शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • २२ वर्षपछि धनबहादुरको जीवनमा फर्केको खुसी

२२ वर्षपछि धनबहादुरको जीवनमा फर्केको खुसी

  • शुक्रबार, अशोज १८, २०८१
२२ वर्षपछि धनबहादुरको जीवनमा फर्केको खुसी

बाजुरा– अछामको चौरपाटी गाउँपालिका-२ बस्ने धनबहादुर साउदको जीवनमा २२ वर्षपछि खुसी फर्किएको छ । जन्मजात पिसाबथैलीमा समस्या भएका कारण दुई दशकसम्म गन्हाउने जीउ लिएर पीडा र अपमान सहदै आएका धनबहादुरले उपचारपछि नयाँ जीवन पाएका छन् ।

उनी २२ वर्षदेखि गाउँमा उपचार नपाएर अलपत्र परेको जानकारी पाएपछि गाउँपालिकाको समन्वयमा बडिमालिका फाउन्डेसन नेपाल र मेडिकल पुनर्स्थापना केन्द्रको सहयोगमा ललितपुरको किस्ट मेडिकल कलेजमा उनको उपचार भएको हो ।

२ महिनाको उपचारपछि भर्खरै उनी अछाम फर्किएका छन् । उनले भने, ‘२२ वर्षसम्म पीडा बोकेर बाँचेको थिएँ । आफ्नै मान्छेले पनि बेवास्ता गरेका थिए । ठिक हुन्छु भनेर सोचेको पनि थिइनँ । तर, अहिले ठिक हुँदा धेरै खुसी छु ।’ उपचारपछि गाउँ आएका उनलाई चौरपाटी गाउँपालिकाले वडा नम्बर २ मा कार्यलय सहयोगीको जागिर दिएको छ । तत्काल मासिक १४ हजार तलब दिनेगरी पालिकाले जागिर दिएको गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले बताए ।

२२ वर्षसम्म उनले समाजमा रोग मात्रै पालेका थिएनन्, ठूलो अपमान पनि सहेका थिए । उपचारपछि उनलाई समाजमा सम्मान जनक बाँच्न सजिलो होस भनेर पालिकाले जागिर दिएको अध्यक्ष साउदको भनाइ छ । नाम धनबहादुर भएपनि उनीसँग धन थिएन । आर्थिक अभावमा उपचार तथा चेकजाँच गर्न सकेनन् । जन्मजात पिसाब थैली बाहिर देखिएर पिसाब चुहिने तथा त्यसबाट अन्य संक्रमण हुने समस्या थियो ।

शरीरमा पिसाब तथा घाउको गन्धले उनी अरू भएको ठाउँ जान सक्दैनथे, न उनीकहाँ अरू कोही आउन मान्थ्यो । जन्मेदेखि २२ वर्षसमम उनले यस्तो पीडा भोगे । गनाउने शरिर लिएर एक्लो जीवन बाँचे ।

सानो छदा उनी विद्यालयमा गए । तर, पिसाब चुहिने र गन्ध आउने भएकाले शिशु कक्षाबाटै विद्यालय छोडनु पर्‍यो । ३ वर्षको हुँदा आमा सारू साउदको पनि मृत्यु भयो । बाबु नरबहादुर साउद अर्को बिहे गरेर तराइमा बसे । त्यसपछि उनी काकाकाकी सँग बस्दै आएका थिए । काकाको पनि आर्थिक अवस्था राम्रो थिएन ।

तर, समयले उनलाई साथ दियो । गाउँपालिकाको समन्वयमा उनी काठमाडौं आए । किष्ट मेडिकल कलेजका प्लाष्टिक सर्जन सिनियर कन्सलटेन्ट प्रा.डा.सुरेन्द्र बस्नेतको टिमले उपचार गरेपछि उनको विगत बदलियो । डा.बस्नेतका अनुसार धनको उपचारमा १० लाख रुपैयाँभन्दा बढी खर्च लागेको छ ।

सरकारी अस्पतालमा यो खालको उपचार तथा अप्रेशन सम्भव पनि कम हुने उनले बताए । धनबहादुरले एक दुई वर्षसम्म उपचार नपाएको भए उनलाई क्यान्सर हुने सम्भावना रहेको अस्पतालको भनाइ छ । धनको उपचारमा १ लाख ५० हजार गाउँपालिकाले सहयोग गरेको थियो । बाँकी भने बडिमालिका फाउन्डेसन नेपाल, मेडिकल पुनर्स्थापना केन्द्र तथा अस्पतालले सहयोग गरेको छ ।

‘उनी समस्यामा परेको जानकारी पायौ, २२ वर्षसम्म यस्तो जीवन बाँचिरेको थाहा पाएपछि उनलाई उपचारमा हामीले सहयोग तथा समन्वय गर्‍यौ’ मेडिकल पुनस्र्थापना केन्द्रका अध्यक्ष सम्राट सिंह बस्नेतले भने । बस्नेतले भने, ‘अब उनी सामान्य मान्छेको जिन्दगी बाँच्न सक्छन् ।’

चर्चामा

सम्बन्धित समाचार