‘काठमाडौंमा यौनकर्मी खोज्दै सादा पोशाकको प्रहरी ।’
फलानो ठाउँबाट देह व्यापारमा संलग्न यति जना पक्राउ ।
‘यौनकर्मी रंगेहात पक्राउ परे ।’‘फलानो ठाउँ यौन व्यवसायको अखडा बन्यो ।’
केही दिन यता प्रहरीले यौनकर्मीको खोजीमा अरु बढी सक्रियता देखाएको छ । सादा पोशाकमा खटिएका प्रहरीले धमाधम यौनकर्मी पक्राउ गरेको खबर पनि छाइरहेको छ ।
हुन त यौनकर्मी एवं देह व्यापारबारे निरन्तरजसो खबरहरु आइरहन्छ । खुलमखुला यौनजन्य गतिविधि गर्नु हामीकहाँ कानुनी मान्यता छैन । त्यही कारण यसलाई कानुनको नजरले ‘अपराध’ देख्छ । अतः अपराध नियन्त्रणका लागि यौन अखडामा छापा मार्नेदेखि यौनकर्मी पक्राउ पर्नेसम्मका सिलसिला जारी रहन्छ ।
यो क्रम आज मात्र चलेको होइन । वर्षौ-वर्षदेखि यौनजन्य गतिविधि हुने र प्रहरीले पक्राउ गर्ने क्रम चलिरहेको छ । कानुनले स्पष्ट रुपमै बर्जित गरेको यस्ता गतिविधिप्रति समाजले पनि नाख खुम्च्याउने गरेको छ । अर्थात समाजको बुझाई यौनकर्म घृणित, लज्जित, खेदजनक काम हो ।
यौनकर्म किन घृणित ?
कुनैपनि व्यक्तिले आर्थिक लाभको लागि यौनकर्म गर्छ भने हाम्रो समाजले त्यसलाई स्विकार्दैन । यौनलाई ‘छाडा’ वा ‘घृणित’ कुरा भनेर व्याख्या गर्ने समाजले यौनकर्मीलाई अपराधी ठान्ने गर्छ ।
त्यही कारण यस्ता गतिविधि लुकिछिपी वा अवैधानिक ढंगले हुने गर्छ । यौनकर्मीहरु खुला समाजमा आफ्नो अनुहार देखाउन सक्दैनन् । उनीहरु अध्याँरो रात वा अध्याँरो छिंडीमा यस्ता धन्दा चलाउँछन् । उनीहरुलाई एकातिर समाजसँग अनुहार लुकाउनुपर्ने अवस्था छ भने अर्कोतिर प्रहरीको आँखा छल्नुपर्ने वाध्यता छ ।
यसरी अध्याँरो रातमा लुकीछिपी गरिने कर्म वा धन्दालाई समाजले घृणा गर्छ । यस्तो धन्दालाई न वैधानिकता दिइएको छ, न नैतिक समर्थन ?
खासमा यसलाई हामीले अनैतिक, अवैधानिक, अस्वभाविक कृत्यको रुपमा लिने गरेका छौ । त्यही कारण यौन व्यापार र यौनकर्मी हाम्रो समाजको नजरमा गर्नै नहुने काम हो । अपराध हो । अनैतिक हो ।
यौनजन्य कृत्यले समाज विटुलो बनाउँछ ?
राज्य, प्रसासनले बर्षौ-बर्षदेखि यौनजन्य गतिविधिलाई अमान्य र अवैधानिक भन्दै बर्जित गर्ने हर-संभव प्रयास गरिरहेकै छ ।
यौनजन्य गतिविधिलाई कानुनी मान्यता छैन । यही कारण लुकीछिपी गरिने यौनकृत्य एवं यौन व्यापारमाथि बन्देज लगाउने गरिन्छ । यौन व्यापार गर्नु वा यौनकर्म गर्नु भनेको सामाजिक मर्यादा उल्लंघन गर्नु हो भन्ने बुझाई छ । यही बुझाईको कारण यौनकर्मले समाजमा विसंगति फैलाउने भय छ ।
यौनकर्म वा यौनधन्दासँग समाज भयभित छ । किनभने यसले समाजलाई कुरुप, विसंगत वा विटुलो बनाउँछ । हुनपनि आफ्ना छोरीचेली यौनकर्ममा लागेको कसैले स्विकार्न चाहँदैन । यौनकर्मकै वाहनामा अन्य अपराध पनि मौलाउने ठाउँ रहन्छ । त्यसैले यस्ता गतिविधिलाई नियन्त्रण मात्र होइन, बर्जित नै गर्ने प्रयास गरिन्छ ।
बर्जित गर्ने कि व्यवस्थित ?
यौन कर्म एवं यौन व्यापारलाई बर्जित गर्नैपर्छ । के यो अपराध हो ? के यसले समाजमा विसंगती फैलाउँछ ? के यसले अरु किसिमका अपराधलाई मौलाउने ठाउँ दिन्छ ?
यौन त्यसबेला अपराध हुन्छ, जब अमर्यादित र अव्यवस्थित ढंगले गरिन्छ । बर्बरतापूर्वक गरिने यौन अपराध हो । जथाभावी गरिने यौन विसंगति हो । तर, सबै अवस्थामा यौनजन्य गतिविधि अपराध हो त ?
भ्रष्टचारीलाई भन्दा बढी घृणा देह व्यापार गर्नेलाई गरिन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने, भ्रष्टचारीले जसरी राज्य र समाजलाई खोक्रो बनाउँछ, यौनकर्मीले अरुलाई त्यसरी प्रत्यक्ष असर भने पुर्याउँदैन ।
यौन अपराध हो भने यसप्रति समाजले किन यति धेरै चासो राख्छ ? यौनप्रति किन उत्सुक हुन्छ ? किन यौनमा रमाउँछ ?
हामी वास्तवमा ढोंगी छौ । बाहिर बाहिर यौनजन्य गतिविधिलाई ‘घृणित’ भन्दै हिँड्छौ र भित्र-भित्रै त्यस्तै गतिविधिमा लिप्त हुन्छौ । नेता, मन्त्री, उद्यमी, सेलिब्रेटी मात्र होइन धर्मगुरुहरु समेत यस्ता कृत्यमा संलग्न रहेको खुलासा त बेलाखबत हुने गरेकै छ ।
समाजले व्यवस्थित अझ भनौ विवाहपछि दम्पतीबीच हुने यौनलाई सहर्ष स्विकार्छ भने त्यस बाहेकका सबै किसिमका यौनलाई घृणित मान्ने गरेको छ । विवाहअघि कुनै पुरुष र महिलावीच आपसी सहमतिमा हुने यौनलाई पनि त्यती सहज मान्ने गरिएको छैन ।
हुन त यौन एक शारीरिक आवश्यक्ता पनि हो । प्राकृतिक पनि । यौनलाई पूर्णत रोक्न वा निषेध गर्न सकिदैन । तर, जथाभावी वा विसंगत ढंगले गरिने यौनले भने समाजलाई दुषित बनाउँछ । त्यसो भन्दैमा यौनजन्य गतिविधिलाई बर्जित वा निषेध गर्नुपर्छ भन्ने मान्यता र तर्क चाहि त्यती वैज्ञानिक वा व्यवहारिक छैन ।
किनभने जतिसुकै रोक्न खोजेपनि, जतिसुकै छेक्न खोजेपनि यौनजन्य गतिविधि पूर्णत बन्द हुने होइन । प्रहरीले यौनकर्मी पक्राउ गरिरहने, यौन अखडामा छापा मारिहरने हो भने यो सिलसिला कहिल्यै अन्त्य हुने छैन ।
यसर्थ यौन बर्जित वा निषेध गरिने कुरा सहज र भरपर्दो बाटो होइन । बरु यसलाई व्यवस्थित गर्नु उपयुक्त हुन्छ । विश्वमै यौन व्यवसायलाई व्यवस्थित गरिएको छ । यसले सामाजिक विसंगति त हटाएको छ नै आर्थिक उपार्जन समेत भएको छ ।
रेडलाइट एरिया चाहिएला ?
यदि निश्चित ठाउँलाई रेडलाइड एरियाको रुपमा निश्चित गर्ने, यौनकर्मलाई व्यवस्थित गराउने, स्वास्थ्य र सुरक्षामा सजग रहने हो भने यौन व्यवसाय त्यती हानिकारक नहुन सक्छ, जति अहिले भएको छ ।
यौनजन्य गतिविधिलाई व्यवस्थित र व्यवसायिक बनाउने हो भने यसले अन्य किसिमको अपराधलाई त्यती फैलने बाटो नदिन सक्छ ।
बलात्कार, यौन हिंसा किन हुन्छ ? किनभने मान्छेहरु यौनकुष्ठा बोकेर हिँड्नछन् । मौका पर्दा यस्ता कृत्यमा उक्सने गर्छन् । यदि यौन कुष्ठा शान्त गर्ने अरु विकल्प हुने भने के उनीहरु जानी जानी अपराध गर्न तम्सन्छन् होला ?