• होमपेज
  • समाचार
  • सार्वजनिक बसमा ढुंगा प्रहार

सार्वजनिक बसमा ढुंगा प्रहार

  • मङ्लबार, भदौ ७, २०७९
सार्वजनिक बसमा ढुंगा प्रहार

काठमाडौं — काठमाडौं उपत्यकामा सामान्य रुपमा सवारी साधन सन्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहान केही कम सवारी साधन चले पनि अहिले सडकमा सवारी साधनहरुको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले भने, ‘सवारी साधनहरु नर्मल रुपमा चलिरहेका छन् । बिहानको समयमा अलिकति कम थियो । अहिले बढेको छ । पूर्व-पश्चिमतर्फ जाने लामो दुरीका सवारी साधन पनि छुटेका छन् ।’

उनका अनुसार थापागाउँमा नेपाल यातायातको एउटा बसमा ढुंगा प्रहार भएको छ । त्यसअघि बिहान कोटेश्वरको भाटभटेनी नजिक मोटरसाइकलमा सवार एक व्यक्तिले माइक्रो बसमा ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट बा ३ ख ७९०६ नम्बरको माइक्रो बसको अगाडिको सिसा फुटेको छ । कोटेश्वरमै बा ४ ख ९३९४ नम्बरको बसको सिसा पनि फुटाइएको छ ।

कोटेश्वर र थापागाउँका दुबै घटनामा ठूलो क्षति नभएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले बताए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरे पनि काठमाडौं उपत्यकामा प्रभाव खासै नपरेको प्रहरीको भनाइ छ । सडकमा प्रहरीको उपस्थित बाक्लो छ ।

पर्याप्त सुरक्षा प्रवन्ध मिलाइएकाले सवारी साधन निर्वाध रुपमा सन्चालन गर्न चालकहरुलाई ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ ।

आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महँगी बढेको लगायतका विषयमा विरोध जनाउँदै विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा बन्द आह्वान गरेका छन् ।अनलाइनखबरकाे सयाेगमा । 

चर्चामा

सम्बन्धित समाचार