चुनाव अर्थात निर्वाचन भनेको शासनको विभिन्न तहमा जनताले आफ्नो प्रतिनिधि छानेर पठाउने एक प्रक्रिया हो । लोकतन्त्रमा निर्वाचन महत्त्वपूर्ण मानिन्छ । नयाँ नेतृत्व छान्ने, सत्ताको वैधानिकरण र हस्तान्तरण गर्ने जस्ता अति महत्त्वपूर्ण कार्यहरु निर्वाचनको माध्यमबाट गरिन्छ । निर्वाचन प्रणाली पनि बिभिन्न तरिकाबाट हुने गर्दछ । निर्वाचन दुई तरिकाले हुन्छ । एक प्रत्यक्ष निर्वाचन प्रणाली, दुई अप्रत्यक्ष निर्वाचन प्रणाली । मतदाताहरुले निर्वाचनमा भाग लिइ आफ्ना प्रतिनिधि आफै छान्ने प्रणाली प्रत्यक्ष निर्वाचन हो । यस्तो निर्वाचनमा मतदाताले मतदान केन्द्रमा गइ आफ्नो मत आफुले मन पराएको उमेदवारलाई दिन्छन् । मतगणना पछि बढी मत प्राप्त गर्ने उमेदवार लाई निर्वाचित भएको घोषणा गरिन्छ । यो ज्यादै सरल तथा प्रचलित प्रणाली हो । हरेक देशका तल्लो सदनका निर्वाचनमा यो प्रणाली नै लागू गरिन्छ । लोकतान्त्रिक देशका तल्लो सदनमा यो प्रणाली प्रचलित छ । प्रत्यक्ष निर्वाचन प्रणालीका केहि मुख्य गुणहरु छन् ।
लोकतान्त्रिक सिद्धान्त अनुकूल, नागरिक अधिकारको प्रयोग, राजनीति चेतनामा वृद्धि, सम्बन्ध बिस्तार, उत्तरदायित्वको भावना, भ्रष्टाचार नियन्त्रण र आत्म गौरबको भावना विकास हुने विश्वास गरिन्छ । अर्को अप्रत्यक्ष निर्वाचन प्रणाली हो । यस निर्वाचन प्रणालीमा मतदाताहरुले आफ्नो उमेदवार आफै छान्न पाउदैनन् ।दलको रोहवरमा निर्वाचकहरु छानिन्छन् । जसलाई निर्वाचन मण्डल भनिन्छ । यीनै निर्वाचकहरुले निश्चित समय र स्थानमा सम्बन्धित प्रतिनिधिहरुलाई जनताका नाममा निर्वाचित गर्छन् । जस्तो अमेरिकी राष्ट्रपतिको निर्वाचन उदाहरणका रुपमा लिन सकिन्छ । प्रायः विश्वका देशका माथिल्ला सदनका निर्वाचनहरु यसै प्रणालीमा आधारित छन् ।
चुनाव राजनीति होइन, राजनीति नै हुँदो हो त अप्राकृतिक गठबन्धन नबन्दा हुन् । आम निर्वाचन भनेको त विगतको समिक्षा गर्ने, आगामी वर्षका लागी कार्यायोजना बनाउने,भावी रणनीति तय गर्ने, नयाँ नेतृत्व छान्ने, पार्टीका आदर्श र सिद्धान्त अनुकूल उम्मेदवार तयार गर्ने अनि जनताले प्रत्यक्ष रुपमा अनुभव गर्नसक्ने किसिमको वातावरण तयार पार्ने हो । तर हाम्रो देशमा हुन गइरहेको स्थानीय चुनावलाई हेर्दा अरु सबै कुरा छोडेर कसरी आफू चुनाव जित्ने भन्नु बाहेक कुनै खास एजेन्डा रहेको देखिदैन । जनताको सेवा गर्न लागेका र सहि तरिकाले राजनीति गर्ने भए अर्काको वैशाखी टेकेर चुनावी मैदानमा नहोमिदा हुन् । त्यसर्थ सत्ताकै लागि चुनावमा जाने हो भने जसरी जीत हासिल हुन्छ त्यही नीति अपनाउनु उपयुक्त हुन्छ र नेपालमा त्यही गर्ने गरिन्छ ।
‘शक्ति र सत्ता दैवी वरदान हो’ भन्ने राजावादीहरु, ‘बन्दुकको नालबाट शक्ति र सत्ता प्राप्त हुन्छ’ भन्ने साम्यवादीहरु अनि ‘सत्ता र शक्तिको स्रोत जनता हो त्यसैले जनतालाई केन्द्रमा राख्नुपर्छ’ भन्ने लोकतन्त्रवादीहरूका बीच सत्ता र शक्तिकै लागि अप्राकृतिक गठबन्धन गरेर मताधिकारको स्वतन्त्रतालाई भागबण्डाको बन्दी बनाउन खोज्नु अरुका लागि त ठिकै हो लोकतन्त्रवादी हौं भन्नेहरुका लागि पटक्कै सुहाउँने कुरा होइन । चुनावताकाको राजनीति गठबन्धन त झन् घातक हो । जुन बर्षौ देखि निष्ठाको राजनिति गरिरहेका इमानदार कार्यकर्ताको क्यारियर धराप पार्ने एक पासो हो भन्दा फरक नपर्ला ।
किनभने जिन्दगीभर इमानको राजनीति गरिरहेका नेताकार्यकर्ताहरुमा खिन्नता बोध हुन्छ । गठबन्धन र सेटिङ्ग गरेर नै नेतृत्व चुन्ने हो भने जनताको पसिनाले जोडेको अर्वौअर्व कर सकेर जनमत प्राप्त भयो भन्नु छलकपट गर्नु हो । अरु बेला एकअर्काको धोती टोपी नरहने गरि कुर्लिनेहरु चुनाव आएपछि जता गठबन्धन गर्न सकिन्छ उतै कुम जोड्ने प्रवृतिले एकातिर राजनीति सिद्धान्त विहिनता त देखियो नै अर्को रूपमा देश र जनतामाथि पार्टीले दिएका घातक धोकापनि हो । एउटा दलको नेताकार्यकर्ता भएर चुनावताका अर्कै दलको चुनाव चिन्ह लिने प्रचारप्रसार गर्दै हिड्नु देश र जनतामाथि गरेको ठूलो बेइमान हो । जीवन एउटा पार्टीमा समर्पित गर्दै आएका व्यक्तिले चुनावमा अर्कैको दललाई जिताउनु पर्छ वा अर्कैको दलले जिताइदिन्छ भन्ने आश गरेर चुनावी मैदानमा होमिन थाल्ने हो भने त्यसमा उसले जनताको लागि नभई नेताका लागि राजनीति गरेको रहेछ भन्ने ठहरिन्छ । यस्तो गर्दा स्वार्थ बोकेका दुइचार जनालाई त फाइदा होला तर समग्र व्यवस्था, राष्ट्र र राजनीतिप्रति बेइमान गरेको ठहरिन्छ ।
हुन त नेपालमा काङ्ग्रेस कम्युनिष्ट मिलेर नै २०४६ को परिवर्तन भयो । माओवादीले सुरु गरेको दश वर्षे युद्ध पनि रोकियो फेरि यिनिहरु नै मिलेर अहिलेको यो व्यवस्था आयो । यस् व्यवस्थाका थुप्रै कमिकमजोरी छन् त्यो बेग्लै बहसको कुरा रह्यो । देशको भलाइको लागि समाजवादी, साम्यवादी, राजावादी, जेजति वादी छन् मिल्नु राम्रो हो तर देशभन्दा सिमित नेताको स्वार्थले मात्र मिलेको हुँदा सचेत नागरिकले आलोचना गर्नुपरिरहेको छ । दलका शीर्षस्थ नेताका आआफ्नो स्वार्थका कारण पार्टीको आदर्श, सिद्धान्त र विचारलाई मिल्काएर स्वार्थ अनुकूल मिल्ने र छुट्टिने गर्नाले देश झन्झन् कमजोर बन्दै गइरहेको छ । कतै गठबन्धनमा आबद्ध काङ्ग्रेस, माओवादी, नेकपा समाजावादी, राष्ट्रिय जनतापार्टी, राष्ट्रिय जनमोर्चा पार्टीले तालमेल गरेका छन् । त कतै त्यस्तै एमाले, राप्रपा, परिवार दल, जनमत पार्टी, नेमकिपा, लोसपा, जनता प्रगतिशील पार्टी, विप्लव नेतृत्वको नेकपा रहेकाछन् । यतिमात्र होइन कतिपय स्थानीय तहमा एक अर्काका प्रतिस्पर्धी दल एमाले र काङ्ग्रेसले समेत गठबन्धन गरेर राप्रपालाई हराउन गठबन्धन गरेकाछन् । आआफ्नो निर्वाचन क्षेत्रमा जोजो कमजोर छन् तिनैले तालमेल गरेर जीत्ने दाउ रोजिरहेका छन् । यसै कारण पनि चुनाव जनताका आवश्यकता भन्दा नेताकार्यकर्ताको प्रत्यक्ष स्वार्थसँग जोडिएको छ ।
राजनीति अवकाशको जिन्दगी बिताउनेहरूको लागि होइन सुयोग्य भविष्य खोज्नेहरूका लागि हो भन्ने मान्यता प्रमुख राजनीतिक दलका महाधिवेशनले त प्रत्याभूति गराउँन सकेनन् भने चुनावी प्रतिस्पर्धाले गराउँछ भन्ने आश नराखेपनि हुन्छ, टिकट बाँडफाँडबाटै देखिसकिएको छ । भूँइतहबाट उठेका नेपालका राजनीतिक दल र नेताहरु खान्दानीहरूका कब्जामा पर्दै गएकाले नैतिकता र इमानको राजनीति होला, थिचोमिचोमा परेकाहरुले न्याय पाउलान्, समानताको प्रत्याभूति होला, साँच्चिकै सरकार अभिभावक होला भन्ने आश नराखेकै वेश होला । आआफ्ना स्वार्थ अनुकूल प्रमुख दलहरूले गरेका गठबन्धनले केही नेताकार्यकर्तालाई त अवस्य फाइदा होला ।
तर वैचारिक राजनीतिक र सांगठनिक आस्थालाई कुल्चिएकोले समग्रमा नैतिकताको राजनितिमा दिर्घकालिन असर पर्ने देखिन्छ । आगामी निर्वाचन र पार्टीलाई धोका र धक्का दुबै पुग्नेछ । प्रमुख राजनीतिक दलका क्रियाकलाप हेर्दा राजनीति भनेको बेलामौकामा जोसँग मिल्न सकिन्छ तिनैसँग मिलेर खान जान्नुपर्छ भन्ने देखिदै गएको छ । समाजवाद र साम्यवाद नामका सिद्धान्तको खोल ओढ्दै सामन्तवाद र पूँजिवादलाई प्रशय दिइरहेका ढटुवाहरुबाट समाज रुपान्तरण होला भन्ने ठान्नु हुँटिट्याउँले आकाश थाम्छु भने जस्तै हो ।अहिलेको चुनावलाई नियालेर हेर्दा जनताका आवश्यकता भन्दापनि नेताकार्यकर्ताको प्रत्यक्ष स्वार्थसँग जोडिएको छ ।