बाजुरा— बाजुरा जिल्ला अस्पतालमा सञ्चालन भएको फिजियोथेरापी सेवामा बिरामीको चाप बढ्दै गएको छ । २०८० पुष महिनाबाट ३ बर्षसम्मका लागि एचआरसी बाजुराद्धारा सञ्चालित एई परियोजनाको सहयोगमा सुरु भएको फिजियोथेरापी सेवामा स्थानीयको आकर्षण बढ्न थालेको छ ।
फिजियोथेरापी सम्बन्धी समस्या हुँदा लाखौं रुपैयाँ तिरेर उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्यसँगै नसा सम्बन्धी समस्या भएपछि दुई महिनादेखि जिल्लामै उपचार गराइरहेको बडिमालिका नगरपालिका ७ कि खन्टी ल्वारले बताइन् । फिजियोथेरापी सम्बन्धी समस्या भएका मध्ये जिल्लामा उपचार सम्भव नहुने बिरामीलाई एचआरसी बाजुराले यातायात खर्च समेत सहयोग गर्ने गरेको जनाएको छ ।
जिल्ला अस्पतामा सञ्चालित फिजियोथेरापीमा कार्यरत फिजियोथेरापीस्ट मदन बहादुर साउँदका अनुसार सुरु भएदेखि आर्थिक बर्ष २०८०।८१ मा २ सय ८३ जनाको उपचार गरिएको छ । त्यस्तै चालु आवको हालसम्म ९२ जनाको फिजियोथेरापी सेवाबाट उपचार भएको उनले बताएका छन् । उनका अनुसार सो अवधिमा ७ जनाको बाहिर रेफर गरिएको छ भने ५ जना करिब २ महिनादेखि निरन्तर उपचार गराइरहेको छ ।
हाल बाजुरा जिल्लाका सबै पालिकाबाट दैनिक कम्तिमा ५।६ जना उपचारका लागि आउने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए । जिल्लामा पहिलोपटक फिजियोथेरापी सेवा सुरु भएको करिब एक बर्षको अवधिमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको चिकित्सकहरुले बताउने गरेका छन् ।
जिल्ला अस्पताल आसपास तथा फिजियोथेरापी सम्बन्धी बुझेकाहरु उपचारका लागि आउने गरेको भएपनि कतिपय गाउँका स्थानीय चेतनाको अभावले महंगो शुल्क तिरेर उपचारका लागि बाहिर विभिन्न सहरहरुमा जानुपर्ने बाध्यता रहदैँ आएको छ ।
दुर्गम जिल्लामा विभिन्न समस्याकाबिच पनि गुणस्तरिय तथा भरपर्दो सेवा दिदै आएको जिल्ला अस्पताल बाजुरामा फिजियोथेरापी सेवा सुरु भएसंगै लाखौं रुपैयाँ तिरेर जिल्लाबाट बाहिर गएर उपचार गर्नुपर्ने बाध्यता हटेको छ । फिजियोथेरापी सेवाबाट ढाड, कम्मर, गर्दन दुख्ने समस्या,हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछि जाम तथा विकृत हुने लगायतका समस्या भएका बिरामीहरुको उपचार हुदै आएको छ ।