायतका मन्त्रालयमा कुरो पुर्याइसकेको बताए ।
नेपाल-भारत सीमामा पर्ने कैलालीका ३१ सीमास्तम्भ हराएका छन् । यस जिल्लामा जम्मा एक सय ७२ सीमा स्तम्भ छन् । जसमा मुख्य ७३ स्तम्भ र ९९ सहायक स्तम्भ रहेका थिए । कैलालीको सिमानामा मोहना नदी पर्ने भएकाले ती सीमास्तम्भ बाढीका कारण नै हराएका हुनसक्ने बताउँछन् कैलालीका प्रशासकीय अधिकृत भरतप्रसाद लुइँटेल । कैलालीका १० गाविस भारतीय सिमानासँग जोडिएका छन् ।
स्रोत : सुनगाभको फेस्बुक पेजबाट