सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • फुटबल
  • साफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै

साफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै

  • आइतवार, कार्तिक ११, २०८१
साफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै

काठमाडौं– काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ । यो खेल साढे ६ बजे सुरु हुनेछ ।

समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।

सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे । सेमिफाइनल कुन टिमले त्यो अपराजित यात्रा कायम राख्ला त्यो भने हेर्नलायक हुनेछ ।

नेपाल भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो ।

साविक विजेता बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस्तै घरेलु टोली नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

नेपाल र भुटानले आफ्नो समूहमा २ जित १ बराबरी नतिजा निकाल्दै अपराजित रह्यो । नेपाल र भुटानले समान ७ अंक जोडेपनि गोलअन्तरमा अघि रहँदै नेपाल समूह विजेता बनेको हो ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो ।

यस्तै समूह ए मा बंगलादेशले एक जित र एक बराबरीबाट ४ अंक जोड्यो । भारत एक जित र एक हारको नतिजा निकाल्दै ३ अंक जोडेर उपविजेता बन्यो । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ ले पराजित गरेको थियो ।

दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेश विरुद्ध निर्धारित ९० मिनेटसम्म अग्रता लिएपनि अतिरिक्त समयमा गोल खाएपछि खेल १-१ को बराबरीमा सकिएको थियो । बंगलादेशले हार टार्दै समूह चरणबाटै बाहिरिने सम्भावनालाई टारेको थियो । त्यसपछि बंगलादेशले भारतलाई ३-१ ले पराजित गर्दै समूह ए को विजेता बनेको हो ।

चर्चामा

सम्बन्धित समाचार