प्रकाश सिंह — बुढिनन्दा नगरपालिका–३ फुवाकी खाँडो बुडथापा (भोटे) की अढाइ वर्षकी छोरी सम्झना बुडथापा कुपोषणको कहरमा छिन् । कडा कुपोषणको शिकार भएकी सम्झनाको उमेर अनुसार तौल र वृद्धि विकास हुनसकेको छैन ।
जन्मेदेखि नै कडा कुपोषणमा रहेकी सम्झनालाई दुई महिना पुग्दा विभिन्न सहयोगीको मद्दतबाट उपचार गर्न काठमाडौं पुर्याइएको थियो । काठमाडौंमा दुई महिना उपचार गरेर अहिले घर ल्याइएको छ । आर्थिक अवस्था कमजोर भएका कारण काठमाडौंमा पूर्ण रूपमा उपचार नहुँदै उनलाई परिवारले घर ल्याए । अहिले पनि उनी कुपोषणग्रस्त छिन् ।
सम्झनाकी आमा खाँडो बुडथापा आफैं पनि कुपोषित छिन् । उनी गर्भवती हुँदै कुपोषित भएकाले पेटको बच्चा पनि कुपोषित भएको स्वास्थ्यकर्मीको भनाइ छ । उनी अहिले ४० वर्षकी भइन् । उनले अहिलेसम्म ८ बच्चा जन्माएकी छिन् । तीमध्ये दुईलाई उनले बचाउन सकिनन् । ‘राम्रोसँग खान पनि पाएनन्, दूध पनि नआउँदा दुईवटा बच्चा बचाउन सकिनँ’, उनी भन्छिन् ।
‘सुत्केरी हुँदा पोषिलो खानेकुरा भएन, दूध पनि आएन’ खाँडोले भनिन्, ‘नुनसँग भात खान्छौं । त्यो पनि समयमा खान पाइँदैन । धेरैजसो पाटन तथा जंगलमा बास हुन्छ । कुनै कुनै छाक त भोकै बस्नु पनि पर्छ ।’
हुन पनि उनले दुईवटा बच्चा त पानी परिरहेको बेला पाटनमै जन्माएकी थिइन् । एउटा बच्चा जन्माउने बेलामा पाटनमा हिउँ पनि परेको थियो । ‘यस्तो बेलामा आफ्नो ज्यान जोगाउन मुश्किल हुन्छ, कहाँबाट पाउनु पोषिलो र राम्रो खानेकुरा’, उनले भनिन् ।
खाँडोको एउटा बच्चा जन्मेको डेढ महिनामै बित्यो । त्यसबेला उनको परिवार बाजुरा, हुम्ला र बझाङको बीचमा पर्ने रानीसैन हिमालमा भेडासहित गएका थिए । यो क्षेत्र साइपाल हिमालको काखमा पर्छ । ‘यहीं बच्चा पाएँ, दूध पनि आएन, आफूले पनि राम्रोसँग खान पाइनँ, म पनि बिरामी भएँ, छोरो बचाउन सकिनँ’, उनले भनिन् ।
खाँडोका बाँचेका ६ बच्चा पनि कुपोषित छन् । सम्झना तीमध्ये एक हुन् । उनी भन्छिन्, ‘मेरा मात्र होइन, कुपोषणले धेरैका बच्चा मर्ने गरेका छन् । मेरो त दुई वटा मात्रै वितेका हुन्, मेरी जेठानीले ९ बच्चा पाइन्, तीमध्ये ३ मात्रै जीवित छन् ।’
बच्चाहरू कुपोषणको शिकार हुनुको एउटा कारण यहाँ जथाभावी बच्चा जन्माउने चलन पनि हो । भोटे समुदायका महिला बाटोमा हिंडदाहिंड्दै बच्चा पाउँछन् । बच्चा पाएको दिन मुश्किलले आराम गरे पनि भोलि, पर्सि पल्टदेखि उनीहरू हिंड्न बाध्य हुन्छन् । खाँडो भन्छिन्, ‘भेडाले बोकेको चामल हुन्छ, त्यसैको भात पकाएर धुलो नुनसँग खाना खायो, अनि हिंड्यो गर्छौं । हामी पुर्खैदेखि बसाइँ सर्ने गर्छौं । बसाइँसराइ नगरे हाम्रो जीविकै चल्दैन ।’
अहिलेसम्म उनले कुनै पनि बच्चा स्वास्थ्य चौकी गएर जन्माएकी छैनन् । कोही पालमा, कोही बाटोमा जन्मिए । बसाइँसराइ नगर्ने हो भने उनीहरूलाई खान–लाउनै पुग्दैन । ‘असुरक्षित रूपमा त्यो पनि धेरै बच्चा जन्माउनु अनि पोषिलो खानेकुरा खान नपाउनुले यहाँ आमा र बच्चा दुवै कुपोषणको शिकार भइरहेका छन्’ बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाही भन्छन् ।
बाटोमै जन्मिन्छन् बच्चा
बुढिनन्दा नगरपालिका–१० बस्ने ३९ वर्षकी मना थापाले २३ माघ २०७९ मा अछामको बुढाकोटमा छोरो जन्माएकी छन् । उनको परिवार मंसिरमा अछाम पुगेको थियो । अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य भए पनि उनीहरू पालमै बसिरहेका छन् ।
त्यस्तै हिमाली गाउँपालिका–३ युनाकी २२ वर्षीय सीता गुरुङले पुस महिनामा बसाइँ सर्ने बेला बाटोमै छोरो जन्माइन् । उनले जाडो छल्न औल झर्ने बेलामा अछामको लेककोटको जंगलमा बच्चा जन्माएकी थिइन् ।
सीताले भनिन्, ‘अछामको देवीस्थानमा जाँदै थियौं, लेककोटको बाटोमै छोरो जन्माएँ । श्रीमान् बाहेक अरू कोही थिएनन्, सुत्केरी भएपछि पनि चिसो पालमा बस्नु पर्यो ।’
बुढिनन्दा नगरपालिका–१० अगाउपानी बस्ने ३१ वर्षीय जौकला थापा (भोटे) को बच्चा पाउने समय भइसकेको छ । उनी गर्भवती भएको नौ महिनाभन्दा बढी भइसकेको छ । उनी र उनको परिवार गाउँ छोडेर जाडो छल्न अछामको मार्कुतिर गएका छन् । अब कुनै पनि दिन उनले बाटोमै बच्चा जन्माउने अवस्था छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार, सामान्यतया सुत्केरी आमा र नवजात शिशुको अवस्थालाई संवेदनशील मानिन्छ । यो अवस्थामा राम्रो खानपिन, शारीरिक र मानसिक आराम, मौसम सुहाउँदो कपडा, स्वास्थ्य जाँच, आमालाई आइरन चक्की, भिटामिन ए, बच्चालाई खोप आदिको आवश्यकता पर्छ ।
कुँवर भन्छन्, ‘यी सुविधा नभएमा आमा र बच्चा दुवै कुपोषित हुने, तत्कालीन र दीर्घकालीन स्वास्थ्य असर देखिने र कहिलेकाहीं अप्रिय घटना समेत हुनसक्छ । स्वास्थ्य संस्थाको पहुँच र गुणस्तरीय मातृ तथा बाल स्वास्थ्य सेवा नहुनुले कुपोषित माथि थप जोखिम निम्त्याउँछ ।’
जनजाति समुदायका व्यक्तिहरू बसाइँ सर्दा आफ्ना घरजहान सँगै लैजाने गर्दछन् । यही कारण बालबालिका विद्यालय जान पाउँदैनन् । बसाइँ सर्ने भएपछि मंसिरदेखि चैत महिनासम्म बालबालिका पढाइबाट वञ्चित हुने गर्छन् ।
जिल्लामा ४०० भन्दा बढी जनजाति बालबालिका रहेको जिल्ला शिक्षा समन्वय इकाइ कार्यालय बाजुराको तथ्याङ्कबाट देखिन्छ । कार्यालयका अनुसार, गाउँ नै खाली गरेर भेडाच्याङ्ग्रासँगै भोटे जनजातिहरू बेसी झर्ने गरेका कारण बालबालिका पढाइबाट वञ्चित हुने गरेका छन् ।
‘बाजुराका ६४० भन्दा बढी परिवार मौसमी बसाइँ सर्ने गरेका छन् । ती भोटे जनजातिका बालबच्चा वर्षभरिमा ६ महिना मात्र विद्यालय जान पाउँछन् भने बाँकी ६ महिनासम्म किताबकापीसम्म देख्न पाउँदैनन्’, नृप थापा भोटेले भने ।
मौसमी बसाइँसराइ कुपोषणको कारण
हिमाली गाउँपालिका वडा नम्बर ३ बौडी बस्ने पासाङ्ग लामु कार्कीले बच्चा पाएको एक महिना भएको छ । उनी बसाइँसराइ गरेर अछामको साँफेबगर पुगेको बेला छोरी जन्माएकी हुन् । एक महिनाकी उनकी छोरी कुपोषित छन् । उनका तीन बच्चामा तीनै जना कुपोषणको शिकार छन् ।
दुईवटा बच्चा हिमालतिर जाने बेला बाटोमा जन्माएको उनले बताइन् । ‘जेठो बच्चा त साइपाल हिमालको काँख रानीसैनमा पाएकी हुँ’, उनी भन्छिन् । पासाङ्ग गर्भवती भएदेखि सुत्केरी हुँदासम्म कुनै खोप लगाएकी छैनन् । आइरन चक्की खाएकी छैनन् । स्वास्थ्य परीक्षण गरेकी छैनन् । नवजात छोरीलाई जन्मने बित्तिकै लगाउने खोप बीसीजी पनि लगाएकी छैनन् ।
पासाङ्गका श्रीमान् प्रेम कामी भोटेले भने, ‘हिउँदमा बेंसीतिर र हिमाल जाँदै ठिक्क हुन्छ, कहिले खोप लगाउने कहिले आराम गर्ने त्यस्तो समय नै हामीसँग हुँदैन । अहिलेसम्म आमा त ठिकै छ, बच्चा भने सबै कुपोषित छन् ।’
हामीले भेटेका दिन पासाङ्गले बच्चा पाएको २० दिन भएको थियो । उनी सुख्खा रोटी नुनको धुलोसँग खाइरहेकी थिइन् । आराम गर्नुपर्ने बेलामा समेत उनी छोरी काखमा च्यापेर राडी बुन्ने काम गरिरहेकी थिइन् । उनले भेडाको ऊनबाट राडी बनाउन लागेको, तयार भएपछि बिक्री गर्ने र त्यो पैसाले चामल किन्ने आफ्नो योजना हामीलाई सुनाइन् ।
बुढिनन्दा नगरपालिका–९ पाण्डुसेनकी ३९ वर्षीय डोमा गुरुङ्गले अहिलेसम्म ११ सन्तान जन्माइन् । ११ मध्ये ३ वटा जीवित छन् । मौसमी बसाइँसराइका कारणले सबै बच्चा बाटोमा जन्माएको उनले बताइन् । बाटोमा बच्चा पाउनुपर्ने, पालभित्र चिसो हुने, खाना राम्रो नहुने, रगत बगेर बिजोग हुँदा आफूलाई त भगवानले बचाएको उनले सुनाइन् । ‘धेरै बच्चा पाएर होला अहिले पेट र कपाल दुख्ने, रगत बग्ने, ज्वरो आउने, कमजोर हुने जस्ता समस्या भइरहने उनको भनाइ छ ।
जिल्ला अस्पताल बाजुरामा भर्खर सञ्चालनमा रहेको पोषण पुनस्र्थापना केन्द्रको तथ्याङ्कले पनि मौसमी बसाइँसराइ गर्ने जनजाति समुदायका बालबालिका कुपोषणको मारमा परेको देखाउँछ । पुनस्र्थापना केन्द्रमा मात्रै १७ जना बच्चाहरूको उपचार भइरहेकोमा धेरैजसो यो समुदायका बालबालिका भएको अहेब पार्वती जैसीले बताइन् ।
त्यहाँ उपचाररतमध्ये कडा कुपोषित २ जना, मध्यम ५ र सामान्य १० जना बालबालिका छन् । यसमध्ये अधिकांश यो समुदायका छन् । ‘हाम्रो केन्द्र स्थापना भएको एक वर्ष पुग्न लागेको छ, यहाँ उपचार गर्ने १७ जना पुगेका छन्, यसले पनि यो समुदायमा धेरै कुपोषित छन् भन्ने देखाउँछ’, पार्वतीले भनिन् ।
भोटे जनजातिको सबैभन्दा बढी संख्या बाजुरामा छ । बाजुरामा करिब ७०० परिवार भोटे समुदाय बसोबास गर्दै आएको भोटे जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष नृप थापा भोटेले बताए । बाजुराका तीन पालिकामा यो समुदायको बसोबास छ । बडीमालिका र बुढिनन्दा नगरपालिका एवं हिमाली गाउँपालिकामा यो समुदायको बसोबास छ ।
यी केही उदाहरण मात्रै हुन् । जीविकोपार्जनका लागि भोटे जनजातिहरूको मौसमी बसाइँसराइ धेरै आमा र बच्चा कुपोषणमा पर्ने कारण भएको छ । प्रायःजसो उनीहरू हिउँदमा अछाम र गर्मी समयमा हिमाली क्षेत्रमा बसाइँ सर्ने गर्छन् । तर, यसरी बसाइँ सर्नेमध्ये कतिलाई कुपोषण भएको छ भन्ने आधिकारिक तथ्यांक नभएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्का बताउँछन् । ‘यो समुदायका आमा र बालबालिकामा कुपोषणको मात्रा चर्को छ, तर यकिन तथ्याङ्क छैन’, खड्काले भने ।
धेरै बच्चा त्यो पनि असुरक्षित रूपमा, बाटोघाटोमा जन्माउने भएकाले उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर देखिन्छ । कडा परिश्रम गर्नुपर्ने, पोषिलो खानेकुरा खान नपाउने र गर्भवती अवस्थामा समेत आराम गर्न नपाउने भएकोले उनीहरू जोखिममा हुन्छन् ।
‘गरिबीका कारण चिसो छल्न, भेडाच्याङ्ग्रा र परिवारसहित हिउँदका ६ महिना बेंसी झर्ने र गर्मीयाममा हिमालतिर सर्ने भएकाले धेरै भोटे महिला बाटोमै बच्चा जन्माउन बाध्य हुन्छन् । ज्यान जोगाउन नै मुश्किल हुन्छ, त्यहाँ पोषिलो खानेकुरा त धेरै टाढाको कुरा हो’, स्थानीय अगमती थापा भोटे भन्छिन् ।
मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, मुगु, हुम्ला, जुम्लाका कतिपय जाति मौसमी बसाइँ सर्ने गर्छन् । त्यस क्रममा महिलाहरू बाटोमा बच्चा जन्माउन बाध्य हुन्छन् । उनीहरूले गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्य चौकी देख्न पनि पाउँदैनन् । भोटे जाति तीमध्ये एक हो ।
यो अवस्था आफैंमा जोखिमपूर्ण हुन्छ । उनीहरूले आवश्यक खोप पाउने सम्भावना रहन्न । यसको परिणाम धेरै आमा र बच्चा जोखिममा पर्छन् । उनीहरूमध्ये कतिको मृत्यु समेत हुन्छ । त्यो सार्वजनिक जानकारीमा पनि आउँदैन । परिस्थिति यस्तो हुन्छ कि त्यो समुदायमा यसरी मृत्यु हुनु समान्य झैं मानिन्छ ।
भौगोलिक विकटता र चेतनाको कमीले उनीहरूको स्वास्थ्य संस्थासम्म पहुँच छैन । त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधन स्रोतका दृष्टिले कमै मात्र प्रभावकारी हुन्छन् । बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाह भन्छन्, ‘धेरै पक्ष होलान् तर गरिबी नै यसको मुख्य कारण हो । गरिबीले बसाइँ सर्न बाध्य बनाउँछ, यसरी बसाइँ सर्दा कुपोषण त भयावह हुने नै भयो ।’
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भर्खर मात्र गरेको कुपोषणको ‘स्मार्ट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ । बाजुराका ९ स्थानीय तहका ६९ वडामध्ये २७ वडाका घर–घरमा पुगेर ५ वर्ष मुनिका बालबालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कम तौल ३०.६ प्रतिशत देखिएको थियो ।
यो दरले बाजुराका बालबालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द बताउँछन् । जनजाति बालबालिकामा कुपोषणदर उच्च रहेको तथ्याङ्कले देखाएको छ ।
भोटे जनजातिका आमा र बच्चाको मृत्यु उच्च रहे पनि जिल्लास्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन । उनीहरू स्वास्थ्य संस्थामा जाँच र उपचारका लागि प्रायः नआउने भएकाले रेकर्ड पाउन सम्भव हुँदैन । ‘जनजाति बस्तीहरू दुर्गम गाउँमा हुन्छन्, अर्को वर्षैपिच्छे बसाइँ सर्ने भएकाले तथ्याङ्क राख्न पनि समस्या पर्छ’, स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताए ।
यसबाहेक भोटे जनजातिका धेरै आमामा पाठेघरको समस्या देखिएको छ । असुरक्षित सुत्केरी र धेरै सन्तान जन्माएकाले यो समस्या देखिएको हो । जस्तो कि हिमाली गाउँपालिका–३ की हिउकला गुरुङले ८ वटा बच्चा जन्माइन् । पाँचांै बच्चा जन्मेदेखि उनको पाठेघर खस्ने समस्याले दुःख दिएको छ । उनले सबैजसो बच्चा घरमा र काम गर्न जाँदा जंगलमै जन्माइन् । आर्थिक अवस्था कमजोर भएकाले अहिलेसम्म पनि उपचार गर्न नसकेको उनी बताउँछिन् ।
धेरै सन्तान जन्माउँदा देखिने अर्को समस्या हो रक्तअल्पता । हिउकला जस्तै हिमाली गाउँपालिका–३ बस्ने ४४ वर्षीया मनुकला थापालाई रक्तअल्पता छ । उनले ९ सन्तानलाई जन्म दिइन् । शरीरमा रगत कम हुँदा रिंगटा लाग्ने र कमजोर महसुस हुनेगर्छ । पाठेघर सम्बन्धी समस्या भए पनि अहिलेसम्म कतै चेकजाँच नगरेको उनले बताइन् ।
पाठेघर खस्ने समस्याको कुपोषणसँग सोझो सम्बन्ध छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार, नेपालमा गरेको एक अध्ययनले पाठेघर खस्ने समस्यालाई कुपोषण, गर्भावस्था र सुत्केरी बेलामा भारी काम गर्नु, सुत्केरीपश्चात् आवश्यक आराम नगर्नु, एक बच्चा र अर्को बच्चा बीच उचित समय नहुनु, सुत्केरीको बेला लामो व्यथा लाग्नु आदिले बढावा दिन्छ भनेर देखाएको छ ।
उनका विचारमा कुपोषण र पाठेघर खस्ने समस्या बीच अप्रत्यक्ष सम्बन्ध छ । पोषित भएमा शरीरका अंगहरूले राम्रो काम गर्न सक्छन् तर कुपोषितको हकमा यस्तो नहुन सक्छ । मौसमी बसाइँसराइ गरिराख्ने महिलाहरूको हकमा गर्भवती चेकजाँच गरेको नहुने, गर्भवती हुँदा खानपिनमा ध्यान दिन नसकिने, आवश्यक आराम गर्नुपर्ने बेला हिंडडुल गरिराख्नुपर्ने, भारी बोक्नुपर्ने, संस्थामा गएर सुत्केरी हुन कठिन हुने र व्यावहारिक नहुने जस्ता समस्या हुन्छन् ।
उनका भनाइमा, ‘सुत्केरीलगत्तै गर्नुपर्ने हेरचाहबाट वञ्चित हुने, सुत्केरी भएपश्चात् भारी काम गर्ने लगायत कारणले आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्छ ।’
चार वर्षमा १० सुत्केरीको मृत्यु
बाजुरामा ४ वर्षमा १० जना सुत्केरीको मृत्यु भएको छ । समयमै उपचार नपाउँदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना र २०७९ मा २ जना सुत्केरीको मृत्यु भएको छ ।
२०७६ सालमा मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–५ गोत्री बस्ने ३५ वर्षीया पुल्ती रावल, बडिमालिका नगरपालिका–७ जिल्लीकी बसन्ती नेपाली, बुढिनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहरा थिए । त्यस्तै त्रिवेणी नगरपालिका–१ छताराकी ३७ वर्षकी रेजिया नेपाली, बुढिगंगा नगरपालिका–७ झाली बस्ने २० वर्षकी कमला उखेडको मृत्यु भएको थियो ।
२०७७ सालमा बुढिनन्दा नगरपालिका–४ कुरुमा २३ वर्षीया अम्बकला रोकायाको मृत्यु भएको थियो । सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा रोकायाको बाटोमै मृत्यु भएको हो ।
२०७८ साल साउन महिनामा त्रिवेणी नगरपालिकाको किम्नीकी २० वर्षीया जौलादेवी बिकको बच्चा पाएको १० दिनपछि अत्यधिक रक्तस्रावको कारणले मृत्यु भयो । त्यस्तै हिमाली गाउँपालिका वडा नम्बर ४ तिथिचौर बस्ने २१ वर्षीया गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तस्रावका कारणले मृत्यु भएको थियो ।
२०७९ सालमा बाजुराको बुढिगंगा नगरपालिका–६ बस्ने २० वर्षकी नितु जैसीको दुई महिना पहिला मृत्यु भएको थियो । बडिमालिका नगरपालिका–१ पिनालेख बस्ने रमेश बिककी २६ वर्षीया श्रीमती जानकी बिक लुवारको सुत्केरी हुन नसकी डेढ हप्ता पहिला बाटोमै मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराले रेफर गरेकी जानकीलाई बस चढाएर महेन्द्रनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको श्रीमान् रमेशले बताएका छन् ।
मृत्यु भएका १० मध्ये सुत्केरी ७ जनाको स्वास्थ्य संस्थामा, एक जनाको घरमा र दुई जनाको धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काका भनाइमा, चार वर्षमा १० सुत्केरीको मृत्यु हुनुले यहाँको समाजको चेतनास्तर देखाउने बताए ।
गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्याउँदाको परिणाम भएको खड्काको भनाइ छ । अर्को सुत्केरी भएको बेला आराम गर्न नपाउने, पोषिलो खानेकुरा नपाउने, कडा परिश्रम गर्नुपर्ने बाध्यताले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको उनले बताए ।
हुनत सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिलाको ज्यान जाने क्रम रोकिएको छैन । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट विमुख हुनु जस्ता कारणले हवाई उद्धार कार्यक्रम पनि प्रभावकारी हुनसकेको छैन ।
नेपालीको औसत आयु ६९ वर्ष छ । तर, बाजुराका बासिन्दाको आयु ५९ वर्ष मात्रै छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरूको अवस्था झनै दर्दनाक छ । जिल्लाको गरिबीकै कारणले अधिकांश बाजुरेलीको आयु कम र अस्वस्थ हुने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाह बताउँछन् ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कँुवरका भनाइमा, ‘आमा गर्भवती हुँदा पेटभित्रको बच्चालाई रगत मार्फत पौष्टिक तत्व चाहिन्छ । यस्तो अवस्थामा आइरन र फोलिक एसिडको कमि भएमा आमामा रक्तअल्पता हुन्छ । रक्तअल्पता पनि कुपोषणको एउटा जटिल अवस्था हो ।’
कुँवर भन्छन्, ‘सुत्केरी हुने दौरानमा केही मात्रामा रक्तस्राव हुन्छ । बाजुरा जस्तो हिमाली र पहाडी जिल्लामा अत्यधिक रक्तस्रावले गर्दा मातृ मृत्युदर भएको देखिन्छ । पहिल्यैदेखि कुपोषित आमा त्यसमा पनि अत्यधिक रक्तस्राव भएमा आमा र बच्चाको ज्यान थप जोखिमपूर्ण हुन्छ ।’