
बाजुरा–बडीमालिका नगरपालिका स्तरीय बाल सञ्जालका पदाधिकारीहरूसँग नागरिक सहभागिता नीति, नागरिक बजेट तथा बस्ती–समुदाय स्तरमा योजना छनोट प्रक्रियासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा नगर बाल सञ्जालका सम्पूर्ण पदाधिकारीहरूलाई विद्यालय झोला समेत वितरण गरिएको छ ।
युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको सहकार्य, बडीमालिका नगरपालिकाको समन्वय तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकाको स्थानीय योजना तथा बजेट निर्माण प्रक्रियामा सहभागिताबारे छलफल गरिएको हो । कार्यक्रममा नागरिक बजेटमा बालबालिकाको सहभागिता किन आवश्यक छ, कसरी सहभागिता जनाउने र यसको उद्देश्य के हो भन्ने विषयमा अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो ।
बालबालिकाको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले बडीमालिका नगरपालिका गैरसरकारी संस्था फोकल पर्सन कृष्ण खड्काले प्रत्येक बालबालिकालाई बाल्ने अभ्यास गराउँदै सार्वजनिक रूपमा आफ्नो विचार प्रस्तुत गर्ने लगाएका थिए ।
नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले संयुक्त रूपमा विद्यालय झोला वितरण गरेका थिए। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, बालकल्याण अधिकारी, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, निड्स नेपाल तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले बालबालिकाका माग, आवश्यकता र सुझावलाई नगरपालिकाको योजना तथा बजेटमा प्राथमिकताका साथ समावेश गरिदैँ आएका बताए । उनले बालबालिकाको अधिकार, हित र उज्ज्वल भविष्यका लागि नगरपालिका निरन्तर काम गर्ने बताए । यस्तै नगर प्रमुख खड्काले पालिकामा बालबालिकामैत्री कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याएकोमा युनिसेफ नेपाल, युरोपियन युनियन, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल तथा निड्स नेपालप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।
यस्ता कार्यक्रमले बालबालिकाहरुलाई स्थानीय शासन, नागरिक बजेट र विकास योजनामा आफ्नो अर्थपूर्ण सहभागिताबारे जानकारी गराउनुका साथै नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने निड्स नेपालका जिल्ला फिल्ड अफिसर रामदेवि कटुवालले बताइन् ।


