• होमपेज
  • समाज
  • सुदूरपश्चिम प्रदेशमा एक वर्षमा ६४ एचआइभी सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा ६४ एचआइभी सङ्क्रमितको मृत्यु

  • शुक्रबार, मंसिर १५, २०८०
सुदूरपश्चिम प्रदेशमा एक वर्षमा ६४ एचआइभी सङ्क्रमितको मृत्यु

धनगढी —सुदूरपश्चिम प्रदेशमा एक वर्षमा ६४ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय, कैलालीको तथ्याङ्क अनुसार एक वर्षमा सुदूरपश्चिमका ६४ एचआइभी सङ्क्रमितको मृत्यु भएको हो।

प्रदेशमा एचआइभीबाट मृत्यु हुनेको सङ्ख्या महिलाको धेरै छ। सुदूरपश्चिममा गत आर्थिक वर्ष २०७९/०८० मा २४ पुरुष र ४३ महिलाको एचआइभीका कारण मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच हजार एक सय ९० जना एचआइभी सङ्क्रमित रहेको अनुमान गरिएको छ। तर, प्रदेशमा चार हजार सात सय १७ जना एचआइभी सङ्क्रमितहरू मात्र पत्ता लागेका छन्। बाँकीको अवस्था अझै अज्ञात रहेको छ। उनीहरूको खोजीका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा समूदायले काम गर्दै आएका छन्।

सुदूरपश्चिममा तीन हजार ६ सय २३ जना एचआइभी सङ्क्रमितले अहिले औषधिको प्रयोग गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा मात्र दुई सय ५२ जना नयाँ सङ्क्रमित थपिएका छन्। प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा एक सय तीन महिला, एक सय ४७ पुरुष र दुई जना यौनिक अप्लसङ्खेकमा एचआइभीको सङ्क्रमण पत्ता लागेको हो।

सुदूरपश्चिममा गत वर्ष एक लाख ४४ हजार ६ सय ४९ को एचआइभी परीक्षण गरिएको थियो। ५३ हजार नौ सय ८ गर्भवतीकोसमेत एचआइभी परीक्षण गरिएको थियो। चार गर्भवतीमा एचआइभीको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय कैलालीले बताएको छ। दिनेशखबर

चर्चामा

सम्बन्धित समाचार