शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • नेपालले जित्यो आसामविरुद्धको सिरिज

नेपालले जित्यो आसामविरुद्धको सिरिज

  • मङ्लबार, भदौ १७, २०८२
नेपालले जित्यो आसामविरुद्धको सिरिज

भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल ‘ए’ ले जितेको छ । सोमबार भएको निर्णायक अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले आफ्नो पक्षमा पार्न सफल भयो । पहिले ब्याटिङ गर्दै नेपाल ‘ए’ ले २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनायो । टोलीका लागि सन्दीप जोराले आक्रामक ६४ रन प्रहार गरे, जसमा ३९ बलमा २ चौका र ५ छक्का समावेश थिए । त्यसैगरी शुभ कंसाकारले ४१ रन र इशान पाण्डेले ३२ रन जोडे । आसामका बलर आयुष्मान मलाकार र अभिनव चौधरीले समान २/२ विकेट लिए ।

२०९ रनको लक्ष्य पछ्याउन उत्रिएको आसाम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रनमै रोकियो । टोलीका लागि भार्गव लहकरले अविजित २९ रन योगदान दिए भने कप्तान सुमित घडिअन्कर र साहिल जेनले समान २५ रन बनाए । नेपालका बलर शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान २(२ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे ।

यसअघि बिहीबार सुरु भएको शृंखलामा पहिलो खेल डीएल पद्धतिअनुसार १५ रनले आसामले जितेको थियो । दोस्रो खेलमा नेपाल ९६ रनले विजयी भयो भने तेस्रो खेलमा ९ रनले नेपालले जित हात पार्‍यो । चौथो खेल भने आसामले १८ रनले जितेको थियो । अन्ततः सोमबारको नतिजासँगै नेपाल ‘ए’ ले शृंखला आफ्नो नाममा दर्ज गर्न सफल भएको छ ।

चर्चामा

सम्बन्धित समाचार