बझाङ— गत साउन ४ मा श्रीलंकाको रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा महिला एसिया कप क्रिकेट चलिरहेको थियो । रंगशालादेखि प्रत्यक्ष प्रसारबाट विश्वभरका नेपाली दर्शकले उक्त खेल हेरिरहेका थिए । प्रतिस्पर्धामा थियो, नेपाल र यूएई ।
नेपाल १ सय १६ रनको लक्ष्यसहित मैदानमा उत्रियो । पहिलो विकेटका रूपमा नेपालले ३१औं बलमा सीता रानामगरलाई मात्र ७ रनमा गुमायो । रनरेट राम्रो भए पनि विकेट पतन भने निरन्तर भइरहेको थियो । सीतापछि माथिल्लो क्रमका ब्याटर कविता कुँवर (२), कप्तान इन्दु बर्मा (६), पूर्वकप्तान रुविना क्षेत्री (१०) सस्तैमा आउट भए ।
नेपालको जितका लागि ओपनर सम्झना खड्का एकमात्र भरोसा बाँकी थिइन् । उनले पाँच जनासँगको ‘पार्टनरसिप’ मा मात्र ४५ बलमा ७२ रनको नटआउट इनिङ्ग मात्र खेलिनन्, नेपाललाई २३ बल अगाडि नै जित दिलाइन् । खड्काले ३५ बलमा अर्धशतक पूरा गर्दै नेपाली महिला क्रिकेटमा पहिलो अर्धशतक बनाउने पहिलो खेलाडीसमेत भइन् । समग्रमा ११ चौका हानेकी सम्झनाले अन्तिम विजयी चौका हानेपछि नेपाले यूएईलाई ६ विकेटले जित्यो । जितको एकमात्र हकदार ‘प्लेअर अफ द म्याच’ उनै सम्झना भइन् ।
२०२३ मेमा टी–ट्वान्टी खेल्न मलेसिया भ्रमणमा जाँदा पहिलो पटक राष्ट्रिय टोलीमा छनोट भएकी सम्झनाले एक वर्षभित्रै नयाँ रेकर्ड राखेकी थिइन् । जबकि समग्र नेपालको महिला टिमलाई नै एसिया कपमा ५० रनको स्कोर माथि पुग्न संघर्ष गरिरहनुपरिरहेको बेला सम्झना एक्लैको ७२ रनको इनिङ्ग महत्त्वपूर्ण रह्यो । यसअघिका दुई संस्करणका ८ खेलमा पराजय भोगेको नेपालले ६ पटक ५० रनभन्दा कम स्कोरमा खुम्चिनु परेको थियो । खेलाडीका लागि व्यक्तिगत अर्धशतक त परको कुरा । यी सबै विगत बिर्साउँदै सम्झनाले गरेको विस्फोटक ब्याटिङले नेपाली प्रशंसकमाझ वाहवाही बटुल्यो ।
फरक स्वभावकी सम्झना खेलकुदमा सानैदेखि विशेष रुचि राख्थिन् । तर उनका केटी साथीहरूको खेलमा खासै रुचि हुँदैनथ्यो । तर सम्झना दाइ उमेरकाहरू सँगै भए पनि खेल्न कुद्थिन् । २०७० सालतिर बझाङमा क्रिकेट खेल भर्खर–भर्खर सुरु भएको थियो । उनी दाइहरू खेलिरहेको ठाउँमा पुग्थिन् । दाइहरूले पनि उनलाई अन्तिममा एक/दुई बल खेल्न दिन्थे । बाँकी समय अरूले खेलेको हेरेरै बिताउँथिन् । सम्झना १० कक्षामा पढ्दै थिइन् । एक दिन घरमाथिको स्कुलमा क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनोट हुने कार्यक्रमबारे थाहा पाएर हेर्न गइन् । छनोटकर्ताहरू बल ‘क्याच’ गर्न लगाउँथे । सहभागीहरू ‘क्याच’ गर्न असफल हुन्थे । ‘निकैबेर हेरें कसैले पनि सकेनन् । मलाई उकुसमुकुस भएर योभन्दा त म सक्छु भनेर कराएँ,’ सम्झनाले औपचारिक रूपमा बल समातेको पहिलो दिन सम्झँदै भनिन्, ‘उनीहरूले मलाई पालो दिए । नभन्दै मैले सबै बल ‘क्याच’ गरेर देखाएँ ।’
त्यही दिन उनलाई क्षेत्रीय प्रतियोगिता खेल्नका लागि छनोट गरियो । अब उनी अरूले खेलेको बल खोज्नेबाट आफैं खेल्ने भइसकेकी थिइन् । उनलाई टिम कप्तान बनाइयो । केही दिनको अभ्यासपछि बैतडीमा भएको प्रतियोगिता खेलेकी उनी उत्कृष्ट ब्याटर भइन् । क्षेत्र नं ६ को टिमबाट राष्ट्रिय प्रतियोगितामा खेल्न थालिन् । यसैबीच एसएलसी पास भएपछि स्थानीय जालपा माध्यमिक विद्यालयमा कृषि विज्ञानको प्रवेश परीक्षामा नाम निकालिन् । भर्नाको समयमा विद्यालय प्रशासनलाई उनको एउटा सर्त थियो, ‘पढाइको बीचमा पनि प्रतियोगिता भए क्रिकेट खेल्न पाउनुपर्छ ।’ तर विद्यालयले उनको सर्त स्विकारेन । उनले खेल नछोड्ने बरु कृषि विज्ञान नपढ्ने निर्णय लिइन् । यो निर्णयले उनको परिवार चिन्तामा पर्यो । आमाबुबा सम्झनाले पढेर जागिर गरोस् भन्ने चाहन्थे ।
‘छोराले खेलेर त हुँदैन । तिमी क्रिकेट मात्रै भनेर आफ्नो पढाइ र भविष्य नबिगार भनेर आमाबुबा भन्नुहुन्थ्यो,’ सम्झना भन्छिन्, ‘तर म भने सपना पनि क्रिकेट मात्रै देख्थे । मेरो सपना पूरा गर्न दिनुस् भनेर अनुरोध गर्थें ।’ यसैबीच नेपाल क्रिकेट संघ निलम्बनमा पर्यो । क्रिकेटका औपचारिक स्पर्धाहरू नहुने भएपछि सम्झना अनमि पढ्न दिपायल गइन् । अनमि पढ्दा पनि उनी सुदूरपश्चिममा हुने खेलहरूमा भने सहभागी भइरहिन् । २०७६ मा अनमि पास भएर आएपछि घरबाट जागिर खानुपर्ने दबाब झन् चर्को हुन थाल्यो । ‘मलाई क्रिकेटको लत लागिसकेको थियो । कुनै हालतमा छोड्न सक्ने अवस्थामा थिइनँ,’ सम्झना भन्छिन्, ‘दुई वर्ष मात्रै समय दिनुस् । त्यो अवधिमा राम्रो गर्न नसके म सधैंका लागि खेल्न छोडिदिन्छु भनेर आमालाई सम्झाएँ ।’
परिवारको समर्थन पाएपछि खेल अभ्यास गर्न धनगढीमा डेरा लिएर बसेकी सम्झना दिउँसो सिनियरसँग सिक्थिन् । राति सिलिङको पंखामा डोरीले बल बाँधेर ब्याटिङको अभ्यास गर्थिन् । ‘माथिल्लो तलामा मेरो कोठा थियो । घरबेटीहरू तल्लो तलामा बस्थे,’ रातभर खेल अभ्यास गर्दाको दिन सम्झँदै उनले भनिन्, ‘राति तिम्रो तलामा खुब डाङ्डुङ हुन्छ । के होला भनेर सोध्थे । मैले गरेको भन्ने थाहा पाए कोठाबाट निकाल्देलान् भनेर म थाहा छैन भनिदिन्थें ।’ अहोरात्र क्रिकेटको साधना गरेर क्षमता बनाएको भए पनि सम्झना खेलमा भने उचित स्थान पाउँदैन थिइन् । कोच र व्यवस्थापकहरू खेलाडी छनोटमा पक्षपात गर्थे । खेलको अन्तिममा सबै खेलाडी आउट भएपछि उनको पालो आउँथ्यो । कहिले त पालै आउँदैनथ्यो । क्षमता प्रदर्शन गर्न नपाउँदा घरमा आएर धेरै पटक रोएको सम्झना सुनाउँछिन् ।
२०७८ मा धनगढीमा भएको मुख्यमन्त्री कपमा अन्तिममा खेल्न दिए पनि उनले उत्कृष्ट प्रदर्शन गरिन् । ‘त्यो कुराले दबाब परेछ क्यारे । त्यसबेलादेखि मलाई ठाउँ दिन थाले,’ उनले भनिन् । खेलमा उनको समर्पण र मिहिनेत बढ्दै थियो । समाजमा पनि कुरा काट्नेहरू बढ्दै थिए । कतिपयले उनलाई क्रिकेट सिकाउन सहयोग गर्ने दाइहरूसँग नाम जोडर चरित्रमा औंला उठाउँथे । कतिपय घरबार गरेर बस्ने बेला बढेकी छोरीले खेलेर के हुन्छ ? भनेर घरमा कुरा लगाउँथे, तर सम्झनाले हिम्मत हारिनन् । उनी थप अभ्यासका लागि काठमाडौं गइन् । जडीबुटीमा कोठा लिएर कीर्तिपुरमा खेल अभ्यास गर्दा भोग्नुपरेको कष्ट सम्झँदा पनि उनको अनुहार अँध्यारो भयो । ‘दिनभर अभ्यास गरेर साँझ थकाइले धेरै दिन खाना नखाएरै पनि सुतेकी छु,’ उनले भनिन् ।
समाजले जे जस्तो कुरा गरे पनि क्रिकेटमा स्थापित हुने उनको दृढता टसमस भएको छैन । अहिले त परिवार मात्रै होइन आफन्तले पनि उनलाई साथ दिन थालेका छन् । ‘अहिले त टीका लगाउँदा पनि राम्रो खेल्नु भनेर आशीर्वाद दिनुहुन्छ । घरमा सबै खुसी हुनुहुन्छ,’ उनले भनिन् । अहिलेसम्म सम्झनाले नेपाली टोलीको तर्फबाट हङकङ, मलेसिया, भारतलगायत देशमा भएका खेलमा राम्रो प्रदर्शन गरिसकेकी छन् । महिला क्रिकेटमा विश्वकप खेल्ने अबको उनको लक्ष्य छ । पुरुष टोलीकै सरह महिला टोलीलाई अनुभवी प्रशिक्षक र अभ्यासको व्यवस्था हुने हो भने विश्वकपको सपना धेरै टाढा नभएको उनले बताइन् । ‘व्यवस्थापन राम्रो हुने हो भने नेपाली महिला टोलीले जुनसुकै खेलमा उत्कृष्ट प्रदर्शनगर्न सक्छ । अहिलेसम्म खेल्दा मैले साथीहरूमा त्यो उच्च आत्मविश्वास पाएकी छु,’ उनले भनिन् । कान्तिपुरबाट