बाजुरा– गौमुल गाउँपालिकाले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड आगामी मंसिर २७ गतेबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा बिहीबार बसेको बैठकले पालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड आगामी मंसिर २७, २८ र २९ गते गर्ने गरी निर्णय गरिएको हाे । राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरका विद्यार्थीहरुको खेलकुद प्रतिभा पहिचान गर्ने, विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराई शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान दिने गरी प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने पालिकाको उद्देश्य रहेको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । प्रतियोगीताले बालबालिकाहरुमा खेलकुद प्रतिको रुचि बढाउनुका साथै शारीरिक शिक्षालाई प्राथमिकता दिने रहेको बताएका छन् ।
राष्ट्रपति रनिङ शिल्डमा भलिबल, कबड्डी, दौड, रिले दौड, लामो हाम, उच्च हाम, गोला फाल, चक्का फाल र भाला फाल हुने भएका छन् । खेलका लागि सबै मावि विद्यालयहरुले तयारीका साथ आउन गाउँपालिकाले आग्रह गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता गाउँपालिकाको केन्द्र घट्मुना हुने भएको छ ।