बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • उप निर्वाचन बिषेश
  • उपचुनाव हुने सबै पदमा एमाले उम्मेदवार सर्वसहमत

उपचुनाव हुने सबै पदमा एमाले उम्मेदवार सर्वसहमत

  • शनिबार, कार्तिक २४, २०८१
उपचुनाव हुने सबै पदमा एमाले उम्मेदवार सर्वसहमत

आगामी १६ मंसिरमा हुने उपचुनावमा नेकपा एमालेका सबै उम्मेदवार सर्वसहमत भएका छन् ।

निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार उपचुनाव हुने ४२ वटै पदमा सर्वसहमत उम्मेदवार चयन भएका छन् । ‘सबै ठाउँको उम्मेदवार सर्वसहमतिबाट चयन गरेका छौं । केही ठाउँमा निर्णय हुन बाँकी भएपनि उम्मेदवार टुंगिसकेको छ’, आचार्यले भने ।

उनका अनुसार मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारबारे निर्णय हुन बाँकी छ । ‘यी दुवै ठाउँको निर्णय आउन बाँकी छ । तर नेताहरुले सर्वसहमति जुटिसकेको जानकारी दिनुभएकाले भोलिसम्म निर्णय हुन्छ’ आचार्यले भने ।

एमालेले शनिबार बोलाएको सचिवालय बैठकबाट उपचुनावका उम्मेदवार टुंग्याउदैछ । तर तल्लो कमिटीबाट सर्वसहमतिबाट नाम आएकाले सचिवालयबाट उम्मेदवारहरु अनुमोदन मात्र हुने नेताहरु बताउँछन् ।

उपचुनावका लागि काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर उम्मेदवार बनेको सूचना सार्वजनिक भइसकेको छ । मानन्धरको उम्मेदवारीबारे नगर कमिटी र जिल्ला कमिटीले सर्वसहमति गरिसकेको छ ।

मानन्धरकै जस्तोगरी पालिका र जिल्ला कमिटीबाट अरु उम्मेदवारहरु पनि टुंगिएको आचार्यले बताए । उनका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् ।

यस्तै जाजरकोट नलसिंगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहरा र बाजुरा स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बुढाको नाम टुंगिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उम्मेदवार जाना शाही र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ ।

पालिका पदाधिकारीहरुसँगै ३४ जना वडाध्यक्षको उम्मेदवार पनि टुंगिएको छ । उनीहरुको नाम पालिका कमिटीले सर्वसहमति गरेको हो ।

सर्वसहमतिबाट आएको नामलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गर्ने तयारी छ । उपचुनावका लागि आगामी २ मंसिरमा मनोनयन दर्ता हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार