• होमपेज
  • अन्तर्राष्ट्रिय
  • कमला ह्यारिसले स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै भनिन् : अब पालो ट्रम्पको

कमला ह्यारिसले स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै भनिन् : अब पालो ट्रम्पको

  • आइतवार, अशोज २७, २०८१
कमला ह्यारिसले स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै भनिन् : अब पालो ट्रम्पको

अमेरिकी राष्ट्रपति चुनावको २३ दिनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । मेडिकल रिपोर्टमा ह्यारिस पूर्ण रुपमा स्वस्थ घोषित भएकी छन् । ट्रम्पको टिमले मेडिकल रिपोर्ट सार्वजनिक नगरी एक विज्ञप्ति मार्फत् ट्रम्प एकदमै स्वस्थ रहेको जानकारी दिएको सन्दर्भमा प्रतिस्पर्धी ह्यारिसले यस्तो चुनौती दिएकी हुन् ।

आफ्नो फिट्नेस रेकर्ड सार्वजनिक गर्दै ह्यारिसले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग उनको स्वास्थ्य रेकर्ड सार्वजनिक गर्न पनि माग गरेकी छन् । उनले भनिन्, ‘डोनाल्ड ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति बन्नका लागि योग्य छन् कि छैनन् भन्ने थाहा नपाओस् भन्ने चाहन्छन् ।’

अमेरिकी राष्ट्रपति चुनावका सन्दर्भमा गरिएका धेरै सर्वेक्षणहरूले कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखाएको छ । ट्रम्प आफूलाई स्वस्थ रहेको सन्देश दिन बाइडेनलाई गल्फ खेल्न चुनौती दिइरहेका छन् । कमलाको परिवारमा कोलोन क्यान्सरको इतिहासलाई छाडेर ह्वाइट हाउसले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति बन्न योग्य घोषणा गरेको छ । उनको डाक्टर जोसुवा सिमोन्सले कमला ह्यारिसको परिवारमा कोलोन क्यान्सरको इतिहास रहेको बताएका छन् ।

उनलाई केही कुरामा एलर्जी पनि छ । जसका कारण उनी नियमित रूपमा कोलोनोस्कोपी गराइरहेकी छिन् र आफ्नो ख्याल राख्छिन् । कमलाको मेडिकल रेकर्ड सार्वजनिक हुनेबित्तिकै उनको टिमले सामाजिक सञ्जाल एक्समा लेखेको थियो– अब पालो तपाइको डोनाल्ड ट्रम्प ।

यसअघि कमलाले पनि एक र्‍यालीमा ट्रम्पको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाउँदै भनेकी थिइन्, ‘उनी कहिलेकाहीँ हराउँछन् ।’ यसअघि जो बाइडेन प्रतिस्पर्धामा रहँदा ट्रम्पले उमेर र फिट्नेसको मुद्दालाई सर्वाधिक उठाएका थिए । उनले बाइडेनलाई राष्ट्रपति पदका लागि अयोग्य घोषित गर्ने गरेका थिए । अब कमला ह्यारिस सोही रणनीति पछ्याउँदै ट्रम्पलाई स्वास्थ्यका दृष्टिकोणले पनि अयोग्य रहेको पुष्टि गर्न चाहन्छिन् ।

चर्चामा

सम्बन्धित समाचार