तीजका गीत कस्ता हुनुपर्छ ? बदलिँदो परिवेशमा मनाउने तरिका परिवर्तन भएको चाड तीजको गीतका शब्द चयन कस्तो हुनुपर्छ ? अथवा तीजको झल्को दिने सबै तीजका गीत हुन् ? कस्ता गीतलाई तीजको गीत भनेर दाबी गर्ने ? यी प्रश्नको जवाफ सर्जकहरूले ठोस ढङ्गले बुझ्नु र बुझाउनुपर्ने बेला आएको छ ।
यसै पनि तीजको छेकोमा अन्य चाडको तुलनामा लोक गीत बढी निस्कने गर्छन् । अहिले तीजलक्षित गीतहरू युट्यूबमा धमाधम सार्वजनिक हुँदैछन् । विवादमा पर्नेको संख्या पनि निकै छ । यतिसम्म कि– तीज आउन एक महिना बाँकी छ, एक दर्जभन्दा बढी गीत आलोचनाका शिकार भएका छन् । पाँच गीतमा प्रतिबन्ध लागेको छ ।
मौलिक गीतहरूको प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्ने उद्देश्यले स्थापना गरेको भनिएको संस्था ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले तीजलक्षित ५ गीतमा प्रतिबन्ध नै लगाएको हो । प्रतिबन्ध लगाइएका गीतहरू हुन्– कविता खत्री र भागिरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’, प्रिती आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी बिमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’ तथा प्रिती आले र प्रकाश शर्माको स्वर रहेको ‘चिर्यस बियर’ !
सर्जकले ‘बिस्ताराले पोल्यो’ र ‘चियर्स बियर’लाई तीजको गीत भनेर दाबी गरेका छैनन् । यद्यपि यी पनि द्विअर्थी शब्दका कारण दर्शकबाट आलोचित गीत हुन् । यी गीतमा प्रतिबन्ध लाग्नुको कारणहरू– द्विअर्थी शब्द, गलत अर्थ झल्काउने शारीरिक हाउभाउ र नग्नता नै हुन् । यी बाहेक अन्य तीजका गीतहरूको विवाद छन् । कुनै गीतका शब्द यौवनले भरिएका छन् भने केही गीतका भिडियोका दृश्य ।