काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया औपचारिकरुपमा टुंगिएको घोषणा गर्दैछ । मन्त्रालयले आज(बिहीबार) ११ बजे मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत समायोजन प्रक्रिया टुंगिएको घोषणा गर्ने तयारी गरेको छ । सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा बिहीबारसम्म एक लाख कर्मचारीको समायोजन सकिने जनाएपनि यो समाचार तयार पारुन्जेलसम्म भने निजामती तर्फ ६० हजार र स्थानीय सेवातर्फ ११ हजारको हाराहारीमा गरी करिब ७१ हजारको मात्र समायोजन सूची सार्वजनिक भएको छ । पत्रकार सम्मेलन सुरु हुनुअघि नै स्वास्थ्य सेवाफर्तका करिब २८ हजार कर्मचारीको समायोजन सूची पनि सार्वजनिक गरेर एक लाख कर्मचारी समायोजन गरेको विवरणसमेत सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्रालय स्रोतबाट बुझिएको छ ।
समायोजन प्रक्रिया सकिएपनि पत्र बाँड्ने र गुनासो व्यवस्थापन भने नियमित नै रहने मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले बताएका छन् । ‘समायोजन पछि दुई वटा काम बाँकी रहन्छ’ सचिव अधिकारीले भने, ‘एउटा पत्र दिने काम बाँकी रहन्छ, अर्को गुनासो व्यवस्थापनको काम बाँकी रहन्छ ।’ उनका अनुशार यी दुई काम टुङ्ग्याउन भने केही समय लाग्न सक्नेछ ।