• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • निकास नदिए राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री शाहको चेतावनी

निकास नदिए राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री शाहको चेतावनी

  • आइतवार, अशोज २०, २०८१
निकास नदिए राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री शाहको चेतावनी

धनगढी— सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघ सरकारले तत्काल प्रदेश राजधानीका बारेमा निकास नदिए प्रदेशसभाको आगामी अधिवेशनमा विकल्प खोज्न बाध्य हुने चेतावनी दिएका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा शनिबार धनगढीमा आयोजित प्रदेश विकास समस्या समाधान समिति बैठकमा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा राजधानीको सवाललाई संघ सरकारले अड्काइ राखेको बताए । ‘यसअघिका प्रधानमन्त्री प्रचण्ड र अन्य दलका शीर्ष नेताहरुलाई मैले पनि राजधानीका बारेमा निकास दिन लिखित र मौखिक अनुरोध गरेको थिए । सुनुवाइ भएन । अब फेरि अनुरोध गर्छु । भएन भए आगामी अधिवेशनमा उपयुक्त निर्णय गरेर अघि बढ्छु,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकालमै २०७५ असोज १२ गतेको बैठकमा दुई तिहाईको निर्णयबाट सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीको गोदावरी नगरपालिका-४ तेघरी गोदावरीमा निर्माण गर्ने निर्णय भएको थियो । तर निर्णय भएको ६ वर्ष बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेर अलपत्र अवस्थामा छ ।

तत्कालीन समयमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाले तोकेअनुसार आफ्नो प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी क्षेत्रको नाप–नक्सांकनसहित चार सय ४४ बिघा जग्गाको भोगाधिकार माग गर्दै ०७५ माघ महिनामै वन मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्रचार गरेको थियो ।

राजधानी तोक्ने क्षेत्राधिकार संविधानतः प्रदेशसभालाई रहेको स्मरण गराउँदै भोगाधिकार माग्ने क्रममा चार सय ४४ बिघामध्ये आवश्यक जमिनमात्र उपभोग गर्ने र बाँकी जंगल संरक्षण गर्ने भन्दै प्रदेश सरकारले वन मन्त्रालयलाई पत्राचार गरेको थियो । तर प्रदेश सरकारको उक्त प्रस्ताव संघ सरकारले वास्ता गरेन । तर संघीय सरकारले भोगाधिकारबारे कुनै टुंगो नलगाएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्न सकेन । ‘वन मन्त्रालयले भोगाधिकार नदिएकाले कार्यान्वयन अघि बढ्न सकेन,’ तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘हामीले भोगाधिकार प्राप्तिका लागि धेरै प्रयत्न गरेका थियौं । चार किल्लासहित मालपोत, नापी कार्यालयबाट समेत सबै कागजात पनि पठाएका थियौं । निर्णय नै नगरेपछि अड्कियो ।’ जग्गाको भोगाधिकारको फाइल प्रधानमन्त्री कार्यालय र वन मन्त्रालयमा अड्किएको उनले बताए ।

वनक्षेत्र मासिने भन्दै सुदूरपश्चिमको राजधानी गोदावरीमा राख्ने निर्णयविरुद्ध ०७५ सालमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । वन क्षेत्रमा राजधानी तोकिएको भन्दै प्रदेशसभाको निर्णयविरुद्ध सर्वोच अदालतमा मुद्दा परेको थियो । जैविकमार्ग मासेर प्रदेश राजधानी स्थापना गर्ने निर्णय गरिएको भन्दै मनिषकुमार श्रेष्ठ र देवीकुमारी जोशीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दा अहिले पनि विचाराधीन रहेको प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता टिकेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार दुवै पक्षको प्रारम्भिक बहसपछि अदालतले निर्णय कार्यान्वयनमा रोक लगाउन नपर्ने अन्तरिम आदेश दिएको थियो । त्यसपछि भने यो मुद्दामा थप बहस हुन सकेको छैन । उक्त मुद्दाको पेशी अहिलेसम्म थुप्रैपटक आएको तत्कालीन मुख्यन्यायाधिवक्ता कुलानन्द उपाध्याय बताउँछन् । ‘अदालतले स्टे अर्डर भने जारी गरेको होइन । अर्थात् मुद्दा परेकै कारण राजधानी कार्यान्वयनमा बाधा भएको होइन । भोगाधिकार नपाएकाले समस्या भएको हो ।’ कान्तिपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार