• होमपेज
  • राजनीति
  • रास्वपाको आह्वान- सरकारको अधिनायकवादी प्रवृत्तिविरुद्धको आन्दोलनमा साथ दिनुस्

रास्वपाको आह्वान- सरकारको अधिनायकवादी प्रवृत्तिविरुद्धको आन्दोलनमा साथ दिनुस्

  • आइतवार, कार्तिक २५, २०८१
रास्वपाको आह्वान- सरकारको अधिनायकवादी प्रवृत्तिविरुद्धको आन्दोलनमा साथ दिनुस्

काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले बताए ।

उनले भने, ‘संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नं. ४४९ मा सहकारी संस्थाबाट गोरखा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भए तापनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउको वास्तविक उद्देश्य वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न हो भन्ने प्रस्ट देखिन्छ ।’

उनले कुनै बेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरू आज नवीन विचार र आवाजलाई दबाउन उद्यत भएको बताए ।

उनले भने, ‘राज्यको यस्तो स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासनविपरीत छ । रास्वपा आमनेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह गर्दछ । तसर्थ रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाहरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आमनेपाली जनतामा हार्दिक आह्वान गर्छौं ।’ ‌

बैठकले प्रधानमन्त्रीसमेतलाई बुझाइएको ‘सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना’ विषयक प्रतिवेदनका सिफारिसहरुलाई आधार मान्दै सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरुको सरोकारसम्बन्धी तृणमूल अभियानलाई गति दिन १ महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरुले आआफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाएर पीडितहरुको सरोकारबमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरुको अगुवाइ गर्ने निर्णय पनि गरेको छ ।

आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध जनसमुदायमा जागृति फैलाउने अभियान सञ्चालन गर्ने प्रवक्ता झाले बताए ।

चर्चामा

सम्बन्धित समाचार