बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • अनन्त्यामा निम्तो

अनन्त्यामा निम्तो

  • बुधबार, अशोज २, २०८१
अनन्त्यामा निम्तो

सुदुरपश्चिम तथा कर्णाली क्षेत्रका अधिकांश पहाडी मुलबासीले कुल देवता मष्टोलाई मान्दछन् । यो खस सभ्यताको मुख्य परम्परा र नेपालकै रैथाने संस्कृति मध्ये पश्चिम क्षेत्रको महत्त्वपुर्ण संस्कृति हो । मष्टो परम्पराको प्रभाव खसान क्षेत्रको साँस्कृतिक चाडपर्व तथा जीजवनशैली समेतमा परेको देखिन्छ । यस क्षेत्रमा मनाईने अधिकाश चाडपर्वहरुको सरुवात मष्टोको उत्पत्ति र स्तुतिबाट हुने गरेका छन् । धेरै यस्ता पर्वमध्ये मार्तडी लगाएतका क्षेत्रमा मनाईने अनन्त्या पनि एक हो ।

निराकार परम शक्तिको स्रोत मष्टाको स्तुतिगाथाबाट प्रारम्भ हुने अनन्त्य बाजुराको तल्लो भेग मार्तडी, बार्हबिस, कैलाशमाण्डौँ, तोली, डोगडी, जुगाडा लगाएतका क्षेत्रमा भव्यताका साथ तिन दिनसम्म मनाईने गरिन्छ । द्धन्द्धको बेला देखि कतियप क्षेत्रमा यो पर्व मनाउनै छोडिसकेको देखिन्छ तर मार्तडीमा यसलाई दशैँ भन्दा पनि विषेश महत्व दिइ मनाइने गरिन्छ । सुदुरपश्चिमको बाजुरामा मात्र अनन्त्य मनाइने गरेको पाइन्छ । अनन्त चतुर्दशीको पछिल्लो दिन इन्द्र जात्रा दिन (पुर्णीमा , यसपाली असोज २ गते) बाट सुरु हुने अनन्त्या ३ दिनसम्म मनाइन्छ ।

अनन्त्य सामुहिक खेल हो जहाँ खेलाडीहरुले मिजुरा (एक प्रकारको बाजा) बजाइ निश्चित पाइलामा गोल आकारमा खेल्ने गरिन्छ । यस खेलमा एकजना मुख्य मंग्ल्यारु (मागल भन्ने मान्छे) ले मागल भन्ने र अरु सहभागीले सोहि मागल गाउने गरिन्छ । परम्परा अनुसार सबै खेलाडीहरुले दौरासुरुवाल लगाइ खेल्ने गरिन्छ । यो बडीमालिका नगरपालिका बडा न ८ अनन्ते गडामा खेलिन्छ । अनन्त्यमा ग्रामीण मानविय जिवनका परिवेश तथा तत्कालिन सामाजिक परिस्थितिलाइ मागलद्धारा वर्णन गरिएको पाइन्छ । यिनै अन्त्यहिन सन्दर्भ र परिवेशहरुलाइ मागलको माध्यमबाट लयबद्ध रुपमा व्यक्त गरिने भएकाले यसलाइ अनन्त्या भन्ने गरिएको यहाँका मंग्ल्यारुहरु को मत रहेको छ ।

अनन्त्यमा व्यक्त गरिने मागलहरुमा हिन्दुशास्त्रका छोटा परिवेशको चित्रण देखि घरायसी सन्दर्भको व्याख्या, गोर्खालीहरुका युद्ध विरताका गाथाको समिश्रणसम्म भेटिन्छ । स्थान विषेश अनन्त्यका मागलहरुमा केहि फरकपन समेत भेटिन्छ । विषेशत: एकै प्रकारका मागलहरुको गायन लयमा अझ बढी फरकपन भेटिन्छ । बाजुराको मध्ये क्षेत्रका अनन्त्यका मागलहरुले खस साम्राज्यको शासन परिवेशलाइ व्याख्या गरेका छन् भने तल्लो क्षेत्रका अनन्त्यका मागलहरुमा रैकाहरुको शासनकालको परिवेश चित्रण गरेको पाइन्छ ।

अनन्त्यमा तत्कालिन राजाले आफ्नो शासन र सुरक्षाका मुताबिक लड्नु परेका युद्धमा पैकेलाहरु (युद्धमा सामेल हुने युवा) को छनोट र जातृतिका लागि निर्देशन दिएका कुराहरु व्यक्त गरिएका छन् । यस्तै माईत जान नपाएकी चेलीले व्यक्त गर्ने वेदनालाइ अनन्त्यका मागलहरुमा मार्मीक ढंगबाट व्यक्त गरिन्छ । चेलीले माइत जान नपाउँदा पोईली घरमा काल्पनिक पात्रसंग गरेका वार्तालापहरु अनन्त्याका मागलमा समेटिएका छन् । परदेश जाँदा श्रीमतीले घरमा भोग्ने पिडालाइ पनि मागलहरुद्धारा व्यक्त गरिन्छन् । यस्ता थुप्रै सन्दर्भहरु अनन्त्याका मागलहरुमा भेटिन्छन् ।

तिन दिनसम्म खेल्ने क्रममा विविध सन्दर्भ र विषयवस्तुका मागल ढुस्का मिसाइ गाइने गरिन्छ । अनन्त्याका बेला गाइने सन्दर्भसहितका मागलहरुको सरुवात हुनु अगाडी तथा दुइ मागको बिचमा विभिन्न सन्दर्भ भएका साना र छोटा मागलहरु गाइने गरिन्छ, जसलाइ अनन्त्याको भाषामा ढुस्का भनिन्छ । यी ढुस्काहरुले फरक सन्दर्भका मागलहरुलाइ जोड्ने कार्य गर्दछन् । खेलमा ढुस्काहरुले दुइवटा मागलरुको सन्दर्भलाइ जोड्नुको साथै भाका, लय, पाइला र मिजुरा मिलाउन समेत सहयोग गर्दछन् । ढुस्काहरु गाँउदा प्राय सबै खेलाडीहरु बिना चाल उभिएर गाइने गरिन्छ । ढुस्काहरु समेत ठाँउ अनुसार फरक फरक पाइन्छन् । अनन्त्या मनाउने कुनै ठाँउमा एक किसिमका र अर्को ठाँउमा अर्कै किसिमका ढुस्काहरुले दुइवटा मागलहरुलाइ जोड्ने गरिन्छ ।

अनन्त्याको पहिलो दिनमा मष्टा लगायतका देवीदेवताहरुलाई मागल मार्फत नै फुलमाला चढाइ प्रारम्भ हुन्छ भने अन्तिम दिनको अन्तिम मागलमा सबै देविदेवता, रम्त्यारु (जात्रा हेर्ने मानिस), भद्रभलाद्मी, ठालु, बुड्याउडीलाइ धन्यवाद प्रकट गरि खेल समापन गर्ने चलन रहेको छ । धेरै मौलिक शब्दहरु मागलहरुमा भेटिन्छन जसलाई मागलको प्रशंग र सन्दर्भसंग जोडेर मात्र अर्थ्याउन सकिन्छ । यहाँ धन्यवाद तथा आभार प्रकट गर्ने सन्दर्भमा बैसाभु हौसिया भन्ने शब्दको प्रयोग गरिन्छ । सबैलाइ बैसाभु हौसिया गरी अब हामी घर फर्किन्छौ हाम्रा घरमा बुवा, आमा, दाजु, भाउजु लगाएतले बाटो हेरिरहेका होलान हामीलाइ बिदा दिदुहोस् भन्ने भाव सहितका मागलहरु अन्तिम दिनमा गाइन्छन् । अनन्त्याको अवसरमा हरेक दिनको अनन्त्या संगै देउडा र जिउनापुरी समेत खेल्ने गरिन्छ ।

अनन्त्या सामाजिक मिलनको पर्व हो । यसले बर्ष भरी भेट नभएका आफन्तजन मिलन हुने अवसर जुराइदिन्छ र उनीहरु बिच भलाकुसारी हुन्छ । अनन्त्याले यस क्षेत्रको आर्थिक गतिविधिलाइ चलायमान बनाउन योगदान गर्दछ भने मौलिक पर्व भएकाले यस क्षेत्रको पहिचानको रुपमा समेत विकास गर्न सकिन्छ । यस्ता मौलिक परम्पराको माध्यमबाट नै पर्व पर्यटन (Festival Tourism) को सुरुवात गर्न सकिन्छ । जसका लागि स्थानिय सरकार र सरोकारवालाको महत्त्वपुर्ण भुमिका रहनुपर्दछ ।

पर्वको बेलाको व्यवस्थापन मात्रैले मौलिकताहरुको संरक्षण र प्रवर्द्धनका लागि प्रयाप्त नहुन सक्छ । यसका लागि सरोकारवालाको अविछिन्न प्रयास आवश्यक हुन्छ । हामीले हाम्रा पर्व परम्पराको गहिराइ बुझ्न र बुझाउन सके मात्र भावी पुस्ताहरु यस्ता परम्परा प्रति गम्भिर बन्दछन् नत्र उनीहरु आधुनिकताको वेगमा समाहित दुँदै जाँदा सबै मौलिकताहरु नासिदै जाने खतरा हुन्छ ।

यहाँहरु सबैलाई अनन्त्यमा निम्तो !

चर्चामा

सम्बन्धित समाचार