
काठमाडौं— आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट २०२६ भारतमा अबको एक सातामा सुरु हुँदैछ । टी-२० क्रिकेटको महासंग्राम समेत मानिने यो विश्वकपमा नेपालसहित २० राष्ट्र सहभागी छन् ।
२० राष्ट्रलाई चारवटा समूहमा विभाजन गरिएको छ र एक समूहमा पाँच टोलीहरू समावेश छन् । हरेक समूहबाट शीर्ष २ टोलीहरू अघिल्लो चरण अर्थात् सुपर ८ चरणमा पुग्ने भएकाले कम्तीमा दुई खेल जित्नैपर्ने छ ।
नेपाल रहेको समूह ‘सी’ मा दुईपटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित दुई एसोसियट राष्ट्र स्कटल्यान्ड र इटली छन् । सुरुमा बंगलादेश समावेश रहेको भएपनि बंगलादेश भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्ड समावेश गरेको थियो ।
नेपालले समूह चरणमा खेल्नेमध्ये इटलीबाहेक बाँकी तीन राष्ट्र टी-२०आई वरियतामा नेपालभन्दा माथि छन् । नेपालका लागि इंग्ल्यान्ड र इटली पूर्णरूपमा नयाँ प्रतिद्वन्द्वी हुनेछन् भने वेस्ट इन्डिज र स्कटल्यान्डसँग पहिले पनि खेलिसकेको छ ।
नेपाली टोलीको यो तेस्रो विश्वकप सहभागिता हो । यसअघि सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको नेपाली टोलीले त्यसको १० वर्षपछि अर्थात् गत संस्करण (२०२४) को टी-२० विश्वकप खेलेको थियो ।
