अछाम — सामाजिक सञ्जालमा अचेल प्रायः सबै सक्रिय हुन्छन्। त्यसमाथि फेसबुक र टिकटकमा त केटाकेटी, युवायुवतीदेखि बुढापाका सम्मका सबै उमेर समूहका मान्छेहरु सक्रिय भइरहेका छन्। पछिल्लो समयमा फेसबुक र टिकटक नचलाउने सायदै भेटिएलान्। फेसबुकले गर्दा कयौ राम्रा सन्देशमुलक कामहरु पनि हुने गरेका छन्। एक अर्कासँग सहजै वार्तालाप लगायतका थुप्रै यसका बिशेषता छन्। तर, पछिल्लो समयमा यसको दुरुपयोग पनि उत्तिकै बढिरहेको पाइएको छ।
पछिल्लो समयको नेपाली समाजमा फेसबुकबाटै ठुला तथा साना अपराधिक काम तथा गैरकानूनी धन्दाहरु समेत मौलाइरहेका छन्। यसैबेला जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक अकाउन्ट विवादित बनेको छ। पछिल्लो समयकी चर्चित कलाकार गायिका रचना रिमाललाई लभ यु भनेपछि उक्क अकाउन्ट विवादित बनेको हो।
यसअघि पनि जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक अकाउन्ट विवादित नबनेको भने होइन। बेलाबखतमा चर्चा र विवादमा आइरहने उक्त फेसबुक अकाउन्टको चर्चा पुनः एकपटक चुलिएको छ। फेसबुकमा जिल्ला प्रशासन कार्यालय, सिडिओ लगायतका कर्मचारीको चौतर्फी आलोचना भैरहेको छ। गायिका रिमालको फेसबुक लाइभमा प्रशासन कार्यालयको अकाउन्टबाट लभ यु भनेर कमेन्ट गरिएपछि आलोचना सुरु भएको हो। रिमालले फागुन १ गते हजुर मुसुक्कै बोलको गीत सार्वजनिक भएकोबारे जानकारी गराउदै फेसबुक लाइभमा आइरहँदा जिल्ला प्रशासन कार्यालय अछामको आइडीबाट यस्तो कमेन्ट गरिएको थियो। अहिले त्यही कमेन्ट सन्जालभरी ट्रोल बनिरहेको छ।
पहिल्यैदेखि विवादित
यो जिल्ला प्रशासन कार्यालय अछामको अकाउन्ट विवादित बनेको पहिलो पटक भने होइन। यसअघि अघिल्लो महिनाको निरन्तर हिमपात र झरीपछि अछाममा नेटवर्क, बिजुली र सडक अवरुद्ध भएका थिए। त्यसबेला प्रहरी र प्रशाासनसंग सम्पर्क गर्ने विकल्प नहुँदा समस्या भइरहेको बिषयको अछामकी पत्रकार मेनुका ढुंगानाको फेसबुक स्ट्याटसमा सिडिओ कार्यालय अछामको सोही अकाउन्टबाट ‘सडक खुलेपछि रमिते हुन जाने, एण्ड नेगेटिभ कमेन्ट जर्नालिष्ट’ भन्दै कमेन्ट उल्लेख भएपछि सामाजिक सञ्जालमा विवाद खडा भएको थियो। तर, यो चर्चा सेलाउन नपाउँदै पुनः यो अकाउन्ट आलोचित बनेको छ।
अछाममा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा बिश्वराज मरासेनी आएपछि यो अकाउन्ट सक्रिय बनेको थियो। सामाजिक सञ्जालमा यही फेसबुक अकाउन्टमार्फत नै जिल्ला प्रशासन कार्यालय अछामका काम कारवाहीबारे जानकारी पनि दिने गरिएको थियो। तर, बेलाबेला यस्तै विवादित कमेन्टले प्रमुख जिल्ला अधिकारी र कार्यालय बदनामित बन्दै गएको देखिन्छ।
सिडिओ भन्छन्ः कारबाही हुन्छ
यता, अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले भने यस विषयमा आफूपनि जानकार रहेको बताउँदै सत्यतथ्य पत्ता लगाएर कारवाही गरिने बताए। प्रमुख जिल्ला अधिकारी मरासेनीले भने, ‘मैले त्यो आइडी चलाएको होइन। त्यो आइडी हाम्रा स्टाफ भाईहरुले चलाउँथे। कम्प्युटरमा बस्ने अपरेटर कर्मचारीहरु पनि चलाउँथे। तर, कसले चलायो भन्ने खोज्दै छु थाहा भएपछि कारवाही हुन्छ।’ तर, अपरेटर कर्मचारीहरुको पहिचान भने मरासेनीले खुलाएनन्।