
बाजुरा–बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत ढम्कने–कोल्टी खण्डमा कालोपत्रेको काम अलपत्र परेको छ । निर्माण कम्पनीले काम नगर्दा चालु आर्थिक वर्षको २० करोड रकम फिर्ता हुन लागेको छ ।
पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाका अनुसार निर्माण कम्पनीले समयमै काम नगरेपछि धरौटी वापतको ३ करोड ६ लाख रुपैयाँ बैंकबाट तानिसकिएको छ भने १२ करोड रुपैयाँ असुलीका लागि राष्ट्र बैंकलाई पत्राचार गरिएको छ ।
सडक निर्माणको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले यो आर्थिक वर्षको अन्त्यसम्म पनि बाँकी काम नगरेपछि २० करोड रुपैयाँ फिर्ता हुन लागेको हो ।
यो वर्ष मात्र नभई अघिल्ला वर्षमा पनि समयमै काम नगर्दा बजेट फिर्ता पठाउने काम भइरहेको कार्यालयले वताएको छ । गत आर्थिक वर्षमा यो सडकका लागि १५ करोड बजेट थियो । ठेकेदारले काम नगर्दा १३ करोड ५० लाख बढी रकम फिर्ता भएको थियो ।
आर्थिक वर्ष २७६/०७७ मा (२०७७ असार) २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले ढम्कनेदेखि चुथीसम्म ६ किलोमिटर र चुथीदेखि कोल्टीसम्म २६ किलोमिटरको ठेक्का लिएको थियो । चुथीदेखि ढम्कनेसम्मको सडक निर्माणको २०७७ पहिला नै सम्झौता भएको थियो ।
चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर सडक निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ को असारमा सम्झौता गरेको थियो । ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।
३ वर्षमा काम नसकेपछि कार्यालयले पटकपटक म्याद थप गरेको थियो । म्याद थप गरे पनि चालु आर्थिक वर्षको अन्त्यसम्म ठेकेदारले काम सुरु गरेको छैन् । काम नहुने भएपछि रकम फिर्ता हुन लागेको पूर्वाधार कार्यालय अछामले बताएको छ ।
कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो । पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाख रुपैयाँमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो ।
उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा वर्षातमा मार्तडी–कोल्टी सडक बन्द हुने गरेको स्थानीय शंकरबहादुर चदाराले बताए ।
केही महिनाअघि पूर्वाधार विकास कार्यालय अछामले ठेक्का तोड्नेबारे १५ दिने सूचना प्रकाशित गरेको थियो । ठेकका नतोड्नु पर्ने कारण भए कार्यालयमा सम्पर्क गर्नसमेत भनेको थियो । तर सूचना प्रकाशित भएको मिति सकिँदासम्म ठेकेदारले कार्यालयमा सम्पर्क नगरेको कार्यालयले जनाएको छ ।
काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको हो । उनी बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।
मार्तडी–कोल्टी सडक जम्मा ४१ किलोमिटर छ । यो सडक प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटर बाहेक मार्तडीकादेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड बजेट विनियोजन भएको थियो ।
पहिलो खण्ड मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडकमा धेरै काम भइसकेको छ । चुथीदेखि ढम्कनेसम्म ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपूरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।
२०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक २६ वर्षसम्म पनि पूरा हुन सकेको छैन । २०५६ फागुन ७ गते तत्कालीन जिल्ला सभापति लालबहादुर थापाले उक्त सडकको शिलान्यास गरेका थिए । शिलान्यासका बेला २०६० सालसम्म कोल्टीमा गाडी पुर्याइसक्ने लक्ष्य राखिएको थियो ।


