समुन्द्री सतहभन्दा ३८०० – ४२०० मिटर उचाईमा रहेको वृहत्त बडीमालिका क्षेत्र २२ घांसे फांट (पाटन) र अग्लो भुभागमा फैलिएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले प्रख्यात यो पावनभुमीको सुन्दरता विस्तारै मासिदै गइरहेको धेरैको गुनासो छ । विस १७८० देखि मालिकामा सरकारी पूजा हुँदै आएकोले यसको एतिहासिक र धार्मिक पक्ष विशाल छ । यो विषय विद्वानवर्गलाई सुम्पिदिउ । हामी सबै प्रकारका पर्यटनबाट आर्थिक सम्बृद्धि संभव छ भन्ने पाटोमा छलफल गरौं र यसको तयारी के हुन सक्छ तर्फ केन्द्रित हुन्छौं । यस बर्ष बडीमालिकामा करीब २० हजारले तीर्थाटन र भ्रमण गरेको श्रोतको दाबी छ । भ्रमणकर्ताको तर्फबाट होटल, यातायात, कपडा/ किरानादेखि लिएर पूजा सामाग्री व्यवसायीलाई केहिहदसम्म लाभ मिलेको छ भने प्याकेज टुर व्यवसायीले पनि राम्रै बजार लिइरहेको छ ।
पर्यटकहरु बडीमालिका भ्रमणमा जानेक्रम अहिले पनि जारी रहेको छ । त्रिवेणी-मालिका क्षेत्रका अस्थायी होटल व्यवसायीहरुले पनि घर खर्च जुटाएको हुनुपर्छ । यसबर्ष नाटेश्वरीमा २३७ बोका चढाईएको छ र औषतमा १३ हजारका दरले हिसाब गर्ने हो भने ३० लाख ८१ हजारका बोका मात्र विक्रि भएका छन । श्रोतदाबी गर्छ नाटेश्वरीमा होटल व्यवसायीहरुले १० लाख, खुद्रा व्यवसायीले १.५ लाख , मौसमी फलफुल, दही , मकै , तरकारी, डोकोनाम्लो, कृषि औजार र जडीबुटी बेच्नेले पनि अन्दाजी करीब २ लाखको विक्री गरेको हुनुपर्छ । आम्दानी र अर्थतन्त्र चलायमान बनाउन मान्छे चलायमान हुन आवश्यक छ । त्यसैले मान्छे तान्न बडीमालिका र बुढिनन्दाको सम्पूर्ण विकास आवश्यक छ । त्यसका लागि यसलाई संरक्षित क्षेत्र वा कोषको रुपमा तत्काल विकास गर्न ढिलाई गर्नु हुँदैन ।
सुचना प्रविधिको विकास र यातायातको पहुंचले बडीमालिका कर्णाली र सुपमा मात्र सिमित छैन । यो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले अतुल्य छ र व्यापकको मनमतिष्कमा बसेको छ र बस्दैछ। अब बडीमालिकाको प्रचार त्यति आवश्यक छैन, यदि छ भने व्यवस्थित हस्पिटालिटी सेवा र सुरक्षित पूर्वाधारको विकास, व्यवस्थापन आवयक छ । अब यसका लागि के गर्ने ? हेर्दा सुन्दा सामान्य लाग्ने तर महत्वपूर्ण निम्न बुंदागत रुपमा उल्लेख गरिएका पक्षहरुलाई नीतिगत रुपमा कार्यात्वयन गर्नुपर्ने हुन्छ ।
१. बडीमालिका विविध ( धार्मिक, पर्यापर्यटन, साहसिक, हिउमा खेलिने खेलकुद) पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले आगन्तुकको रुची अनुसार पर्यटन क्षेत्र वर्गिकरण गरी विकास, प्रबर्द्धन र प्रचार आवश्यक देखिन्छ । त्रिवेणी- बडीमालिका क्षेत्र विचरण गर्ने प्राय सबैले मालिकाको दर्शन गर्नेगरेको देखिन्छ । त्यसैले एउटा प्रयास गरौ वा भएका लिखत/कृतिलाई संकलन गरेर आम रुपमा पस्किने हो भने यस क्षेत्रको गरिमा र महिमा अझै बढ्न जाने देखिन्छ ।
२. मार्तडी – त्रिवेणी – बडीमालिका, नाटेश्वरी – बडीमालिका र मालिका प्रवेश पदमार्ग भयमुक्त बनाउनु पर्ने देखिन्छ । साथै बडीमालिकान क्षेत्र – बडीमालिका, रामारोशन – त्रिवेणी -बडीमालिका र सान्नी कालिकोट – त्रिवेणी क्षेत्रबाट मालिका क्षेत्र प्रवेश पदमार्ग पदमार्गमा रहेका मन्दिरहरुको नामाकरण, व्यवस्थापन र मालिकासंगको सम्बन्ध, त्रिवेणीको महिमा र यसको महत्व तथा नारेश्वरीको अवस्थिति र महिमाबारे धार्मिक पर्यटनका लागि प्रचार देखिन्छ ।
३. त्रिवेणी -बडीमालिका र आधार क्षेत्रतिर पाइने विभिन्न जडीबुटी, जंगली जनावर र पशुपंक्षीको संरक्षण, प्रबर्द्धन र विकासमा ध्यान दिइनु अपरिहार्य छ । खुला चरिचरन निर्वाध र सहज पहुंचले उल्लेखित चीज बस्तु निर्मम संकटमा छन् । बडीमालिका क्षेत्रको मध्यवर्ती क्षेत्रमा जडीबुटी सहितको बुटानिकल पदमार्गको विकास र यस क्षेत्रमा पाइने पशुपंक्षी संरक्षण गर्नसके थप आकर्षण बढाउन मद्दत हुने देखिन्छ । यसका लागि चोरी निकासी र अत्यधिक खुला चरिचनलाई व्यवस्थापन र निगरानीमा राख्न जरुरी छ।
४. साफेबगर – मार्तडी – कोल्टी सडक खण्ड १२ महिना संचालनमा ल्याउने व्यवस्था अपरिहार्य छ । यसो हुन रारा समेत जाने पर्यटकहरुबाट हामी लाभावान्वित हुन सक्छौं । अछाम – बाजुरा – मुगु सडक खण्ड कर्णाली सडक खण्ड भन्दा अत्यधिक सुरक्षित देखिन्छ ।
५. पर्यटक तथा तीर्थयात्रीहरुले व्यक्तिगत साधन समेत लिएर आउने हुंदा सुरक्षित साधन पार्किङको व्यवस्था होटल व्यवसायी र सरकारले गर्न पनि जरूरी देखिन्छ ।
विस्तारै पर्व विशेषमा चाप बढ़न सक्ने संभावनालाई मध्यनजर गरी तीर्थयात्री तथा पर्यटकका लागि बडीमालिका नपामा खुल्ला चौर, शुद्ध पिउने पानी र शौचालयहरुको प्रबन्ध आवश्यक देखिन्छ ।
बडीमालिका पदमार्गको निश्चित दुरीमा विश्राम घर / चौतारो, शौचालय र शुद्ध पानीको प्रबन्ध आवश्यक छ ।
६. मार्तडी – सोतापाटनसम्मको बाटोमा पुनः ईस्काभेटर किंचित प्रयोग हुनुहुँदैन र मान्छेद्वारा नै व्यवस्थापन आवश्यक छ । डोजरले विर्सजन गरेको माटोको व्यवस्थापन र भुक्षय जान संक्ने ठाउमा रोकथाम र सुरक्षाको तत्काल प्रबन्ध आवश्यक छ । नत्र पाटनहरुको सुन्दरतामा हरण हुने मात्र होइन जोडिएका बस्ती र तटीय क्षेत्र जोखिममा पर्न सक्ने संभावना प्रवल छ । त्यसबाट उत्पन्न हुने क्षतिको अहिले नै आंकलनगरी काम थालौं ।
७. बडीमालिका पदमार्गका हरेक बास स्थानमा शौचालय र शुद्ध पिउने पानीको स्थायी व्यवस्थापन आवश्यक देखिन्छ । यो विषय प्रमुख प्राथमिकतामा राखी पहल गर्नु पर्ने देखिन्छ । विशेषगरी त्रिवेणी र बडी मालिका क्षेत्रमा होटल र आवास क्षेत्र व्यवस्थापन अपरिहार्य छ । होटलको सरसफाई, पिउने पानी र खाद्य पदार्थको गुणस्तरका बारे मापदण्ड बनाई व्यवसायीले स्वीकृति लिने वा अनुगमन हुने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
८. यात्री र होटलबाट निस्कने फोहरको व्यवस्थापनका लागि ठाउँ ठाउँमा संकलन विनको व्यवस्था गरी पर्यावरणलाई नोक्सान नपुऱ्याउने गरी उपयुक्त विश्रजनको प्रबन्ध मिलाइनु पर्ने देखिन्छ ।
९. त्रिवेणी क्षेत्रमा स्नान र पितृकार्य स्थल तोकी व्यवस्थापन गर्नु पर्ने देखिन्छ । जथाभावी कपाल खौरिने र फोहर गर्ने कुरा निस्तेज जरुरी छ । सकभर महिला र पुरुष स्नान स्थल तोके झनै राम्रो हुन्छ ।
१०. त्रिवेणी क्षेत्रको नदितर्फका सबै भित्ताहरु पहिरोको अत्यधिक जोखिममा छन र यसले त्रिवेणीको शोभा घटाएको छ । त्यसैले व्यवस्थित ढंगाको तटबन्धन निर्माणले सुरक्षित हुनुका साथै मौलिक शोभा बढने देखिन्छ ।
११. त्रिवेणी क्षेत्रको किनारमा रहेका मन्दिर सिमेन्ट रहित हुन आवश्यक छ र यसले हाम्रो मौलिकताको हरण भएको छ । ढूंगासिल्पीहरुबाट नै परम्परागत मन्दिर पुनः निर्माण आवश्यक छ । सबैभन्दा महत्वपूर्ण विषय मन्दिरसंगै टांसेर मान्छे समेत हिडने बाटो नराखेर बनाइने होटल उपरान्त पूर्ण रुपमा बन्देज गरिनु पर्छ । विशुद्ध त्रिवेणी क्षेत्र पहिरो, फोहर, होटल मुक्त हुन जरुरी छ ।
१२. खोलाहरुको दुवै किनार, सिमसार क्षेत्र र केहि भिरालो भुभाग पानीको वहावसंगै भुक्षयमा परिणत हुँदैछ त्यसैले यस तर्फ ध्यान दिनु पर्ने देखिन्छ । पाटन भित्र भवन ठड्याउने भन्दा पनि सुन्दरता जोगाई राख्ने विषयमा ध्यान जानु पर्छ ।
१३. निर्वाध अनि अत्यधिक खुला चरिचरनलाई व्यवस्थापन र नियमन गर्ने संयन्त्र जरुरी छ । चौपायाका खुरले कोमल माटो कुल्चिदा भुक्षय गईरहेको देखिन्छ भने केहि स्थानमा ढुंगाले निर्मित खर्क निर्माण गरिएका छन । उक्त क्षेत्रमा ढुंगा उत्खनन गर्दा खाडल र पहिरोको जोखिम बढ्दैछ । यस तर्फ ध्यान दिनु पर्ने देखिन्छ ।
१४. त्रिवेणी क्षेत्रको राक्षस ढुंगा र मालिका जांदा वर माग्ने स्थानमा ढुंगा थुपारेर वरमाग्ने चलन रहि आएकोले भक्तजनहरुले माटो ख्रोसेर ढुंगा निकाल्ने प्रचलन बढेको छ । बर्षेनी यसरी ढुंगा निकाल्ने अभियानले उक्त क्षेत्रमा पहिरोजाने र सुन्दरतामा हरण हुनसक्ने संभावना बढेको छ । त्यसैले फुल र धुप मात्र चढाएर वर माग्ने मानक स्थापित गर्न सकिन्छ वा अन्य कुनै प्रकृति न विगार्ने विकल्प बारे सुझाउन आवश्यक छ।
१५. मालिका जाने पदमार्ग सुधार अन्तर्गत जोखिमयुक्त स्थानमा फलामको बार लगाएको छ तर गुणस्तरीय देखिदैन । पोल गहिरो तरिकाले गाडेको छैन र हात लाउदा समेत हल्लिरहेको छन् । कतिपय स्थानमा बार लगाउन प्रयाप्त ठाउँ भए पनि भिरकै समीपमा हल्का अडाएर मात्र लगाएको देखिन्छ र जोखिमयुक्त छ । यसलाई तुरन्तै सुधार गर्नु पर्ने देखिन्छ । र केहि जोखिमयुक्त स्थानमा बाटो निर्माण आवश्यक छ ।
१६. बडीमालिकामा बास स्थान र शौचको अत्यन्तै समस्या छ । विस्तारै तार्थात्री र पर्यटकको चाप बढ्दै गईरहेकोले बडीमालिकाको बासुधारा मुनी पैदलमार्गसंगै रहेको भुभागमा बर्षादमा पानीको समेत सानो श्रोत हुने भएकाले अध्ययन गरी जमिनलाई नचलाई पिलर सिस्टमबाट वा विज्ञहरुको सुझाउमा बास स्थलका संरचना निर्माण गर्दा ठिक होला जस्तो देखिन्छ । साथै बडीमालिका मन्दिरस्थानको भिरालो जमिनमा जैविक अवस्था अध्ययन गरी गह्राहरु निर्माण गर्न सके थुप्रै मान्छेहरु अटाउन सकिन्छ ।
१७. यसै रफ्तारमा पर्यटक तथा तीर्थयात्रीको चाप बढ्दै जाने स्थितिलाई मध्यनजरगरी दर्शनार्थीहरुले चाहना गरेमा कम्तीमा विष्णुपानी र त्रिवेणी फक्रिन सकिने वातावरण बनाउने र बाटोहरु अत्यधिक सुरक्षित बनाउन अपरिहार्य देखिन्छ ।
१८. मालिका स्थानमा पानीको समस्या हल गर्न क्लाउड फिसर नेटको प्रयोग गरी आपूर्ति गर्न सकिन्छ । साथै
बासुधारामुनीको पानीलाई सोलार लिफ्टिङबाट समेत आपूर्ति गर्ने व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
१९. मालिका पहाडको उच्च जोखिमयुक्त स्थान भएकोले रात्रीकालिन समयका लागि सोलारबाट फ्लड लाईटको व्यवस्था गर्नु पर्ने देखिन्छ ।
रात्री कालिन समयमा शौचका लागि मान्छेहरु भीरतिर गईरहेको देखिन्छन् त्यसलाई रोक्न आवश्यक छ र उज्यालो भइरहनु पर्ने देखिन्छ । त्यसैले कम्तीमा स्थान निर्धारण गरी शौचालयका स्थायी खाडल तर अस्थायी बाहिर संरचना निर्माण गर्नु पर्ने हुन्छ । यसो गर्दा जथाभावी खनजोतले भुक्षय रोकिन्छ ।
मालिका मन्दिर परिसरमा मन्दिरको शोभा घट्नेगरी टेन्ट हालेर बस्न ब्रजित गर्नुपर्ने देखिन्छ ।
२०. अब बन्ने भनिएको मन्दिर जमिनको हालकै सतहमा बनाउने भन्दापनि प्राकृतिक प्रकोप, हावाहुरी, हिउपानी बाट सुरक्षित गर्न मन्दिर प्रवेशको पहिलो खुटकिलामुनीबाट टेकेर निर्माण गर्दा उपयुक्त हुने देखिन्छ ।
२१. मालिका क्षेत्रमा पानी परिरहने हुँदा बाटो चिप्लो हुन्छ र मंदिरसम्म जानेबाटो व्यवस्थित छैन । त्यसैलेबाटो सुधार अनिवार्य देखिन्छ । दशनार्थीको घुँइचोलाई मध्यनजर गरी पूजारीको संख्या बढाउने, पूजा छिटो गर्ने, दोहरिएर प्रवेशलाई संयन्त्रको विकास गरी रोक्ने र लाइन व्यवस्थापन मुलबाटोतिर नै गर्नु पर्ने देखिन्छ । यसपटक लाइन जोखिमयुक्त तरिकाले भिर छेउमा रहेको थियो ।
२२. होटल व्यवसायीले मालिका मन्दिर प्रागणको अधिकांश स्थान ओगट्ने हुँदा कति संख्यामा , कहा र कुन साइजको बनाउने भन्ने विषयमा नियम बनाउन जरुरी छ ।
२३. स्वास्थ्य सेवा उपलब्ध रहेको व्यहोरा स्थानतोकी सुचना टांस गर्नु पर्ने देखिन्छ । आपतकालिन अवस्थालाई मध्यनजर गरी सुचना प्रणाली, सुरक्षितबाटो र नजिकको स्वास्थ्य संस्थालाई स्तरोन्ती गरिराख्नु पर्ने हुन्छ ।
२४. सडकमार्ग त्रिवेणीबाट विष्णुपानी र मार्तडीबाट सोतापाटनसम्म १२ महिना मोटर चल्ने गरी विकास गर्नुपर्ने हुन्छ । यसले सहज पहुंच र उद्धार कार्यमा समेत सहयोग पुग्न जान्छ ।
२५. नयाँ तीर्थयात्रुहरुलाई पर्व विशेषमा बडिमालिका जानू पूर्व सामाजिक संजाल र मिडिया मार्फत सामान्य जानकारी दिन जरुरी छ यसो गर्दा तिर्थयात्रुको यात्रा थप सहज बनाउन सहयोग पुग्ने हुन्छ । मालिका क्षेत्र एक महत्त्वपूर्ण धार्मिक स्थान भएकोले यसको धार्मिक महिना र महत्त्वलाई अक्षुण राख्दै संभावित अन्य पर्यटन विकासमा लागि विमर्ष हुन आवश्यक छ ।
बाजुरामा पर्यटकको बसाई दिन बढाउन बुढीगंगाको मुहान गौमुलमा जान सहज मार्ग, कालाजाग्रा, विरे खोला र मार्तडी जलविधुतको ओभर फ्लो पानीलाई उपयुक्त स्थानमा झारी झराना निर्माण, जिसस पर्खालमा शब्दचित्रमा बाजुरा झल्काउने दृष्यहरु र मार्तडी चौराठा झोपु निर्माण र बोन्जिको विकास गर्न सकिन्छ । यस क्षेत्रमा खेलिने ब्याटमिन्टन, भलिबल र फुटबल प्रतियोगिताहरु पनि आयोजना गर्न सकिन्छ साथै जिल्ला स्तरीय कला संस्कृति प्रतिस्पर्धा र प्रदर्शनी र रैथाने उपजको विक्री र परिकारहरूबाट मनग्य आम्दानी लिन सकिन्छ ।
सुदुरपश्चिम प्रदेशले उग्रतारा – शैलेश्वरी – वैधनाथधाम -रामारोशन – खप्तड -बडीमालिका -बुढीनन्दा र तमाम अरु छुटेका महत्वपूर्ण स्थानलाई समेटी पर्यटकीय सर्किट निर्माण गर्नुपर्ने देखिन्छ । यस कार्यमा स्थानीय तहहरुको स्वतःस्फूर्त योगदान आवश्यक छ । सबैभन्दा महत्वपूर्ण विषययस क्षेत्र लाई संरक्षित क्षेत्रको रूपमा विकास गर्नका लागि बडिमालिका विकास कोष अथवा विकास वोर्डको आवश्यकता रहेको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । गुणस्तरीय हस्पीटालिटी सेवाको विकासका लागि स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहन्छ र लगानी गर्न कन्जुस्याई गर्नु हुँदैन । एक कल्पना होला नत्र वास्तवितामा आंट्ने हो भने, विष्णुपानी बडीमालिका “ग्रेटवाल” किन नहुने ! सबैले सहयोग गरौं विकास संभव छ ।