• होमपेज
  • जगन्नाथ
  • बाढी पहिरोबाट विस्थापित परिवारका लागि बन्यो नमूना बस्ती

बाढी पहिरोबाट विस्थापित परिवारका लागि बन्यो नमूना बस्ती

नमूना बस्तीमा खानेपानी, विद्युत, सडक र शौचालय निर्माण गर्न पालिकाबाट बजेट विनियाेजन

  • आइतवार, मंसिर ९, २०८१
बाढी पहिरोबाट विस्थापित परिवारका लागि बन्यो नमूना बस्ती

टेक बहादुर बुढा —बाजुराको जगन्नाथ गाउँपालिका ६ पाल्त्याडी पुग्नेलाई रातो जस्तापाताको एकनासका घरले लोभ्याउँछ । आकर्षक देखिने पाल्त्याडी बस्ती बाजुराको जगन्नाथ गाउँपालिका वडा न ६ को एकीकृत नमुना बस्ती हो । ५४ करोडमा निर्मित त्यहाँको बस्तीमा पुग्दा मनै लोभ्याउने गर्दछ । २०७९ असोजको पहिरोले जमिन धाँजा परेर बस्न अयोग्य भएपछि जगन्नाथ गाउँपालिकाले पहिरो पीडितका लागि एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । त्रिपालमा पुगेका १ सय ८ परिवारलाई पुनस्र्थापना गर्न गाउँपालिकाले प्रदेश र संघ सरकारसंग समन्वयमा काम अगाडी बढाएको थियो  ।

जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले ‘पहिरोले त्रिपालमुनि बसिरहेका लागि मुख्य आवश्यकता घर नै हो भनेर घर बनाएर बस्ती बसालेका हौँ,’ उनले भने, ‘अहिले यो बस्तीमा खानेपानी र बिधुत पुर्याउन सकेका छैनौ ।

बाजुराको जगन्नाथ गाउँपालिकाले बाढीपहिरोबाट विस्थापित भएका परिवारहरुको बस्ती स्थानान्तरण गरी सकेको गाउँपालिकाले जनाएको छ । २ बर्ष पहिले आएको बाढीपहिरोबाट पिडितहरुलाई गाउँपालिकाले संघ तथा प्रदेश सरकारको सहयोग तथा समन्वयमा १ सय ८ परिवारको बस्ती स्थानान्तरण गरिएको गाउँपालिकाका प्राविधिक नरेश कटेले बताएका छन् ।

जसमा एक घर बनाउन ५ लाख भन्दा बढि लागत लागेको उनले बताए । जसमा संघिय सरकारको ६० प्रतिशत अनुदान, प्रदेश सरकारको ३० प्रतिशत र स्थानिय तहको १० प्रतिशत अनुदानमा नमुना बस्ती बिस्तार गरिएको उनले बताए ।

२०७९ असोज २२ देखि २४ गतेसम्मको अविरल बर्षाले गाउँपालिकाका ६ वटै वडाहरुमा धनजनको क्षति गरेको थियो । बाढीपहिरोबाट विस्थापित परिवारहरु अहिले सरकारले घर निर्माण गरिदिएपछि खुसी भएका छन् । बस्ती स्थानान्तरण पछि पिडितहरुले सरकारले घर निर्माण गरिदिएपनि अब तत्काल खानेपानी र शौचालयको समेत व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

सरकारको पहिलो किस्ताको रकमले घर निर्माण कार्य अन्तिम चरमा पुगेपनि बाँकी किस्ता निकासा नहुँदा समस्या भएको रंगमल सार्कीले बताएका छन् । स्थानीय तहबाट पहिलो किस्ता आएपनि संघ र प्रदेश सरकारबाट रकम नआउँदा दार काठ र कामदारको पैसा तिर्न नसकिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बाढीपहिरोबाट प्रभावितहरुको बस्ती स्थानान्तरणका लागि नेपाल सरकारको विपत् प्राधिकरणको टोलीबाट परिक्षणपछि पालिकाले जग्गाको व्यवस्था गरिएको बताएका छन् । उनका अनुसार बाढी पहिरोबाट भएको एकिन क्षतिबारे जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्री विपत् प्राधिकरणसँगै केन्द्र तथा प्रदेश सरकारमा पेश गरेर पिडित परिवारहरुको बस्ती स्थानान्तरण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले पिडितहरुका घरहरु निर्माण गरेर घर रङरोगनको कार्य बाँकी रहेको र तीन वटै सरकारबाट दोस्रो र तेस्रो किस्ताको रकम समेत निकासा हुन बाँकी रहेको अध्यक्ष शाहीले बताए । अध्यक्ष शाहीले नमुना वस्तीमा खानेपानीको व्यवस्थापन गर्न गाउँपालिकाले कार्यपालिकाको बैठकबाट निणर्य गरेर चालु आर्थिक बर्षमा बजेट विनियोजन गरेर एक घर एक धारा, विद्युत, सडक र शौचालय समेत निर्माण गरिने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार