भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ। दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो। दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो। घाइते बालिकाको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते तामाङ दम्पती उपचारपछि घर फर्केका छन्। रासस