
बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकाले सञ्चालन गरेको ‘नगर उपप्रमुख कोसेली कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । आमा र बच्चामा देखिने कुपोषण घटाएर स्वास्थ्यमा सुधार ल्याउने उदेश्यका साथ सञ्चालन गरिएको अहिले प्रभावकारी बन्दै गएको हो ।
बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट चार लाख रुपैयाँ बजेट विनियोजन गरेर सञ्चालनमा ल्याएको ‘नगर उपप्रमुख कोसेली कार्यक्रम’ ले विपन्न तथा गरिब परिवारका आमाहरुको सहारा बनेको नगर उपप्रमुख माया खड्का कुवँरले बताइन् ।
उक्त कार्यक्रममार्फत हरेक वर्ष पालिकाभित्रका गर्भवती र सुत्केरी आमालाई अण्डा, नुन, तेल, नुन लगायतका पोषणयुक्त खानेकुराहरु वितरण गरिदैँ आएको छ । उक्त कार्यक्रम अहिले नगरपालिकाका १० वटै वडाका गर्भवती र सुत्केरी आमाहरुका लागि निकै प्रभावकारी बन्नुका साथै पालिकामा विगतको तुलनामा कुपोषणको दर घटेको नगर उपप्रमुख कुँवरले बताएकी छन् ।
उनका अनुसार यस वर्ष पनि ‘नगर उपप्रमुख कोसेली कार्यक्रम’ मार्फत ४९४ जना गर्भवती र सुत्केरी आमाहरु लाभान्वित भएका छन् । नगर उपप्रमुख कुँवर स्वयम् आफैँ सम्बन्धित वडामा नै पुगेर कोसेली वितरण गर्दै आएकी छन् । उनले आफू निर्वाचित भएकै वर्षबाट बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिएको बताइन् । साथैं उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन आगामी वर्षबाट वर्षमा एकपटक नभई प्रत्येक वडाका स्वास्थ्य संस्थामार्फत गर्भवती र सुत्केरी समयमा नै पोषण सामग्रीहरु वितरण गर्ने योजना रहेको बताइन् ।
नगरपालिकाले गर्भवती तथा सुत्केरी अवस्थामा पोषिलो खानेकुरा वितरण गर्न नगर उपप्रमुख कोसेली कार्यक्रमका लागि यस वर्ष ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।


