बझाङ — जेठ १८ गते सुर्मा सरोवर तालको मुख्य निकासतिर रहेको निस्कारी पाटन पुग्दा साँझको ७ बज्न लागिसकेको थियो । ढुंगैढुंगाको भीमकाय चेप खोजेर यार्चा संकलकले पाल टाँगेका थिए । लहरै टाँगेका पाल, माथिपट्टि हरियो पाटन, डाँडाको टुप्पोबाट चियाएर हेरेजस्तो देखिने हिमाल । दृश्य मनमोहक थियो । झट्ट हेर्दा कुनै स्थायी हिमाली बस्तीजस्तो ।
बिहान ७ बजे नै खाना खाएर धानसेरी हिमालबाट हिँडेकाले भोक र थकाइले लखतरान थिएँ । अत्यन्त सुन्दर दृश्य आँखैअगाडि भए पनि थकाइले फोटो खिच्ने जाँगर थिएन । सोझै दिलबहादुर बोहराको पालमा छिरें । एक स्थानीय सहयोगीले मलाई एकरात त्यहाँ बस्ने चाँजो मिलाइदिएका थिए ।
मसँगै पाहुना लाग्न गएका तीन जना एकापट्टि र दिलबहादुरको परिवारलाई अर्कोपट्टि सुत्ने प्रबन्ध थियो । श्रीमती, १६ वर्षे छोरा र १४ वर्षीया छोरीसहितको उनको परिवार एक महिनाअघि पाटन उक्लेको रहेछ । पहिलाजस्तो किरा (यार्चा) पाउन छाडेकाले लेक आउँदा दुःख मात्रै हुने गरेको सुनाउँदै दिलबहादुरकी पत्नीले खाना पस्किइन् । सिमीको दाल र पाटनमै पाइने पदमचालको डाँक्लाको अचारसँग हामीले थपीथपी भात खायौं । सुत्ने तरखर गरिरहेका बेला दिलबहादुरकी छोरी पिंकी बोलेको सुनियो, ‘आमा औषधि काँ छ ?’ उनको आवाजले खुल्दुली जाग्यो । उनकी आमाले आफूसँग भएको औषधि सकिएको बताउँदै पल्लो पालमा बस्ने दिदीसँग दुई पत्ता मागेर ल्याउन अह्राइन् । ‘के भएको छ छोरीलाई ? बिरामी छन् र ?’ मैले झटपट सोधिहालें । ‘यहाँ आएपछि सबै बिरामी त हुन्छन् नि,’ दिलबहादुरले हाँस्दै अस्पष्ट उत्तर दिए । फेरि सोधें, ‘केको औषधि हो र ? हामीलाई पनि चाहिने हो कि ?’
चर्को हाँस्दै पिंकीकी आमाले छोटो उत्तर दिइन्, ‘महिलाको ओख्थो हो । तमी क्या अरौला ?’ मैले अझै भेउ पाइनँ । फेरि सोधें, ‘कस्तो रैछ त भन्नै नहुने रोग ?’ मैले जिद्दी गरेपछि उनले लजाउँदै र असहज मान्दै भनिन्, ‘छाउ सुकाउन्या (महिनावारी रोक्ने) ओख्थो हे ।’
यतिन्जेल पिंकी हातमा दुई पत्ता गर्भ निरोधक औषधि ‘निलोकन ह्वाइट’ लिएर आइसकेकी थिइन् । उनले एक पत्ता आमालाई थमाइन् । आमाछोरीले एक–एक चक्की झिकेर सबैका अगाडि निर्धक्क खाए । आठ कक्षामा अध्ययनरत १४ वर्षीया पिंकीले गत वर्ष पहिलोपटक महिनावारी भएदेखि नै वर्षमा तीन महिना यसरी गर्भनिरोधक औषधि खान थालेकी रहिछन् ।
मसँगैका साथीहरू मुखामुख गर्दै थिए, ‘यति सानो बच्चीले पनि पिल्स चक्की खाने, के हो ? विवाह त भएको छैनजस्तो छ ।’
सुर्माको भविष्यबारे चिन्ता गर्ने एक जनाले भने मलाई यो विषयमा पहिला नै बताइसकेका थिए ।
२०६८ सालको जनगणनाअनुसार यो पालिकाको जनसंख्या ९ हजार २२ छ, जसमा महिलाको संख्या ४ हजार ४ सय ७५ छ । तीमध्ये पनि महिनावारी हुने उमेर १०–४९ वर्ष उमेरका महिलाको संख्या ३ हजार २ सयभन्दा बढी छ । अझ विवाह गर्ने उमेर नपुगेका तर महिनावारी हुने १०–१९ वर्ष उमेर समूहका महिलाको संख्या १ हजार ५ सय ५७ छ । यीमध्ये सबैजसो महिला वर्षमा तीन महिना यार्चा संकलनका लागि पाटन पुग्छन् । योभन्दा बढी संख्यामा बझाङका छबिस पाथीभेरा, दुर्गाथली गाउँपालिका, बुंगल नगरपालिका तथा दार्चुला जिल्लाबाट यहाँका पाटनमा महिला यार्चा संकलनका लागि आउने गरेका छन् । सुर्माका पाटन पुग्ने सबैजसो महिलाले महिनावारी रोक्नका लागि परिवार नियोजनका कुनै न कुनै औषधि अनिवार्य प्रयोग गर्दै आएका छन् ।
यति ठूलो संख्यामा विवाहित/अविवाहित सबै महिलाले गर्भनिरोधक औषधि प्रयोग गर्छन् भन्ने थाहा पाएपछि ‘यसको असर के परिरहेको छ ? किन सबै महिलाले परिवार नियोजनका औषधि प्रयोग गर्छन् ?’ भनेर रिपोर्टिङ गर्ने उद्देश्यसाथ म यो यात्रामा हिँडेको थिएँ । यस विषयमा थप बुझ्नुपर्ने थियो तर यो काम एक पुरुष रिपोर्टरका लागि ‘फलामको च्युरा’ जस्तै थियो । ‘यस्तो औषधि खाँदा पछि असर पर्दैन ?’ भन्दै मैले कुरा कोट्याउन खोज्दा पिंकीको परिवारले थप कुरा गर्न अनिच्छा देखाएको सहजै बुझियो । यो विषयलाई सोझै यौनसँग जोड्ने बुझाइ र चेतनाबारे मैले केही हदसम्म बुझेको थिएँ । थप कुरा गर्दा बल्लतल्ल सुत्न पाएको पालबाट पनि वञ्चित हुनुपर्ला भन्ने डरले कुराको बिट मार्यौं ।
बिहान ५ नबज्दै ‘झ्वाइँय’ तरकारी भुटेको आवाजले निद्रा खुल्यो । भाउजूले अँगेनामा मिटमिरा (जंगली च्याउ) र आलुको तरकारी भुट्दै रहिछन् । केहीबेरमा दिलबहादुर दाइ उठेर पालबाहिर निस्किए । हिजोको जिज्ञासा मेरो मनमा ताजै थियो । नजिकै डिलमा बसेर चुरोट सल्काउँदै गरेका उनलाई मैले नम्र भएर सोधें, ‘दाइ, यति सानी बच्चीले पनि छाउ सुकाउन्या औषधि खाँदा पछि समस्या हुँदैन ?’ उनले प्रश्नको ठ्याक्कै जवाफ त दिन सकेनन् तर यसरी महिनावारी रोक्ने औषधि खानुपर्ने बाध्यताबारे खुलस्त पारे ।
‘अचेल मान्छे बौलाएर यहाँ महिला पनि आउन लागेका हुन्, नभए यहाँ कन्या (महिनावारी नभएका) बाहेक अरू आउँदैनथे, अझ यो ताल भएको ठाउँमा त महिलाले टाढाबाट हेर्न पनि नमिल्ने हो, दलित त यहाँ टेक्दै टेक्दैन थिए,’ उनले भने, ‘अचेल जथाभावी छ । कसले कसलाई भन्ने ? हामीले देवीको मान राखे पो देवीले हाम्रो मान राख्दिहुन् ।’
उनले सुर्मा सरोवर क्षेत्रमा २०६१ सालसम्म महिनावारी हुने उमेरका महिला र दलित नआउने, भात नखाने, जुत्ता लगाएर र छाता ओढेर हिँड्न नमिल्ने, मासु तथा मदिराको सेवन र यौनजन्य गतिविधि गर्न नमिल्ने, चर्को स्वरले पनि नबोल्ने गरेकामा त्यसयता यी सबै परम्परागत नियम तोडिएको बताए । देवीको नियम उल्लंघन गरेका कारण प्रत्येक वर्ष अनिष्टका घटना भइरहेको उनको तर्क थियो । ‘पहिला कट्टा (बोरा) मा किरा टिप्थ्यौं, अचेल तीन महिना खोज्दा सय किरा पनि पाउन मुस्किल छ । मान्छे नमरेको साल छैन । अरू जडीबुटी पनि पाइन छोड्यो । यो सबै देवीकै छल हो, त्यसैले छाउ सुकाउन्या औषधि खानुपरेको हो,’ उनले भने । त्यो औषधिले कस्तो असर पारेको छ भन्नेबारे भने उनले केही बताएनन् ।
सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्रमा पर्ने पार्थी, सुनकुण्ड, धानसेरी, तपोवन, सुनिपाटन, कुण्डलगायत दर्जनभन्दा बढी अस्थायी बस्ती घुमिसक्दा पनि कोही यस विषयमा खुल्न चाहेनन् । मैले कुराको पोयो फुकाउन थाल्नेबित्तिकै मुन्टो लुकाएर हिँड्थे । कोही ‘छ्या कस्तो कुरा गरेको’ भनेर लजाउँदै भाग्थे । कोही ‘आफ्नै घरमा दिदीबहिनीलाई गएर सोध्नू’ भन्दै गाली गर्थे ।
गाइसेरा पुगेपछि भने यो विषयमा खुलेर कुरा गर्ने अवसर मिल्यो । साइपाल हिमाल आरोहणको तयारी गरिरहेकी पूर्वपरिचित बहिनी पवित्रा बोहराले वातावरण बनाइदिइन् । उनले भिडियो रेकर्डमै कुरा गर्न कतिपयलाई राजी गराइन् । यति भएपछि रिपोर्टिङको मुख्य विषय छुट्ने भयो भन्ने थकथक लागेको मनलाई राहत मिल्यो तर पहिलोपटक महिनावारी भएका कलिला किशोरीले समेत गर्भनिरोधक औषधि प्रयोग गर्ने गरेको र त्यसो गर्दा झेल्नुपरेका पीडा सुन्दा मन खिन्न भयो । छ–सात कक्षामा पढ्ने कतिपय नानीहरूलाई त उनीहरूले खाएको औषधि परिवार नियोजनको हो भन्ने पनि थाहा रहेनछ ।
महिनावारी हुने उमेरका अधिकांश महिलाले यहाँ आउनुभन्दा साताअघि नै नियमित सुनौलो गुलाफ, निलोकन ह्वाइट, पिल्स वा फेमिट्रोनजस्ता औषधि सेवन गर्दारहेछन् । औषधि खाइरहन झन्झट मान्नेले तीनमहिने सुई डिपोप्रोभेरा वा संगिनी लगाउने गरेका रहेछन् । तीन–तीन महिनामा सुई लगाउन समस्या मान्ने र सन्तानको रहर पुगेका कतिपय विवाहितले तीन वर्ष, पाँच वर्षसम्म गर्भ रोक्ने इम्प्लान्टजस्ता साधन पनि प्रयोग गर्दै आएको पाइयो । ‘सालसालै यतै आउनुपर्छ, कति औषधि खानु, कति सुई लाउनु ? सन्तान पनि नहुने, छाउ पनि नहुने भएकाले अचेल धेरैले इम्प्लान्ट राख्न थालेका छन्,’ जुनधारा बोहराले भनिन् ।
कसै–कसैले त पाटनमै महिनावारी हुने र महिनावारी हुनेबित्तिकै रातारात घर फर्किनुपरेको घटना सुनाए । ‘छाउ भयो भने एकछिन पनि यहाँ बस्न मिल्दैन,’ दुई वर्षअघि पहिलोपटक महिनावारी भएकी १६ वर्षीया रमिला बोहराले भनिन्, ‘रातारात हिँडेर घर जानुपर्छ । जंगलै जंगलको बाटो राति एक्लै हिँड्दा डरले बाटैमा मरिन्छ कि जस्तो हुन्छ ।’ उनले पाटनमा साँझपख महिनावारी भएपछि एक रात, एक दिन निरन्तर हिँडेर घर पुगेको गत वर्षको घटना सम्झिँदा आङै जिरिंग हुने गरेको बताइन् ।
(स्त्री रोग विशेषज्ञ प्रा.डा. गणेश दंगालका अनुसार प्रोजेस्ट्रोन हर्मोनयुक्त चक्कीको प्रयोगले महिनावारी सार्न सघाउँछ तर तीनमहिने डिपोप्रोभेरा वा संगिनी सुई, तीन वा पाँच वर्षसम्म गर्भ रोक्ने इम्प्लान्टजस्ता साधनको प्रयोग गरे पनि तुरुन्त महिनावारी भने रोकिन्न । पछि बिस्तारै रक्तस्राव कम हुँदै गएर बन्द पनि हुन सक्छ ।)
यसरी गर्भनिरोधक औषधि खाँदा यहाँका महिलाको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका रहेछन् । खान मन नलाग्ने, महिनावारी हुँदा चर्को गरी पेट दुख्ने, महिनावारी गडबडी हुने, वाकवाकी लाग्ने, जीउ गल्ने, टाउको दुख्ने, पेट दुख्ने, रिंगटा लाग्ने, अत्यधिक रक्तस्राव हुने समस्याबाट सबैजसो पीडित भएको उनीहरूले बताए । ‘औषधि खान छोडेपछि महिनावारी हुँदा मर्ने गरी पेट दुख्छ, दुखाइ कम गर्ने औषधि खायो भने ग्यास्ट्रिक भएर झन् गाह्रो हुन्छ,’ २२ वर्षीया सरिता बोहराले भनिन्, ‘जस्तो समस्या भए पनि यहाँ नआई चल्दैन, औषधि नखाई महिनावारी रोकिँदैन ।’ काठमाडौंमा अध्ययनरत उनले पढाइ खर्च जुटाउने एक मात्रै विकल्प यार्चा भएकाले प्रत्येक वर्ष क्याम्पस छाडेर तीन महिना यहाँ आउने गरेको बताइन् ।
पहिलोपटक महिनावारी हुँदादेखि नै गर्भनिरोधक औषधि खाएका कारण यहाँका धेरैजसो महिलामा बाँझोपनको समस्या देखिन थालेको पवित्राले बताइन् । ‘विवाह नहुँदैदेखि औषधि खाएका कारण धेरैजसोमा यस्तो समस्या देखिएको छ, कोही कोहीले त काठमाडौं र इन्डियासम्मै गएर उपचार गर्दा पनि ठीक भएको छैन,’ उनले भनिन्, ‘यही औषधि प्रयोग गरेका कारण पहिलोपटक भएपछि ५/७ वर्षसम्म महिनावारी नभएका महिला पनि छन् ।’ महिलामा बाँझोपनको समस्या देखिएपछि पुरुषले अर्को विवाह गर्ने गरेको उनले बताइन् ।
सुर्मामा यसरी गर्भनिरोधक साधनको प्रयोगलाई सामान्य रूपमा लिने गरिएको छ । ‘यार्चा टिप्ने सिजनमा दिनकै २०/२५ जना महिनावारी रोक्नकै लागि परिवार नियोजनका साधन किन्न आउँछन्,’ सदरमुकाम चैनपुरमा मेडिकल र क्लिनिक सञ्चालन गरिरहेका अशोक मल्लले भने, ‘धेरैजसो स्कुले उमेरका नानी हुन्छन् ।’ उनका अनुसार विवाहित र पाका महिलाले भने गाउँकै स्वास्थ्य चौकीबाट निःशुल्क रूपमा यस्ता औषधि लिने गरेका छन् ।
कारण प्रस्ट नभए पनि प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका महिलाको संख्या प्रत्येक वर्ष बढिरहेको सुर्मा स्वास्थ्य चौकीका अहेव मोहन बोहराले बताए । ‘बाँझोपन, महिनावारी नहुने, पाठेघरमा रगत जम्ने, हर्मोनको गडबडीजस्ता प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ, जथाभावी परिवार नियोजनको औषधि प्रयोगले नै हो कि भन्ने लाग्छ,’ उनले भने, ‘हाम्रै स्वास्थ्य चौकीमा दैनिक तीन–चार जना महिला यस्तो समस्या लिएर आउँछन् । पालिकाभरि यो समस्या झन् चर्को छ ।’ धेरैजसो अविवाहित किशोरीहरू यस्तो समस्या हुँदा स्वास्थ्य संस्थामा आउनै लजाउने गरेको र पछि समस्याले ठूलो रूप लिने गरेको उनले बताए ।
मैले यो समस्याबारे पालिकाका निवर्तमान अध्यक्ष नरबहादुर बोहरासँग पनि कुरा गरें । उनले पनि सबै महिलाले गर्भनिरोधक औषधि सेवन गर्ने गरेको बताउँदै तिनका स्वास्थ्यमा विभिन्न खालका समस्या देखिएको बताए । उनले भने, ‘महिला लेकतिर जान छोड्ने हो भने मात्रै यो समस्या समाधान होला तर लेक नगए वर्षभरि के खाएर बाँच्ने ?’ सुर्मा सरोवर क्षेत्रमा महिनावारी भएका महिला जाँदा अनिष्ट हुने कुरा निर्विवाद रहेको उनले बताए । ‘महिनावारी भएका बेला कोही त्यहाँ गयो भने त्यसको फल तुरुन्तै देखिन्छ । त्यसैले महिनावारी भएका बेला त्यहाँ जाने आँट कसैले गर्दैनन् ?’
जनप्रतिनिधि मात्रै होइन, छाउ प्रथाका विषयमा वकालत गर्ने पेसा अपनाएकाहरू पनि सुर्मादेवीका अघि नतमस्तक भेटिन्थे । सबैका मस्तिष्कमा महिनावारी भएका बेला पाटन जाँदा अनिष्ट हुन्छ भन्ने छाप गहिरो गरी गडेको रहेछ । छाउ प्रथा हटाउनका लागि जिल्लामा चलाइएका अभियान, खर्च, प्रगतिका रंगीन प्रस्तुतिको १७ वर्षदेखि साक्षी बस्दै आएको, गोष्ठी, भेलामा सहभागी हुँदै आएको र रिपोर्टिङ गरेको म सदरमुकामसँगै सीमा जोडिएको सुर्माको यो अवस्था देखेपछि स्तब्ध भएँ । यही कुरा मैले जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीलाई सुनाएँ । टेलिफोन कुराकानीका क्रममा उनले बारम्बार ‘मलाई यो कुरा पत्यार लागेन है’ भनिन् । ‘विवाह भएको भए पनि एउटा बच्चा नभइसकेका महिलालाई यस्तो खालको हर्मोन प्रयोग गर्न दिनु हुँदैन भन्ने अन्तर्राष्ट्रिय अभ्यास छ, तपाईंले पहिलोपटक महिनावारी भएका बच्चीहरूले डिपो लाउँछन्, पिल्स खान्छन् भन्नुभयो । कसरी पत्याउनु ?’ उनले भनिन् । मैले स्थलगत रिपोर्टिङमा देखेको कुरा सुनाएपछि उनले थपिन्, ‘यो साँचो हो भने ठूलो अपराध भइरहेको छ । यस्तो चलनले किशोरीहरूमा सधैंका लागि बाँझोपन हुन सक्छ । कम उमेरमै यस्ता हर्मोन प्रयोग गर्दा आउने शारीरिक र मानसिक समस्या निकै हुन्छन् । बच्चीहरूलाई त यो एक खालको विष सेवन गरेजस्तै हो ।’
पश्चिम नेपालमा लामो समय काम गरेकी स्वास्थ्यकर्मी, साहित्यकार एवं मर्यादित महिनावारीसम्बन्धी अभियन्ता राधा पौडेलले यो अभ्यास किशोरी र महिलाको भावनात्मक र संवेगात्मक पक्षमाथिको हमला भएको बताइन् । ‘किशोरी वा महिलाले कुनै मानसिक दबाबका कारण यस्तो औषधि खाएका हुन्छन्, औषधि प्रयोग गरिसकेपछि बाँझोपन आउने हो कि, महिनावारी गडबड हुने हो कि भनेर अर्को मानसिक समस्या पनि थपिन्छ,’ उनले भनिन्, ‘देशमा तीनै तहका सरकारले कार्यान्वयन गर्ने भनेर मर्यादित महिनावारी नीति तयार गरिए पनि कार्यान्वयन नहुँदा देशभरका महिला पीडित भइरहेका छन् ।’
ठूलो संख्यामा महिलाले अर्कै प्रयोजनका लागि परिवार नियोजनका औषधि र साधन प्रयोग गरिरहेका बारेमा स्वास्थ्य कार्यालय बझाङ भने बेखबर रहेछ । ‘महिनावारी रोक्नका लागि पिल्स खान्छन् भन्ने सुनेको हो, सुर्मामा त्यस्तो छ भन्ने कुरा हामीलाई जानकारी छैन, कतैबाट रिपोर्टिङ पनि भएको छैन,’ स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले भने । यो कुरा रोक्नका लागि स्वास्थ्य कार्यालयले केही गर्न सक्छ त ? भन्ने प्रश्नमा उनको जवाफ थियो । ‘परिवार नियोजनका साधन प्रयोग गर्न पाउने उनीहरूको अधिकारको कुरा हो । हामीले नखाऊ भनेर हस्तक्षेप गर्न मिल्दैन । जथाभावी खाँदा हुने असरका बारेमा जनचेतना जगाउनेबाहेक हामी के गर्न सकौंला र ?’
मेरो मानसमा भने थुप्रै प्रश्नले एकैपटक बिझाए । सयौं किशोरी र महिला अहिले पनि यस्तो घातक अभ्यास गर्न किन बाध्य छन् ? कलिला मुनाहरूको शरीर र मस्तिष्कलाई यति ठूलो सजाय किन ? अनि छाउ प्रथा उन्मूलनका नाममा गरिएको ठूलो धनराशिको खर्च, भएको भनिएका प्रगति र उपलब्धि साँच्चै थिए त ? यी प्रश्नको चित्तबुझ्दो जवाफ कतैबाट भेटिनँ ।
कान्तीपुर दैनीकबाट