काठमाडौँ — धनुषामा ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान कमला नगरपालिका-४ मा ज १ त ७१५८ नम्बरको ट्र्याक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठक्कर दिएको प्रहरीले बताएको छ।
दुर्घटनामा कमला-४ कै ४५ वर्षीया लिलादेवी अरगरियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। त्यस्तै, दुर्घटनामा स्थानीय ६५ वर्षीया सकुन्तीदेवी शाह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घाइते भएका डीएसपी जितेन्द्र बस्नेतले बताए। घाइते दुबै जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। रासस