बाजुरा– स्वीस सरकार विकास सहयोगको तर्फबाट झोलुङ्गे पुल सहयोग इकाइ, हेल्भेटासले बाजुरामा एक सय ४० झोलुङ्गे पुल निर्माण गरेकाे जनाएकाे छ । सुदूरपश्चिममा एक हजार १ सय ४७ वटा झोलुङ्गे पुल निर्माण गरेको जनाएकाे छ। मङ्गलवार धनगढीमा आयोजित झोलुङ्गे पुल फोटो प्रदर्शनीमा सुदूरपश्चिममा थप ३ सय ५५ वटा झोलुङ्गे पुल निर्माणको चरणम रहेको हेल्भेटासले बताएको छ।
वि.स. २०१७ देखि स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा नेपालमा झोलुङ्गे पुल कार्यक्रम अगाडि बढेको हो। ६० वर्षको अवधिमा नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण गरिएको छ भने सुदूरपश्चिमका ९ जिल्लाका ८८ पालिकामा झोलुङ्गे पुल निर्माण गरेर स्थानीयको आवतजावत र दैनिकी सहज भएको झोलुङ्गे पुल सहयोग इकाइ सुदूरपश्चिमका व्यवस्थापक जुनतारा बुढामगरले बताए।
यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक जगतप्रसाद जोशीले कार्यक्रमको कार्यान्वयन झोलुङ्गे पुल रणनीति २०६६ अनुसार भइरहेको बताए। उनले स्थानीय गैरसरकारी संस्था मार्फत सुदूरपश्चिममा झोलुङ्गे पुल निर्माणको काम कार्यान्वयन गरिने बताए। निमित्त निर्देशक जोशीले आर्थिक वर्ष २०७९÷८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार ७६ व्यक्ति दिनको हिसाबले रोजगारी सिर्जना भएको बताए।
६० वर्षसम्म नेपाल सरकारलाई झोलुङ्गे पुल निर्माणमा प्राविधिक सहयोग गर्दै आएको ‘झोलुङ्गे पुल सहयोग कार्यक्रम’ यो वर्षबाट समाप्त हुने भएको छ। हेल्भेटासले झोलुङ्गे पुल कार्यक्रमबाट हात झिकेपछि प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणको काम अगाडि बढाउनुपर्ने छ। स्वीस सरकार विकास नियोगले कार्यक्रमबाट हात झिक्ने भएपछि बनेका झोलुङ्गे पुलको संरक्षण, मर्मत सम्भार र नयाँ पुल बनाउने काम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बताए। उनले आवश्यकताको आधारमा नयाँ झोलुङ्गे पुल निर्माण गरेर बाटो क्रसिङमा, समयको बचत गर्नमा र पर्यटन विकासमा काम गर्न सकिने बताए।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुलको आवश्यकता भएको ठाउँमा पुल निर्माण गर्ने र पहिले नै निर्माण भएका पुलहरूको स्थानीय सरकारसँग मिलेर मर्मत सम्भार र संरक्षण गर्ने बताए। फोटो प्रदर्शनी कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्टले उद्घाटन गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री भट्टले हेल्भेटासले सुदूरपश्चिममा एक हजार पाँच सयको हाराहारीमा झोलुङ्गे पुल निर्माण गरेर सर्वसाधारणलाई जीवनयापनलाई गर्न सहज बनाएको बताए।
कुन जिल्लामा कति पुल बने?
सुदूरपश्चिममा हेल्भेटासको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएका एक हजार १४७ झोलुङ्गे पुलमा सबैभन्दा बढी बैतडीमा छन्। बैतडीमा १७१ पुल निर्माण गरिएको छ भने डोटीमा १६४ पुल निर्माण गरिएको छ। दार्चुलामा १६२ पुल बन्दा डडेल्धुरामा १४५ र बझाङमा १४३ पुलको काम सप्पन्न भएको छ।
यसैगरी, बाजुरामा १४०, अछाममा १३६, कैलालीमा ६५ र कञ्चनपुरमा २१ वट झोलुङ्गे पुल बनाइएको हेल्भेटासले जनाएको छ। यस्तै, निर्माणाधिन पुलको संख्या सबै भन्दा बढी दार्चुलामा ६०, बझाङमा ५६, बाजुरामा ५०, कैलालीमा ४८, अछाममा ३९, डडेल्धुरामा ३७, बैतडीमा ३३, डोटीमा ३० र कञ्चनपुरमा २३ वटा छ। दिनेश खवरबाट