बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • शिक्षा
  • बाढीपहिरोले एक सयभन्दा बढी विद्यालयमा क्षति

बाढीपहिरोले एक सयभन्दा बढी विद्यालयमा क्षति

  • बिहिबार, अशोज १७, २०८१
बाढीपहिरोले एक सयभन्दा बढी विद्यालयमा क्षति

काठमाडौँ — देशभर बाढी पहिरोले एक सयभन्दा बढी विद्यालयमा क्षति पुगेको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाअनुसार एक सय १५ वटा विद्यालयमा पूर्ण र आंशिक रुपमा क्षति भएको विवरण प्राप्त भएको हो ।

मन्त्रालयका सूचना अधिकारी नायराण पोखरेलले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहसँग समन्वय गरि क्षतिको विवरण संकलन भईरहेको जनाए ।

‘क्षतिका विवरण प्राप्त भईरहेका छन्,’ उनले भने, ‘सबै विवरणलाई एकीकृत गर्ने काम भईरहेको छ ।, अहिले सम्म एक सय १५ भन्दा बढी विद्यालयमा क्षति पुगेको तथ्यांक आएको छ ।’

मन्त्रालयले प्राप्त क्षतिको विवरण ४ दिनदेखि दैनिक रुपमा सार्वजनिक गर्दै आएको छ । क्षति पुगेका विद्यालयका विवरण यकिन भएपछि कक्षाकोठा, शौचालय, खानेपानी, खेलमैदान लगायत पूर्वाधारमा पुगेको क्षतिको लगत समेत संकलन गरिने पोखरेलले जनाए ।

बाढी पहिरोबाट धेरै क्षति भएका जिल्लाहरुका शिक्षणसंस्थामा नै बढि प्रभावित भएको पाईएको मन्त्रालयले जनाएको छ । काभ्रे र ललितपुर जिल्लाका विद्यालयमा बढी क्षति भएको छ । पहाडी र हिमाली जिल्लाका धेरै विद्यालयमा पहिरोको जोखिममा परेका छन भने मधेस प्रदेशका अधिकाश विद्यालय डुवानमा परेका हुन् ।

काठमाडौं उपत्यकामा नदी र खोला आसपासका विद्यालय पनि डुबानमा परेका थिए । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार तेह्रथुम, ललितपुर, मकवानपुर, काठमाडौं, भक्तपुर, चितवन, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, तनहुँ, गुल्मी, हुम्ला, जाजरकोट, सुर्खेत, सप्तरी, सिराहा, सर्लाही, पर्सा लगायतका जिल्लाका विद्यालय बाढी, पहिरोबाट प्रभावित भएका छन् । यी जिल्लाका विद्यालयहरुमा पूर्ण तथा आंशिक क्षति पुगेको हो ।

काभ्रेको रोशी र बेथानचोक गाउँपालिकासहित पनौती नगरपालिकाका विद्यालयहरुमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ । काभ्रेको ज्ञानज्योति प्रावि भवनमा पहिरोले क्षति गरेको छ ।

कालिका माविका २ वटा भवन र शौचालय बाढीले बगाएको, सीता प्रावि कम्पाउण्ड वाला र कक्षाकोठामा क्षति, वालहित प्रावि कक्षाकोठा र घेराबारमा क्षति पुगेको छ । त्यस्तै देवीश्वरी प्रावि बाढिले पुरेको, अमरनाथ प्रावि कम्पाण्ड कटान, मंगल जनविजय मावि गेट र कम्पाउण्डमा बाढी पसेर बगाएको, पञ्चकन्या माविमा बाढी पसेको, शान्तिबुद्ध प्रावि, ज्वालादेवी प्रावि खोला कटानका कारण जोखिममा परेको छ । भिमेश्रवर मावि पर्खालमा क्षति विद्या विकास प्रावि कक्षाकोठा पुरिएको, महाभारत प्रावि विद्यालय कम्पाण्ड बगाएको जनाईएको छ ।

ललितपुरको बागेश्वरी आधारभूत विद्यालयको एउटा भवन पहिरोले भत्किएको र अर्का भवनमा क्षति पुगेको, जनविकास माविको सभाहल, कक्षाकोठा र मैदानमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

बुद्ध माविमा बाढी पसेर कक्षाकोठामा क्षति, पथप्रर्दशक माविमा पहिरो गएर जोखिमा परेको, सरस्वती आधारभुत विद्यालय पहिरोको जोखिममा, नवज्योति मावि पर्खाल र भवनमा क्षति, नवज्योति मावि, भिमशेन आर्दश मावि र गणेश आधारभूत विद्यालय जोखिम परेको छ ।

बुद्ध माविमा पहिरोको कारण कक्षाकोठामा क्षति, उदयखर्क मावि भवन र खानेपानी टंयाकी पहिरोको जोखिममा परेको छ ।

रसुवाको ज्ञानज्योति माविको पर्खाल भत्किनुका साथै भवन र शौचालय जोखिममा परेका छन् । ललितपुरमा क्षति पुगेका अधिकांश गोदावरी नगरपालिकाका विद्यालय हुन् ।

ललितपुर महानगरपालिकाको आदर्श कन्या माविको छतमा क्षति, बखेल कुमारी आधारभुत विद्यालय जोखिममा परेको छ । त्यस्तै लिटिल एन्जेल्स स्कुल, आइजे पायोनियर स्कुल, जेम्स स्कुल, नाइटिङगेल स्कुल, सुदेश स्कुल, ग्रेस एकेडमी, चाँदनी एकेडमी, रेडियन्ट स्कुल डुबानमा परेको छ ।

रसुवा माविको पर्खाल भत्किएको छ । सिन्धुली सुनकोशी गाउँपालिकाको पशुपति आधारभुत विद्यालयको भवन पुरिएको छ । सिन्धुलीको पशुपति अधारभुत विद्यालयका १७ जना फरक क्षमताका विद्यार्थीको गाउँपालिकाले उद्धार गरेको छ ।

सिन्धुलीकै महादेव गुरुकुल बाढी, पहिरोबाट प्रभावित बनेपछि ३३ जना शिक्षक विद्यार्थीलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थलमा सारेको थियो । तेह्रथुमको महाकाली माविको ४ कोठे भवन भत्किएको विवरण छ ।

मकवापुरको राजदेवी अधारभुत विद्यालयको भवन र शौचलय पहिरोले बगाएको, वनदेवी विद्यालयको पर्खाल भत्किएको, ऋषेश्वर विद्यालयको २ वटा कक्षाकोठा पहिरोले पुरिएको विवरणमा उल्लेख छ । हुम्लाको कैलाश आधारभुत विद्यालयको एकातर्फ भित्ता भत्किएको, जाजरकोटको भैरव बालविकास विद्यालयको ३ कक्षाकोठा भत्किएको, पाँचधरको लुम्फावुङग माध्यमिक विद्यालयको पर्खाल पहिरोले भत्किएर जोखिममा परेको छ ।

सिराहा, सर्लाही, सप्तरी र पर्साका ४२ वटा विद्यालय डुबानमा परेको छन् । तनहुँस्थित पवित्रा माविमा मैदान र चमेना गृहमा क्षति, सेतीगंगा आधारभुत विद्यालयको खेल मैदानमा पहिरोले क्षति, चन्द्रदोय माविको खेलमैदान भासिएको छ ।

धादिङको महाकाली किसान मावि शौचलाय र भवन पहिरोको जोखिममा परेको छ । गुल्मीको जनज्योति माविको छात्रा शौचालयमा क्षति पुगेको छ ।

वर्षात पछिको बाढी पहिरोका कारण शिक्षा मन्त्रालयले गत आईतबार देखि ३ दिनसम्म विद्यालय बन्द गर्न स्थानीय तहहरुलाई आग्रह गरेको थियो । त्यसपछि सञ्चालनमा आएका विद्यालयहरु बुधबारदेखि दसैं बिदाका कारण बन्द भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार