काठमाडौँ — प्रधानमन्त्री केपी ओली कहिलेकाहीँ साँच्चै घतलाग्दो वाणी प्रस्फुटित गर्छन् । केही दिनपूर्व उनका श्रीमुखबाट हाल बेहाल नेपाली कांग्रेसबारे अत्यन्त सटिक टिप्पणी आयो, ‘कठैबरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो !’ साँच्चै हो पनि, कांग्रेस कठैबरा नै भएको छ । आफूले माया गरिने, सहानुभूति राखिने व्यक्ति, परिवार वा समूहको अवनति, दुर्गति वा ज्यादै दयालाग्दो अवस्था हुन जाँदा कठैबरा भन्ने गरिन्छ । त्यस्तो नहोस् भन्ने कामना गरिएको, सोच्दै नसोचिएको तर दुर्घटना अथवा परिबन्दवश दुःखद अवस्था उत्पन्न हुँदा, दुःखद समाचार सुन्दा अनायास निस्कने शब्द हो— कठैबरा !कांग्रेसका लागि आजका मितिमा यो विस्मयबोधक कठैबरा अत्यन्त उपयुक्त हो । यद्यपि ओलीले जुन सन्दर्भ उल्लेख गरेर यसको प्रयोग गरे, त्यसमा उनको बुझाइ त्यति प्रस्ट छैन । पूर्वाग्रह छ । किञ्चित् दुराग्रह पनि । उनले कांग्रेसलाई माया गरेर, मनमा असीम दया जागेर कठैबरा भनेका होइनन् । त्यो निश्चय नै बिचरा कांग्रेसजनको मुटु छेड्ने प्रयोजनले गरिएको व्यंग्य थियो । यद्यपि ओलीले कांग्रेसलाई दयावश कठैबरा भनेका होइनन्, तथापि यसको समग्र अवस्थाको चित्रण गर्दा निष्कर्षस्वरूप प्राप्त हुने सार कठैबरा नै हो । कांग्रेसलाई लिएर ओलीको कठैबरा नेक्रवित्रम चन्दको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि सरकारद्वारा लगाइएको प्रतिबन्धप्रति कांग्रेसका कतिपय नेताविशेषको नकारात्मक टिप्पणीतर्फ लक्षित थियो । कांग्रेसले चन्द नेतृत्वको नेकपाका हिंसात्मक गतिविधिप्रति समर्थन गरिरहेको भन्ने उनको आक्षेप थियो । त्यो ओलीको निजी अनुमान र मनको मत हो । किनभने चन्दका गतिविधि के हुन्, त्यो समूहका विषयमा केकस्तो धारणा बनाउनु उचित हुन्छ भन्ने सम्बन्धमा कांग्रेसको कुनै संस्थागत धारणा छ/छैन, यसबारे कसैलाई जानकारी छैन । सम्भवतः स्वयं कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि के भन्दा ठीक, के भन्दा बेठीक भन्ने ज्ञान छैन । देउवाले एक पटक चन्दका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकोलाई उचित ठहर्याए, लगत्तै वार्ताद्वारा समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्न थाले । सीके राउतसँग सरकारले गरेको समझदारीबारे पनि कहिले स्वागत गर्ने र कहिले भने विखण्डनकारीसँग झुकेर राष्ट्रघात गरेको भन्नेसम्मका भनाइ आए । त्यस्तै अरू नेताले पनि आफ्नो मनमा जे आयो, त्यही बोलेका छन् । ती भनाइलाई पछ्याइसाध्य छैन । बोलीको मूल्य हुन्छ, तर धेरै बेतुका बोल्ने गरिँदा र बोली फेरिइरहँदा पार्टी निश्चित विचारधारामा नचलेर साँच्चै कठैबरा हुन पुगेको ठहर्छ ।
हुन त प्रधानमन्त्री ओली आफैं पनि धेरैजसो सन्तुलित बोल्ने गर्दैनन् । कहिलेकाहीं यस्तो प्रतीत हुन्छ, उनीसँग व्यंग्यवाण, सस्ता टिप्पणी र व्यक्तिको मानसम्मानमा आघात पर्ने खालका अशोभनीय शब्दहरूको सँगालो अर्थात् शब्दकोश नै छ । लोकतन्त्रमा निजी मत राख्न हरेक नागरिक स्वतन्त्र हुन्छ । मानिस आफ्नो राजनीतिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमि अनुसारै आचरण गर्छ । उसले प्रयोग गर्ने शब्दावली, वाक्य संयोजन, लक्षणा–व्यञ्जना औपचारिक शिक्षाले आकारित नभएर धेरैजसो अवस्थामा सामाजिक र हुर्काइका क्रममा प्राप्त अनुभवकै देन मानिन्छन् ।
निश्चय नै ओलीले पनि संविधानमा लिपिबद्ध र प्रदत्त अभिव्यक्ति स्वतन्त्रताकै हक प्रयोग गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकतम उपभोग गर्दै ओली जहाँ जतासुकै जेसुकै बोलून्, तीमध्ये कतिपय त ध्यान दिन योग्य पनि हुँदैनन् । तर अचेल उनी देशको झन्डै दुईतिहाइ अग्लो, सबैभन्दा ठूलो पार्टीका एक अध्यक्षका साथै प्रधानमन्त्री पनि हुन् । प्रधानमन्त्रीले बोलेको नीति बोलेको मानिन्छ, सरकारको दृष्टिकोण बोलेको मानिन्छ ।ओली सधैं अशोभनीय नै बोल्छन् भन्नेचाहिँं होइन । धेरैजसो अवसरमा अशोभनीय बोलिदिन्छन् भनेको मात्र हो । उनका कुनैकुनै कुरा साह्रै घतलाग्दा हुन्छन् र त्यस्तै घतलाग्दो हालैको कठैबरा हो । ‘कठै’ र ‘बरा’ को सन्धिबाट बनेको यो शब्द विस्मयका साथै करुणाबोधक पनि हो । विशेष गरेर तीन वर्षयता कांग्रेसमा दुर्दशा किस्ता–किस्तामा आएका छन् । संविधान आएका वर्ष सभापति र प्रधानमन्त्री सुशील कोइरालाले भद्र सहमति तोड्दै पुनः प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएपछि वर्तमान दुरवस्थामा आइपुग्ने मार्गचित्र बनेको हो ।त्यसै कारण तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले परस्पर नजिक हुने अवसर पाए, सहकार्य गरे । साथै स्मरणीय छ, त्यति बेला संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । तर कांग्रेसले नाकाबन्दीलाई नाकाबन्दी भन्न सकेन । कांग्रेसका नेताले भारत रिसाउँछ कि भनेर मौनव्रत धारण गर्नु उचित ठाने । भारतीय शासन–प्रशासन र तिनका एजेन्सीहरूको मनोविज्ञान के हो भने, तिनीहरू जहाँ जो सत्तामा हुन्छ, त्यसैको ‘चाकडी’ गर्छन् । दुर्भाग्यवश, कठैबरा बिचरा, भारतसँग आफ्नो नजिकको साइनो छ भन्ने कांग्रेस नेताहरूले पनि भारतीय शासकीय मनोविज्ञान बुझेका रहेनछन् कांग्रेसको तेह्रौं महाधिवेशनपूर्व सुशील कोइरालाको निधन भयो र महाधिवेशनमा देउवा सभापति बने । त्यसपछि उनको नेतृत्वको कांग्रेसले पहिलो घातक काम गर्यो— ओलीबाट प्रचण्डलाई चुँडाएर माओवादी–कांग्रेसको संयुक्त सरकार गठन अनि प्रधानमन्त्रीमा प्रचण्ड र देउवाको आलोपालो । त्यस प्रयोगलाई कतिपयले कम्युनिस्टहरूबीचको सहकार्यलाई फुटाएको भनेर स्वागत गरे । त्यसबाट प्रचण्डले दोस्रो संविधानसभामा गुमाइसकेको राजनीतिक ‘स्पेस’ पुनः प्राप्त गर्ने र आफ्नो प्रभावलाई अरू विस्तार गर्ने अवसर पाए । यसले निष्ठावान् कांग्रेसजनमा विरक्ति र जनस्तरमा कांग्रेसलाई अरू अलोकप्रिय बनायो । त्यसको प्रकटीकरण स्थानीय तहको निर्वाचनमा भयो । प्रादेशिक र केन्द्रीय तहको निर्वाचनपूर्व पार्टी एकता गर्ने गरी ओली र प्रचण्डले चुनावी गठबन्धन गरे ।एकातिर विभिन्न दुष्प्रयोग र अर्कातिर ओली–प्रचण्ड मिलापका कारण प्रादेशिक र केन्द्रीय तहको निर्वाचनमा कांग्रेसले सर्वस्व गुमायो । पहिलो पटक भएको प्रादेशिक निर्वाचनमा हरेक प्रदेशमा लज्जाजनक पराजय बेहोर्नुपर्यो । केन्द्रमा एकतिहाइभन्दा कम स्थानमा चित्त बुझाउनुपर्यो ।
यहाँ पूर्वप्रकरणहरूको पुनरावृत्ति किनभने यतिसम्म दुर्दशा भइसक्दा पनि आफ्नो हारको यथार्थपरक समीक्षा नगर्ने, उल्टै ठालु पल्टने, खाइपाइ आएको सुविधामै रमाउने र प्रधानमन्त्री ओलीले बेलाबेला देखाएका ललीपपमै दंग पर्ने गरेका कारण हुनुपर्छ, प्रतिपक्षको न्यूनतम धर्म पालन गर्नसमेत कांग्रेसले तत्परता देखाएन, देखाइरहेको छैन । मुद्दाविशेषमा नेतैपिच्छे फरक धारणा आए पनि कांग्रेसको आधिकारिक धारणा यो हो भन्ने त हुनुपर्ने, त्यो पनि छैन !निश्चय नै जित–हार हुन्छ । तथापि हारेको बोध हुनुपर्छ र पुनः उठ्ने उद्यम हुनुपर्छ । यति नराम्ररी नहारेको भए पनि कांग्रेस यसपूर्व पनि दुई पटक हारिसकेको हो, २०५१ को मध्यावधि निर्वाचन र २०६४ मा पहिलो संविधानसभाको निर्वाचनमा । त्यति बेला पनि सरकारमा कम्युनिस्ट नै आएका थिए । राजनीतिको केन्द्रीय भाव भने कांग्रेसमै थियो । सम्झे हुन्छ, त्यति बेला कांग्रेस सत्तामा नहुँदासमेत माग्ने होइन, दिने हैसियत राख्थ्यो । यसका शुभेच्छु, शुभचिन्तक र कार्यकर्ताको मनोबल यति साह्रो कहिल्यै गिरेको थिएन लोकतन्त्रमा सधैं सत्ता पाइँदैन । प्रतिपक्षमा बस्नु पनि सानो कुरा होइन । सत्तामा घोर कम्युनिस्ट अथवा तानाशाही प्रवृत्ति भएका पात्र नै किन नबसेका होऊन्, प्रतिपक्षले संसद र सडकमा सत्तालाई आच्छु–आच्छु पार्न सक्छ । बाहिर–बाहिर आफ्ना भान्साका कार्यकर्तामाझ रमाउँदै सरकार अधिनायकवादी भयो भनेर बोली टोपल्दैमा अधिनायकवादी मनसुबा नियन्त्रित हुँदैन ।
साथै प्रतिपक्षले सरकारसँग नियुक्तिमा भाग माग्ने पनि होइन । आफ्नो पालामा नियुक्त गरेका राजदूतहरूको थमौती गरिमाग्न याचना गर्ने होइन र गर्न सुहाउँदैन। मिल्दैन संवैधानिक अंगहरूमा आफ्ना मानिस नियुक्ति गराइमाग्न भित्रभित्रै प्रार्थना गर्न । प्रतिपक्षले बोक्नुपर्छ, जनताका अजेन्डा । प्रतिपक्षले बुझ्नुपर्छ, जनताका भावना । लोकतन्त्रमा प्रतिपक्ष सत्तासँग ‘सेटिङ’ मिलाउँदै कठैबरा भएर बस्न मिल्दैन कांग्रेसका एउटा महामन्त्री छन्, शशांक कोइराला। उनी सांसद पनि हुन् । नाताले उनी विश्वेश्वरप्रसाद कोइरालाका छोरा हुन् । कांग्रेसजन उनीबाट धेरै आशा गर्छन्, उनी शशांक भएर होइन, बीपीपुत्र भएकाले । तर संसदमा ढुंगो बोल्ला, उनी बोलेको सुनिँदैन । बाहिर भने बेला न कुबेला नानाथरीका समय र सन्दर्भ नमिल्ने मागहरू अघि सारिरहेका हुन्छन्। धेरै केरकार भयो भने त्यस्तो भनेकै होइन भनेर पन्छिन कत्ति पनि विलम्ब गर्दैनन् । साथै पद ओगटेर बस्ने र फलानाले गर्न दिएन, त्यसैले पार्टी बरबाद भयो भन्नेहरू आफ्नै वृत्तमा रुवाबासी गरेर बसेका भेटिनु सामान्यझैं भएको छ । त्यसैले ओलीले चाहे चन्द नेकपाका गतिविधिका सन्दर्भमा कांग्रेसलाई कठैबरा भनेका भए पनि समग्रमा समेत यसको कार्य–प्रदर्शन कठैबरा भन्नलायक नै भएको छ । कठैबरा कांग्रेस ! कान्तीपुर दैनिकबाट