टीकापुर : कैलालीको लम्की–चुहा नगरपालिका–१ मा रहेको मुक्त कमैयाको बस्ती। बाटो छेउमै टिनले छाएको सानो घर। घरसँगैको एक टुक्रा जमिन। घर पछाडि डोरीले बुनेको खटिया। खटियामा खुट्टामा दाम्लोले बाँधिएकी १९ वर्षीय एक युवती। यो दृश्य विगत १४ वर्षदेखि यस्तै देखिन्छ।
मानसिक अवस्था बिग्रिएपछि शिविरकी बेफनी थारुलाई उनका आफन्त नै पशुलाई झै दाम्लोमा बाँध्दै आएका छन्। मानसिक अवस्था ठिक नभएपछि जथाभावी हिँड्न थालेपछि उनका आफन्तले उनलाई यसरी नै दाम्लोमा बाँध्ने गरेका हुन्। पाँच वर्षको उमेरमा स्वास्थ्यमै समस्या भएपछि मानसिक अवस्था बिग्रिएर घर छोडी भाग्ने भएकाले दाम्लोमा बाँधेर राख्ने गरेको आमा झिङ्गिया थारुले बताइन्।
‘उनी एकदिन अचानक बिरामी परिनँ। उनको बोलचाल बन्द भयो। उनी मानसिक रुपमा बर्बराउन थालिन। त्यसपछि घर छोडेर भाग्न थालेपछि बाँधेर राखेका हौं’, झिङ्गियाले भनिन्, ‘औषधी पनि गर्न लगेका थियौं, भुतप्रेत हो कि भनेर धामीझाँक्रीको पनि लगौं, केही गर्दा पनि ठीक नभएपछि बाँध्नु परेको हो।’
बेफनीका बाबु मुक्त कमैया हुन्। छोरीको अवस्था देखेर क्रिश्चियन बनेपछि निको हुन्छ भन्ने सुनेका उनले एक महिनासम्म चर्चमा पुर्याए। धामी झाँक्रीकोमा लगे। जति गर्दा पनि सञ्चो नभएपछि छोरीलाई पशु झैं बाँध्नु पर्ने बाध्यतामा उनी पुगे।
बेफनीको स्वास्थ्य समस्या बल्झिँदै गएपछि भेरी अञ्चल अस्पताल नेपालगञ्जसम्म पुर्याउँदा पनि स्वास्थ्य अवस्थामा खासै सुधार भएन। ‘धेरै पटक नेपालगञ्ज अस्पतालमा लगेका थियौं’ आमा झिङ्गियाले भनिन्–‘निको नभएपछि जानै छोडिदियौं।’
मुक्त कमैया दम्पत्तीलाई बिरामी छोरीको उपचार गराउँदा गराउँदै ऋण लाग्यो। उनीहरु ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन। उनीहरुका ३ छोरा र ५ छोरी छन। बिरामी बेफनी काइली छोरी हुन्। आमा झिङ्गियाले आफ्नो जीवन बिरामी छोरीको चिन्तामा बित्न थालेको दुःखेसो गरिन्।
बिरामी बेफनी बोल्न सक्दिनन्। दिसापिसाब जिउमै गर्छिन्। लुगा च्यातेर फाल्छिन। भोक, प्यास लाग्यो भने बर्बराउँछिन। विगत १४ वर्षदेखि बिरामी छोरीको स्याहार गर्दा निकै आजित भएको झिङ्गियाले बताइन।
उनको स्याहार गर्नमा नै परिवारका एक सदस्यको दिन बित्छ। बेफनीकी भाउजु सुनिता थारुले धेरै पटक आफै फुत्किएर भाग्ने गरेको बताइन। ‘एकजनाको काम उसलाई हेर्ने मात्रै छ’ सुनिताले भनिन, ‘नजिकै मेन रोड (पूर्वपश्चिम राजमार्ग) छ। फुत्कियो भने दौडेर पुगिहाल्छ।’
मुक्त कमैया परिवारलाई बिरामी छोरीको स्वास्थ्य समस्याले हैरान पारेको छ। उनीहरु कुनै राम्रो स्वास्थ्य संस्थामा लगेर उपचार गर्ने अवस्थामा छैनन्। उनीहरुका लागि बिरामी छोरीलाई दाम्लोमा बाँधेर राख्नु अन्तिम विकल्प हो। आर्थिक अवस्था निकै कमजोर रहेको मुक्त कमैया परिवार बेफिनीले उपचारमा सहयोग पर्खिरहेको छ।
अन्नपूर्ण पाेष्टमा टिकापूरबाट प्रमानन्द पाण्डेले लेख्नु भएकाे छ ।