मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा दुई वर्षमा २८ सय सवारी कारबाहीबाट १८ लाख बढी राजश्व संकलन

बाजुरामा दुई वर्षमा २८ सय सवारी कारबाहीबाट १८ लाख बढी राजश्व संकलन

७२ सवारी दुर्घटनामा परी २० जनाको मृत्यु

  • मङ्लबार, साउन ५, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा दुई वर्षमा २८ सय सवारी कारबाहीबाट १८ लाख बढी राजश्व संकलन

बाजुरा–बाजुरामा विगत दुई वर्षको अवधिमा २८ सय बढी सवारी साधनहरु कारबाहीमा परेका छन्। अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा ट्राफिक नियमको उल्लंघन गर्ने दुई हजार ८३१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक धनदत्त जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ७२ वटा सवारी साधन कारबाहीमा परेका छन् । यस्तै गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियमको उल्लंघन गरेका ७५९ सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए । जिल्लामा दुई वर्षको अवधिमा सवारी कारबाहीबाट १८ लाख ४१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जोशीले बताए । अघिल्लो आवमा सवारी कारबाहीबाट १२ लाख १४ हजार राजश्व संकलन भएकोमा गत आर्थिक वर्षमा ६ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

यस्तै जिल्लामा सो अवधिमा ७२ वटा सवारी दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ३४ वटा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । त्यस्तै गत आर्थिक वर्ष २०८२/८३ मा ३७ वटा सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै सोमबार दिउँसो जिल्लाको हिमाली गाउँपालिका–५ अन्तर्गत क्युडीदेखि कोटीगाउँतर्फ जाने सडकखण्डमा जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका छन् । सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जीप दुर्घटनामा परी घाइते भएका मध्ये दुई जनाको कोल्टी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी चलाउने, सवारीका आवश्यक कागजात साथमा नराख्ने, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने, हेल्मेट तथा सिटबेल्ट प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोकेको लगायतका सवारी साधन ट्राफिक कारबाहीमा परेका छन् । यस्तै अप्ठ्यारो कमजोर कच्ची सडक हुनु, चालकको लापरबाही, सडकमा ट्राफिक निगरानी सीमित हुनु, हेल्मेट नलगाउने, तीव्र गतिमा सवारी चलाउने लगायतका कारणले दुर्घटना बढी हुने गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जिल्लामा सवारी साधन दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि सवारी चेकजाँचमा कडाइ, चालकसँग एक मिनेट कार्यक्रम तथा यात्रुलाई सम्झाउने, समुदाय तथा विद्यालयमा जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको बताए । यस्ता कार्यक्रमले ट्राफिक नियमको कार्यान्वयनका साथै सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा प्रवद्र्धन तथा चालकमा जिम्मेवारीबोध बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। नियम उल्लङ्घन गर्नेहरूलाई कानुनअनुसार जरिवाना गरिनुका साथै ट्राफिक सचेतनासम्बन्धी परामर्श समेत प्रदान गरिएको जनाएको छ । प्रहरीले आगामी दिनमा पनि नियमित सवारी जाँचलाई अझ प्रभावकारी बनाउने, विद्यालय, यातायात व्यवसायी तथा स्थानीय समुदायसँग सहकार्य गरी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार