बर्षा खनाल काठमाडौँ : पहाड, मधेस, गाउँ, शहर हरेक समाज र स्थानमा महिलाका समस्याका स्वरुप फरक होलान् । तर साझा पीडा र संघर्ष उस्तै हुन् । उच्च पदमा पुगेका मुठ्ठीभर महिलालाई भने सुविधा र अवसर धेरै देखिन्छ । तै पनि संरचनागत रुपमा उनीहरु पनि पुरुषकै कठपुतली सरह भएका छन् ।
जन्मँदा म यस्तो भएर जन्मु भन्ने रोज्ने अवसर हुँदैन । त्यसो भए महिला हुनुमा के दोष भयो र सजाय भोगाइदै छ ? ती पुरुषहरू पनि महिला हुने सम्भावना उत्तिकै थियो । अनि हामी सबै मानव जाति आमाको रगतबाट बनेका हौँ । एउटा नारीलाई अपमान गर्नु भनेको आमाको अपमान गर्नु हो । महिलाहरू पनि अर्को कोही महिलाको हिंसामा सम्लग्न हुनु हुन्न । सबै तह र क्षेत्रबाट सहज, सुरक्षित र एउटा सम्मानित मानव भएर बाँच्न एक हुनु पर्छ ।
अहिलेको आधुनिक एक्काइसौ सताब्दीमा पनि नारिहरु जता त्यतै हिंसाको सिकार हुनु परेको छ, पुरुष प्रधान देशमा हेपिनु परेको छ । नारी ईश्वरको अद्भुत रचना हो । नारीलाई देवीको प्रतीक मानिएको छ । नारी रचनाको खानी हो । नारीले नौं महिनासम्म बच्चालाई आफ्नो गर्भमा राख्छिन् । नौ महिना पश्चात बच्चाको जन्म दिन्छिन् र हुर्काउँछिन् । तसर्थ पनि नारी ब्रमाण्डको सुन्दर श्रिस्टि हुन् ।
जन्म र पालनपोषणको साथसाथै संस्कारले आफ्नो बच्चालाई श्रृङ्गारले कार्य पनि गर्दछिन् । नारीले आफ्नो बच्चाको खुशी हेर्दा प्रसुतीको व्यथा समेत बिर्सने गर्छिन् । अतः नारीले यस संसारमा रचना अर्थात सृजनाको भार बहन गर्छिन् । त्यसकारण नारी साच्चै नै महान हुन्छिन् ।
आधुनिक विकासवादी अर्थशास्त्रीहरुको विचारलाई हेर्ने हो भने उनीहरुले पुरुषका मानवीय विकासमा लगानीभन्दा महिलाका मानवीय पुँजीमा गरिएको लगानी बढी उपलब्धिमूलक हुन्छ।
हाम्रो जस्तो पितृसत्तात्मक वा पुरूष प्रधान समाजले नारीको साहस, सक्षमता र योगदानलाई रत्तिभर पनि सराहना गरेको पाइदैन । दुई चार नारीले उच्च पद हासिल गर्दैमा सम्पूर्ण नारीको परिवेशलाई औल्याउन सकिन्न ।
केही नारीहरूले आफ्नो सही मूल्याकंनको आधारमा नाम र प्रसिद्धि कमाएका छन् भन्दैमा सम्पूर्ण नारीलाई मापन गर्न कदापी मिल्दैन । अझ पनि हाम्रो समाजमा नारीको अवस्था दयनीय छ । हाम्रो समाज नारी हिंसाले ग्रसित छ । नारीले पाउने अधिकार र सम्मानमा अझ पनि कमी कमजोरीहरू छन् ।
महिला आरक्षण दिँदैमा नारीलाई मूल प्रवाहमा समावेशीकरण गर्न सकिन्न । केहीलाई सकिएला तर सम्पूर्णलाई कदापी होइन । महिलालाई आरक्षण होइन, अवसर चाहिन्छ ।
महिला पुरूषभन्दा कम क्षमतावान हुँदैनन् । महिलालाई आरक्षणमा मात्र सीमित गर्नु भनेको महिलाभित्रको क्षमतालाई उजागर नगर्नु हो । महिलाई आरक्षणको साटो आत्मनिर्भर बनाउनेतिर खालका योजनाहरू ल्याउनुपर्छ ।
घरको कामको बोझ, बच्चाको पालनपोषणको जिम्मेवारी, घरायसी समस्या आदि इत्यादीको बोझ हुँदाहुँदै पनि नारीले भ्याएसम्म अग्रता हासिल गर्ने कोशिसमा लागि रहेकै छिन् । तर पनि उसैलाई पाखा लगाउने प्रवृत्ति बढ्दो छ । यदि यस्तो नभएको भए पटक पटक नारी हिंसाका घटनाहरू दोहोरिने थिएन होला । कहिले बलात्कार त कहिले मरन्नासन्न हुने गरि कुटपिट, कहिले जिउँदै जलाउने प्रयासहरू भइरहेका छन् ।
दिनभरि काम गर्ने तर खाना खाने बेलामा सबैभन्दा पछि खानुपर्ने रे, कहिलेसम्म नारीलाई थिचेर राख्ने हो यो समाज ? नारीलाई तुच्छ ठान्ने रोगी समाजलाई जरैदेखि उखालेर फाल्नुपर्दछ ।
तराई मधेशमा खासगरी दिनहुँ महिला हिंसाका घटनाहरू बाहिर आउने गरेका छन् । तराई मधेशमा दाइजो प्रमुख कारकको रूपमा देखिएको छ भने पहाडमा पनि विभिन्न किसिमका महिला प्रताडनाहरू हुन्छन् । मधेशमा महिला हिंसाको प्रमुख कारण दाइजो प्रथालाई मान्न सकिन्छ ।
तराईतिर यो समस्या बढी देख्न पाइन्छ । छोरीलाई बिहे गर्दा दाइजो दिनुपर्ने अवस्था छ । जसले गर्दा छोरीलाई राम्ररी पढाउन पनि गाह्रो छ । अझ छोरीलाई बढी पढाएमा बढि दाइजो दिनुपर्ने अवस्थाको सृजना भएको छ । बरू कम पढाएमा कम दाइजो दिनुपर्छ भन्ने मानसिकता देखा परेको छ ।
यसले गर्दा महिला शिक्षामा ह्रास आएको पाइन्छ । यति मात्र कहाँ हो र दाइजो तिरिसकेपछि पनि छोरीलाई सुख छैन । उल्टै उसलाई मानसिक तनावको सामना गर्नुपर्दछ ।
यसैगरी, पहाड तथा हिमालमा पनि दिनहुँजसो महिला हिंसाका घटनाहरू हुने गरेका छन् । त्यतातिरका घटनाहरू त्यति सार्वजनिक हुँदैन । पहाडमा सबभन्दा बढी प्रताडित छन् महिलाहरू छाउ प्रथाबाट ।
छाउगोठमा बस्दा कतिपय महिलाहरूले अकालमै ज्यानसमेत गुमाउने गरेको घटनाहरू पनि बाहिर आएकै छन् । त्यस्तै, बलात्कारका घटनाहरू पनि धेरै हुने गरेका छन् । त्यस्ता सामाजिक अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिनु पर्दछ ।
महिला हिंसाविरूद्ध नेपालको संविधानमा पनि कडा कानूनहरू छन् । तर के ती कानून आइसक्दा पनि महिला हिंसा न्यूनीकरण भएको छ त ? किन संवैधानिक अधिकार महिलाले उपयोग गर्न सकिरहेका छैनन् ? बोक्सीको नाममा महिलामाथि हिंसा गर्नेलाई कानूनी कारबाही हुने भनिएको छ तर किन भइरहेको छैन ?
यो एक्काइसौं शताब्दीमा महिला र पुरूष, छोरा र छोरीबीचको भेदभाव अहिले पनि समाप्त हुन सकिरहेको छैन । नारी पुरूषभन्दा पनि बढी सक्षम हुन्छिन् भन्ने कुरा विज्ञानले पनि सावित गरेको अवस्थामा नारीलाई तुच्छ ठान्ने जो कोहीलाई पनि माफ गर्न सकिन्न ।
नारीमाथि भएको अत्याचार, हिंसा, शोषण आदिको विरूद्धमा हामी सम्पूर्ण नारी एकजुट भएर आवाज उठाउने बेला आएको छ । घर घरमा यस्ता नारी हिंसाका घटनाहरू घटिरहेका छन् । आज अरूसँग घटेको छ भने भोली हामीसंग पनि घट्न सक्छ । त्यसकारण त्यस्ता सामाजिक अपराधीहरूलाई बेलैमा खबरदार गर्नुपर्दछ । स्वयं नारीले पहिले त्यस्को प्रतिकार गर्नै पर्दछ ।
नारी सहनशिलताको अझ परीक्षा नलेउ भनेर सबैलाई होसियार गर्नु पर्दछ । तसर्थ, समयमै नारी हिंसाको अन्त्य गर्नुपर्दछ नत्र भने हाम्रो समाज विकृतीको बाटोमा पुगी रोगी हुनेछ । सम्बन्धित पक्षहरू, जसले नारी हिंसाको रोकथाममा आफ्नो योगदान पुर्याएका छन् ।
तिनीहरूको पनि उतिकै खाँचो छ । हाम्रो सरकारले पनि कडाभन्दा कडा कानुनको व्यवस्था गरी नारी हिंसाका घटनाहरूलाई रोक्ने प्रयास गर्नुपर्ने देखिन्छ । हुन त सरकारले महिला हिंसाका विरूद्ध कानूनहरू नल्याएको होइन, तर ती कानूनहरू सशक्तरूपमा कार्यान्वयन भएको छैन ।
कानून जस्तोसुकै आएपनि कार्यान्वयन नभएसम्म त्यसको कुनै महत्व हुँदैन । तसर्थ, नारीको विभिन्न रूपहरू हुन्छन् । सम्मान गर्ने बानी बसालौं ।
सम्पूर्ण नारीपक्षको उदारताका निमित्त अब प्रमाण खोज्नुपर्छ सम्बन्धित व्यक्ति र निकायले । गाउँ गाउँ कुना कन्दरा धाउनु पर्छ । नारीलाई प्रथमतः स्वयम् त्यसपछि संसारको अस्मिताका बारेमा निर्धक्क बोल्नसक्ने पार्नुपर्छ । किनभने नारी घर हो , संस्कार हो, समाज हो ,सम्पूर्णता हो । नारी समाजको एैना शक्ति एवम् स्वाभिमान समेत हो । त्यसैले त जुन पुरूषले नारीलाई सम्मान गर्न सक्दैन त्यो पूर्णतया कालो मनको अस्वीकृत जन्तु हो भन्न मन लाग्छ ।
अब चण्डि , भाग्वत् गीता, देवी भाग्वत जस्ता ग्रन्थहरूको अध्ययन गर्दा बोक्सी हुदैन बरू शक्ति प्राप्त हुन्छ । अन्यायको भण्डाफोर हुन्छ । सम्पूर्ण नाता सम्बन्ध माथि बाट झुठको पर्दा उठ्छ भनेर जानिसकेका नारीहरूले प्रतिनिधिको स्वरूप धारण गर्नुपर्ने हुन्छ । परेका बेलामा जस्तो पनि भुमिका बहन गर्नसक्ने नारी स्वरूपाले आफ्नो गरिमामय मर्यादाको परिधी माझ रही नयाँ अध्याय निर्माण गर्नु पर्नेछ । कुनै एउटाको उदाहरणमा आफ्नो अस्तित्वलाई रूमल्याउनु हुँदैन । बरू आफै उदाहरण बन्ने प्रयत्नमा लाग्नुपर्नेछ । उत्थानको अर्थ स्वयम्मा सिमित भन्ने होइन सबैको उत्थान हुनुपर्छ भन्ने हो ।
बर्षा खनाल(पत्रकार)