• होमपेज
  • शिक्षा
  • एसईईमा नयाँ लेटर ग्रेडिङ : असार दोस्रो हप्ताभित्र परिक्षाफल सार्वजनिक हुने

एसईईमा नयाँ लेटर ग्रेडिङ : असार दोस्रो हप्ताभित्र परिक्षाफल सार्वजनिक हुने

  • बिहिबार, असार ६, २०८१
एसईईमा नयाँ लेटर ग्रेडिङ : असार दोस्रो हप्ताभित्र परिक्षाफल सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ ।

लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक ल्याएको छैन भने मूल प्रमाणपत्र नै नपाउने निर्देशिकामा व्यवस्था छ । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

जबकि पुरानो ग्रेडिङ प्रणालीमा चाहिं सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा पाएको अंकलाई जोडिन्थ्यो र ई सम्म ग्रेड निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र दिइन्थ्यो । सैद्धान्तिक विषयतर्फ सी (३२ अंक) वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । तर उनीहरुले ल्याउने अंकको आधारमा के विषय पढ्न पाउने र के नपाउने भन्ने सरकारले तोकिदिएको थियो ।

ग्रेडिङ (अक्षरांकन) प्रणालीले सिकाइको गुणस्तर खस्किएको आवाज उठेपछि सरकारले विद्यालय शिक्षामा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलको सुझावका आधारमा विद्यालय तहमा उत्तीर्ण हुन सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

उत्तीर्ण हुनेको संख्या घट्ने जोखिम

नयाँ निर्देशिका लागू भएसँगै यो वर्ष एसईईमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ । यो वर्ष नगरस्तरीय परीक्षा (कक्षा ८) को नतिजाले पनि यो अनुमान गर्न मद्दत गरेको हो । लेटर ग्रेडिङ निर्देशिकामा कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक र आन्तरिक परीक्षामा फरक फरक मूल्यांकन गर्ने व्यवस्था गरिएको थियो, जसमा सैद्धान्तिकतर्फ पूर्णांकको ३५ प्रतिशत र आन्तरिकतर्फ पूर्णांकको ४० प्रतिशत आए उत्तीर्ण मानिने व्यवस्था गरिएको थियो । यसले कक्षा ८ को नतिजा कमजोर देखियो ।

विश्व निकेतन मावि काठमाडौंका प्रधानाध्यापक हेरम्बराज कँडेल यस वर्षको नतिजामा धेरै अन्तर आउने अनुमान गर्छन् । उनले भने, ‘पहिलो थ्योरी (सैद्धान्तिक) र प्राक्टिकल (प्रयोगात्मक) को जोड्दा उत्तीर्ण हुनेथियो, अब थ्योरीमै पूर्णांकको ३५ प्रतिशत ल्याउनुपर्ने भएकोले एनजीको संख्या धेरै हुने मेरो बुझाइ छ ।’

यद्यपि यस्तो ‘कट अफ पोइन्ट’ राख्दा विद्यार्थीमा पढ्ने बानी विकास हुने उनको विश्वास छ । ‘पहिला थ्योरीमा ६ आए पनि प्राक्टिकलमा २५ ल्याएपछि ३१ हुने र डी ग्रेड भएपछि पढ्न पाउने थिए । तर क्षमता चाहिं नहुने अवस्था थियो’, उनले भने, ‘तर अब फेल नै हुने भएपछि विद्यार्थी गम्भीर भएर पढ्छन् ।’ परीक्षा नियन्त्रक नन्दलाल पौडेल पनि अनुत्तीर्ण हुनेको संख्या बढी हुने जोखिम रहेको स्वीकार गर्छन् ।

‘पहिला सैद्धान्तिकमा १० ल्याएपनि प्रयोगात्मकमा पाउने २५ अंक जोड्दा पास हुन्थे, अब त सैद्धान्तिकमा ३५ प्रतिशत अंक नै ल्याउनुपर्ने नतिजा कमजोर हुन्छ’, उनी भन्छन् ‘तर भोलि पढ्ने संस्कारको विकास होला भन्ने आश हो ।’

शिक्षाविद् मीनाक्षी दाहाल भने यो वर्षको नतिजामा फेल हुनेको संख्या अत्यधिक हुने मात्र होइन, जम्मा अंक धेरै ल्याउने र फेल हुनेबीच ठूलो खाडल देखिने अनुमान गर्छिन् । उनी भन्छिन्, ‘सैद्धान्तिकमा ३५ देखि ४० प्रतिशत अंक ल्याए विद्यालयले दिने प्रयोगात्मक अंक शतप्रतिशत दिंदा उनीहरुको जम्मा अंक धेरै हुन जान्छ ।’

जबकि पुरानो ग्रेडिङ प्रणालीमा मध्यम नतिजा निकाल्ने विद्यार्थीको संख्या धेरै हुने गरेको थियो । विद्यार्थीले विद्यालयबाट के सिकेर निस्कन्छन् अथवा हामीले सिकाउन लागेकोभन्दा पनि विद्यार्थीले कुन ग्रेडमा पास गरे भन्नेलाई प्राथमिकता दिएर तयार भएको प्रणालीले समस्याको समाधान नहुने दाहाल तर्क गर्छिन् । अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार