सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • फुटबल
  • भारतविरुद्ध नेपालको असली परीक्षा

भारतविरुद्ध नेपालको असली परीक्षा

  • आइतवार, कार्तिक ११, २०८१
भारतविरुद्ध नेपालको असली परीक्षा

नेपाल र भारतबीच हेड टु हेडको कुरा गर्दा अहिलेसम्म १७ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले २ खेल मात्र जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो तर भारत विरुद्धको पछिल्ला तीन खेलमा भने नेपाल अपराजित छ ।

११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र सर्वाधिक ५ पटकको च्याम्पियन भारतबीच प्रतिस्पर्धा हुनेछ ।

अपेक्षा अनुसार नै नेपाल, भारत र बंगलादेश सेमिफाइनल पुग्यो । सेमिफाइनल पुग्ने अर्को टोली भुटान बन्यो । तर समूह चरणका खेल यस पटक केही फरक बन्यो । भारत र बंगलादेशलाई पाकिस्तानले टक्कर दियो भने नेपालको समूह्यमा भुटानले यस पटक गज्जबको प्रदर्शन गर्‍यो ।

अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । सेमिफाइनल कुन टिमले त्यो अपराजित यात्रा कायम राख्ला त्यो भने हेर्न लायक हुनेछ ।

नेपाल भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो ।

नेपाल भर्सेस भारत

घरेलु टोली नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

नेपाल आफ्नो समूहमा २ जित १ बराबरी नतिजा निकाल्दै अपराजित रह्यो । नेपाल र भुटानले समान ७ अंक जोडे पनि गोलअन्तरमा अघि रहँदै नेपाल समूह विजेता बनेको हो ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । उता तीन टिम सहभागी समूहमा भारतले एक जित र एक हारको नतिजा निकाल्यो । पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले पराजित गरेको भारत दोस्रो खेलमा साविक विजेता बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

नेपालका लागि रेखा पौडेलले अहिलेसम्म सर्वाधिक ७ गोल गरेकी छन् । उनले माल्दिभ्स विरुद्ध ५ गोल गरेकी थिइन् । भुटानकी देकी लाजोम र रेखा समान ७ गोलसहित सर्वाधिक गोल गर्नेमा अगाडि छन् ।

नेपाल र भारतबीच हेड टु हेडको कुरा गर्दा अहिलेसम्म १७ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले २ खेल मात्र जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो । तर भारत विरुद्धको पछिल्ला तीन खेलमा भने नेपाल अपराजित छ ।

नेपालले सन् २०२२ मा चेन्नाईमा भएको दुई मैत्रीपूर्ण खेलमा भारतलाई बराबरीमा रोकेको थियो भने २०२२ मा काठमाडौंमै भएको साफ सेमिफाइनलमा भारतलाई १-० ले पराजित गरेको थियो । साफमा नेपालले भारतलाई हराएको त्यो अहिले पहिलो पटक हो । पछिल्ला खेलहरु हेर्दा नेपाल भारतसँग डराउनुपर्ने अवस्था भने छैन ।

यस्तै टिमको प्रदर्शन हेर्दा पनि भारतभन्दा नेपाल अघि छ । नेपालले पछिल्लो पाँच खेल मध्ये एक खेल मात्र गुमाएको छ । फेब्रुअरीमा भएको वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यसअघि नेपालले समूह चरण र सेमिफाइनलमा सबै खेल जितेको थियो । जारी साफमा नेपाल समूह चरणको तीतवटै खेलमा क्लिनसिट राख्दै अपराजित रहन सफल रह्यो ।

भारतले भने पछिल्लो पाँच खेलमा जम्मा १ खेल मात्रै जितेको छ भने २ खेलमा हार व्यहोरेको छ र २ खेल बराबरी खेलेको छ ।

नेपालले जारी साफमा पाकिस्तानलाई हराउनुअघि मेदेखि जुलाईसम्म चार मैत्रीपूर्ण खेल खेलेको थियो । उज्वेकिस्तानसँगको दुई मैत्रीपूर्ण खेलमा एक हार व्यहोरेको भारतले अर्को खेल बराबरी खेलेको थियो । जुलाईमा भएको म्यानमार विरुद्धको दुई मैत्रीपूर्ण खेलमा पनि भारतले एकमा हार व्यहोर्दा एक खेल बराबरी खेलेको थियो । भारतले पाँच खेलको जितविहीन यात्रा तोड्दै साफमा पाकिस्तानविरुद्ध जित निकालेको थियो । त्यसपछि अर्को खेलमा बंगलादेशसँग पराजित भयो ।

पछिल्लो साफको सेमिफाइनलमै भारतलाई हराएकाले नेपालको मनोबल उच्च छ । त्यो खेलमा रश्मी कुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् ।

युरोपमा लिग खेलिरहेकी सावित्रा भण्डारी (साम्बा) र युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स लिग खेलेर आएकी रेखा पौडेलको आगमनले नेपाली टोली यी दुई खेलाडीमाथि बढी निर्भर छ । कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपालको डिफेन्सलाइन सम्हाल्ने छिन् ।

डिफेण्डर हिरा कुमारी भुजेल घाइते भएपछि नेपालले पछिल्लो दुई खेलमा ३ डिफेन्स मैदानमा उतारेको थियो । भारत विरुद्ध फर्मेसनमा परिवर्तन हुने सम्भावना छ । मिडफिल्डमा रेनुका नगरकोटी सरु लिम्बु सबिता राना मगर र प्रीति राई छन् । फरवार्डमा सावित्रा र रेखालाई अमिसा कार्की र रश्मी घिसिङ छन् ।

भारतीय टिम

भारतीय टिम यस पटक पहिलाभन्दा केही फरक छ । भेट्रान फरवार्ड बाला देवीले यसपटक साफमा पुनरागमन गरिन् । उनले पाकिस्तान विरुद्ध आफ्नो ५०औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् । कप्तान अशालता देवीले पनि भारतका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्दै कीर्तिमान बनाइन् ।

भारतको फरवार्डमा बालासँगै डाङमेइ ग्रेस मनिषा कल्यान जस्ता खेलाडी छन् । कप्तान अशलताको नेतृत्वमा डिफेन्स लाइन हुनेछ जसमा डालिमा छिब्बर पनि हुनेछिन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन् । ‘हामी भारत भनेर आत्तिने छैनौँ । सेमिफाइनलमा भारतलाई जित्दै फाइनल पुग्ने लक्ष्य छ,’ समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराएपछि तामाङले भनेका थिए ।

उता भारतीय टिमका मुख्य प्रशिक्षक सन्तोष कश्यपले पनि समूहको अन्तिम खेलमा बंगलादेशसँग पराजित भए पनि आफूले केही परीक्षण गरेकाले चिन्ता नभएको बताएका थिए । उनले घरेलु टिम नेपाल विरुद्ध सेमिफाइनल खेल्नुपरे चुनौती हुने बताउँदै त्यसका लागि तयार रहेको बताएका थिए । ‘घरेलु टोली नेपालसँग उसैको मैदानमा खेल्दा चुनौती त हुनेछ नै । दर्शक पनि धेरै हुनेछन् । तर हामी विश्वस्त छौँ कि हामी फाइनल पुग्दै उपाधि जित्ने प्रयास गर्नेछौँ,’ कश्यपले भनेका छन् ।

उनले विगतमा भारतले नेपाललाई पाँच पटक हराए पनि त्यसले अहिले असर नगर्ने बताए ।

नेपालले सेमिफाइनलमा तुलनात्मक रुपमा कमजोर टिमसँग खेलेकाले अब वास्तविक परीक्षा आज भारतसँग हुनेछ । नेपालका लागि भारत विरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । केही खेलाडीको चोटका कारण नेपालको पूर्ण टोली हुने छैन ।

भुटान विरुद्ध पहिलो खेलमा घाइते भएका हिरा भुजेल र दीपा शाही साफ च्याम्पियनसिपबाट बाहिरिसकेका छन् ।दुवैले बाँकी खेल गुमाए । पहिलो खेल खेलेकी पुजा राना पनि पूर्ण फिट छैनन् । समिक्षा घिमिरेले पनि चोटका कारण खेल्न सकेका छैनन् ।

उता भारतले भने समूहको अन्तिम खेलमा बंगलादेश विरुद्ध पराजित भए पनि परीक्षण गरेको थियो र नेपालले भन्दा धेरै दिन आराम समेत पायो ।

बंगलादेश भर्सेस भुटान

बंगलादेश समूह ए को विजेता तथा भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । दुवै टोली अहिलेसम्म अपराजित नै छन् ।

साविक विजेता बंगलादेशले तीन टिम रहेको समूह ए मा एक जित र एक बराबरी नतिजा निकाल्दै ४ अंक जोड्यो । पहिलो खेलमा पाकिस्तानसँग सुरुवातमै पछि पर्दा हार नजिक पुगेको बंगलादेशले इन्जुरी टाइममा खेल बराबरी गरेको थियो ।

दोस्रो खेलमा भने बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै पाँच पटकको विजेता भारतलाई ३-१ ले हराएर साविक विजेताको शैली देखाएको थियो ।

उता भुटानले पहिलो खेलमै घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोक्दै राम्रो सुरुवात गरेको थियो । त्यसपछि श्रीलंकालाई ४-१ र माल्दिभ्सलाई १३-० ले हराएर भुटानले नेपाल समान ७ अंक जोडेको थियो । तर गोल अन्तरमा पछि पर्दै भुटान समूह उपविजेता बनेको हो ।

पछिल्लो पटक सन् २०२२ मा पनि यी दुई टोली सेमिफाइनलमा भिड्दा बंगलादेशले भुटानलाई सहजै ८-० ले पराजित गरेको थियो । तर यस पटक भुटान लयमा छ र महिला फुटबलमा सुधार गरिरहेको छ ।

घरेलु टोली नेपाललाई नै बराबरीमा रोकेको भुटानको मनोबल उच्च छ र त्यो लय कायम राख्दै बंगलादेश विरुद्ध नतिजा ल्याउने लक्ष्यमा हुनेछ ।

भुटानका विदेशी प्रशिक्षक निकोला डेमाइनले पनि सेमिफाइनलमा बंगलादेश विरुद्ध खेल्दा केही सहज हुने बताएका थिए ।

यस्तै बंगलादेश भारतलाई हराएपछि लयमा छ र लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ ।

बंगलादेश र भुटानबीच गत जुलाईमा दुई मैत्रीपूर्ण खेल भएको थियो । थिम्पुमा भएको दुवै खेल बंगलादेशले जितेको थियो । पहिलो खेल बंगलादेशले ५-१ ले जितेको थियो । दोस्रो खेलमा भुटानले सुधार गरेपनि बंगलादेश ४-२ ले विजयी भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार