
नेपालले आफ्नो राजनीतिक इतिहासमा थुप्रै पटक व्यवस्था परिवर्तन भोगेको छ। एकातिर सामन्तवादी शासन, अर्कोतिर विभिन्न दलहरूको बहुदलीय अभ्यास, यी सबै अनुभव गरिसक्दा पनि जनताले खोजेको वास्तविक लोकतन्त्र, सुशासन, दिगो विकास, न्याय र सुरक्षाको प्रत्याभूति अझैसम्म पाउन सकेका छैनन्। शासकहरूको अनुहार फेरियो, संविधान फेरियो, शासन प्रणाली फेरियो, तर जनजीवनमा अपेक्षित सुधार आउन सकेन।
विगतका चुनावहरूमा राजनीतिक दलहरूले “आमूल परिवर्तन” का नारा दिए, आकर्षक घोषणापत्र सार्वजनिक गरे र राज्य सञ्चालनको जिम्मेवारी लिए। तर ती वाचा र प्रतिबद्धतामध्ये थोरै मात्र कार्यान्वयन भए, बाँकी अधिकांश कागजमै सीमित रहे। जनतालाई प्रत्यक्ष महसुस हुने खालको ठूला विकास उपलब्धि देखाउन उनीहरू असफल भए। बरु त्यसको विपरीत, हजारौं “नवसामन्त” र “छोटा राजा” हरू उदाए, जसले पद र शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्न सुरु गरे।
कतिपयले “देशमा विकास नै भएन भन्नु गलत हो” भन्ने तर्क गर्छन्। अवश्य पनि केही विकास भएको छ, सडक, पुल, विद्यालय, अस्पताल जस्ता संरचनाहरू बनेका छन्। तर ती विकासहरू सामान्य गति मा मात्र भएका हुन्, जसले जनताको आकांक्षा पूरा गर्न सकेका छैनन्। जनताले चाहेको विकास भनेको पारदर्शी शासन, न्यायपूर्ण वितरण, अवसरमा समानता र दीर्घकालीन स्थायित्व हो। तर भ्रष्टाचार र बेथितिले गर्दा यस्ता विकासका फलहरू जनताले वास्तविक रूपमा उपभोग गर्न पाएनन्।
आज देशको हरेक तहमा स्थानीय निकायदेखि संघीय तहसम्म भ्रष्टाचार चरममा पुगेको छ। उपभोक्ता समिति, ठेक्का प्रक्रियादेखि सरुवासम्म, सार्वजनिक सेवा प्रदायक निकायदेखि कानुन कार्यान्वयन गर्ने निकायसम्म, बेथिति र अनियमितता गहिरिँदै गएको छ। अर्को मुख्य दोष भनेको राजनीतिक दलहरू भित्रका युवा नेता भनाउँदा चाकरीबाजहरूको पनि हो। आलोचनात्मक सोच र चेतना भएको भए पनि धेरै युवाहरू आफ्ना शीर्ष नेताले गरेका स्पष्ट गल्तीहरूलाई थाहा हुँदाहुँदै पनि प्रश्न उठाउन सकेनन र सकेका छैनन। बरु व्यक्तिगत स्वार्थ, पद–प्रतिष्ठा र अवसरको लोभमा रमाई चाकरी गर्नमै सन्तुष्ट हुन्छन्।
यस्ता प्रवृत्तिले नेताहरूमाझ घमण्ड, निरंकुशता र गैरजिम्मेवारीपन झन् बढाउन सहयोग गर्यो । यसकै परिणामस्वरूप लोकतन्त्र र वर्तमान व्यवस्थाप्रतिको जनविश्वास क्रमशः खस्किँदै गएको छ र भविष्यप्रतिको निराशा गहिरिँदै गएको छ। यही कारणले गर्दा सामान्य जनताले गरेको सानो विरोध वा आन्दोलन पनि ठूलो विस्फोटक स्वरूपमा परिणत भइरहेको छ। हालैको “जेन जेड” (Gen Z) पुस्ताले सामाजिक सञ्जालमार्फत सुरु गरेको सामान्य अभियान यति व्यापक बन्यो कि राज्य संयन्त्र नै दुई दिनभित्र घुँडा टेक्न बाध्य भयो। यद्यपि त्यहाँ विभिन्न स्वार्थ समूहको घुसपैठ पनि देखियो, तर मूल कारण भने वर्तमान राजनीतिक दल र तिनका नेताप्रति बढ्दो जनवितृष्णा नै हो ।
यद्यपि तत्कालका लागि स्थिति केही भिन्न देखिए पनि यदि असल विचार बोकेका युवा नेताहरू अगाडि आएर आफ्नो दलभित्र सुधारका लागि हस्तक्षेप गर्न सकेनन् भने, र उनीहरू पनि आज बहिस्कृत भईसकेका नेताको चाकरीमै सीमित भए भने, ढिला–छिटो दलहरूको अस्तित्व संकटमा पर्नु निश्चित छ।
यसैले अब केवल नारा वा आन्दोलनको भाषणले मात्र काम चल्दैन। “जेन जेड”, “जेन वाई” लगायत हरेक सचेत नागरिकले भ्रष्टाचार अन्त्य गर्ने अभियानलाई जरा–स्तर (grassroot level) बाट सुरु गर्नुपर्ने बेला आएको छ। यसको अर्थ हामीले आफैंबाट, आफ्नै घर, परिवार र छिमेकबाट सुरुवात गर्नुपर्छ।
हामीले आफ्नो टोल समाजमा पद, शक्ति वा पहुँचको आडमा अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूलाई पहिचान गर्नुपर्छ। त्यसपछि कानुनी प्रक्रियाबाट सम्पत्ति शुद्धिकरणको माग गर्ने मात्र नभई सामाजिक बहिष्कार गर्ने हिम्मत पनि गर्नुपर्छ। घर–घरमा पारदर्शिता, छिमेकमा उत्तरदायित्व, समाजमा सामूहिक प्रतिबद्धता, यी नै भ्रष्टाचार अन्त्य गर्ने सबभन्दा प्रभावकारी उपाय हुन्।
हामीले बिर्सनु हुँदैन, भ्रष्टाचार विरुद्धको यो लडाइँ केवल सरकार , कुनै निकाय वा संस्थाले मात्र जितिदिने होइन। यो प्रत्येक नागरिकले बोकेको साझा जिम्मेवारी हो। जबसम्म हामी आफ्नै घर, टोल र छिमेक सफा गर्न तयार हुँदैनौं, तबसम्म देश सफा हुन सक्दैन।
त्यसैले आउनुहोस्, सबै मिलेर हातेमालो गरौं। भ्रष्टाचारलाई जरैबाट उखेलौं, पारदर्शिता र जवाफदेहिताको संस्कारलाई जरा–जरा भित्र्याऔं। हामीले सिर्जना गर्ने भ्रष्टाचारमुक्त घर, टोल, समाज र राष्ट्र नै हाम्रा आगामी पुस्ताका लागि असली सम्पत्ति हुनेछ।
धन्यवाद ।
