काठमाडौं — ललितपुरकी सरिशा श्रेष्ठ पेशाले चिकित्सक हुन् भने विराटनगरकी न्यान्सी खड्का मोडलिङ पृष्ठभूमिबाट आएकी हुन् । यी दुई सुन्दरीले गत साता मिस नेपालका दुई महत्वपूर्ण टाइटल जितेका छन् ।
सरिशाले मिस नेपाल अर्थ र न्यान्सीले मिस नेपाल इन्टरनेसनल उपाधि जितेका छन् । सौन्दर्यसँगै बौद्धिक क्षमताका यी दुई सुन्दरी आगामी अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालको नाम चम्काउन चाहन्छन् ।
प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको महत्वपूर्ण टाइटल जितेपछि सरिशाले आफ्नो दायित्व वातावरण संरक्षण र जनचेतना जगाउने रहेको बताएकी छन् । न्यान्सी नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा फैलाउन चाहन्छिन् । यसका लागि आफूहरुले सक्दो सहयोग गर्ने उनीहरुको भनाइ छ ।
सौन्दर्यसँगै बौद्धिक स्वभावका सरिशा र न्यान्सी मिस नेपाल प्लेटफर्मलाई आफ्नो आवाज सुनाउने माध्यमको रुपमा अगाडि बढाउन चाहन्छन् ।
ललितपुरको एक अस्पतालकी जागिरे समेत रहेकी सरिशा बौद्धिकता, सामाजिक दायित्व र सौन्दर्यलाई एक ठाउँमा जोड्नुपर्ने बताउँछिन् । यसअघि मिस नेपाल युनिभर्सकी रनरअप भइसकेकी न्यान्सी नेपाली पेजेन्टलाई समाजसँग जोड्न चाहन्छिन् ।अनलाइनखबरबाट ।