बुधबार, असार २४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकामा स्थानीय रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षाबारे अभिमुखीकरण

बडीमालिकामा स्थानीय रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षाबारे अभिमुखीकरण

  • बुधबार, असार २४, २०८३
सेयर गर्नुहोस् :
बडीमालिकामा स्थानीय रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षाबारे अभिमुखीकरण

बाजुरा–बडीमालिका नगरपालिकाका स्थानीय रोजगारदाता तथा श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनाबारे जानकारी गराउने उद्देश्यले बुधवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको समन्वयमा, युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको सहकार्य तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको आयोजनामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा योजनाको महत्व, श्रमिक तथा रोजगारदाताको अधिकार र दायित्व, सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया तथा त्यसबाट प्राप्त हुने सेवा सुविधा लगायतका विषयमा जानकारी दिइएको निड्स नेपाल जिल्ला फिल्ड अफिसर रामदेवि कटुवालले बताइन् ।

अभिमुखीकरणमा सहभागी रोजगारदाता, श्रमिक तथा सरोकारवालाहरूले सामाजिक सुरक्षा योजनामा आबद्ध हुँदा श्रमिकको भविष्य सुरक्षित हुने, रोजगारदाताले कानुनी दायित्व पूरा गर्न सहज हुने र श्रम सम्बन्ध थप व्यवस्थित बन्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अमर बहादुर खड्काले नागरिकहरुलाई सुरक्षा दिने विषयमा कानुन सम्मत कार्यान्वयन गर्नु पर्ने भन्दै पालिकाले गैरसरकारी संस्था लगायत सबैसँग समन्वय गर्दै अभियानका रुपमा लिन सके प्रभावकारी बनाउन सकिने बताए ।
कार्यक्रममा सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह, रोजगारदाता र श्रमिकबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। साथै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा समेट्न सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा निड्स नेपालका मिन बहादुर शाहीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रममा नगर उपप्रमुख नन्दा थापा, प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी, रोजगार संयोजक प्रमिला थापा, रोजगारदाता, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधि, कर्मचारी, श्रमिक, व्यापारी, सरोकारवाला लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार