
बाजुरा–बाजुराको हिमाली गाउँपालिका–३ च्याचौर नजिक रहेको कुवाडी खोलामा आएको बाढीले काठे पुल बगाएपछि अलपत्र परेका भेडा र गोठालाहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस लाम्पाटाबाट खटिएको टोलीले घटनास्थलमा पुगेर जोखिमपूर्ण अवस्थामा रहेका गोठालाहरूलाई सुरक्षित स्थानमा उद्धार गर्नुका साथै आवतजावत सहज बनाउन अस्थायी रूपमा काठे पुल मर्मत समेत गरेको हो।
यसअघि कुवाडी खोलामा आएको बाढीका कारण काठे पुल बगाउँदा गोठालाहरू भेडाचौपायासहित खोला वारपार गर्न नसकेर अलपत्र परेका थिए। उक्त सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा खटिएको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा पुगेको थियो। टोलीले अलपत्र परेका भेडी गोठालाहरूलाई सुरक्षित रूपमा उद्धार गरेको र आवतजावत सञ्चालन गर्न काठे पुल मर्मत गरेको जनाएको छ।
दुर्गम हिमाली क्षेत्रमा वर्षायामसँगै खोलानालामा आउने आकस्मिक बाढीले स्थानीय बासिन्दा, गोठाला तथा यात्रुहरूलाई पटक–पटक जोखिममा पार्ने गरेको छ ।


